|

पाँचथर : नेकपा एमालेका सचिव योगेश भट्टराईले नयाँ प्रधानमन्त्री सडकबाट छनोट गर्न खोजिएको आरोप लगाएका छन्। संसदीय व्यवस्थामा संसद्बाटै बहुमतीय प्रणालीमा प्रधानमन्त्री छनोट गर्न सकिने संवैधानिक व्यवस्था भएको भन्दै संसदबाहिर मनोनयन प्रक्रिया टाँसेर सडकबाट प्रधानमन्त्री छनोट गर्न खोजिएको आरोप लगाएका हुन्।

प्रेस चौतारी नेपाल पाँचथरले सदरमुकाम फिदिममा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले लिगलिगकोटको दौडबाट प्रधानमन्त्री नछानिने र संसद्बाटै छानिने तर छान्ने प्रक्रिया गलत भएको बताए।

उनले प्रक्रिया सच्याएर राजनीतिक सहमतिमा संसद् खोल्नुपर्ने र प्रधानमन्त्रीको छनोट प्रक्रिया अघि बढाए एमालेले उम्मेदवारी दिने धारणा व्यक्त गरे। राष्ट्रपतिले सरकार गठनका लागि पठाएको चिठी संसद्‍मा टेबुल पनि नगरिएको बताए। ‘राष्ट्रपतिको चिठी टेबुल गर्नुपथ्र्यो। तर गरिएन’ उनले भने, ‘ यसले गलत नजिर स्थापित हुन्छ। संसदीय व्यवस्थालाई कमजोर बनाउँछ।’

फिदिममा चुनावी सभालाई सम्बोधन गर्न आएका उनले सडकबाट छानिने प्रधानमन्त्रीको संसद्‍मा सम्बोधन गर्ने नैतिक आधार नहुने पनि दाबी गरे। फरक प्रसंगमा ,चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा निर्वाचन आयोगले पुनः मतदान गराउने भन्ने निर्णय दुराशयपूर्ण भएको टिप्पणी गरे।

‘आयोगको निर्णय दुराशयपूर्ण छ। यो निर्णयले दलहरुबीच झगडा गराउँछ यसलाई सच्याइनुपर्छ।’ उनले भने, ‘सच्याइएन भने राजनीतिक र कानुनी लडाइँ लड्ने चेतावनी दिए। यद्यपि उनले माओवादी केन्द्रको उम्मेदवारको उम्मेदवारी बदर गरेमा पुनः मतदानमा एमाले सहभागी हुने बताए। पत्रकार सम्मेलनमा उनले पहिलो चरणको स्थानीय तह निर्वाचनमा एमाले पहिलो पार्टी भएको र दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो भएर मुलुककै ठूलो दल बन्ने दाबी पनि गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.