|

कञ्चनपुर : त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा जारी स्वतन्त्र विद्यार्थी युनियनको  निर्वाचन अन्तर्गत कञ्चनपुरमा अहिले मतदान जारी छ। त्रिभुवन विश्वविद्यालयसहित सुदूरपश्चिम विश्वविद्यालय र शारदा संस्कृत विश्वविद्यालयले पनि स्ववियु निर्वाचनको तयारी गरेका थिए।

तर कञ्चनपुरका १६ वटा क्याम्पसहरू मध्ये ६ वटा क्याम्पसहरूमा मात्र निर्वाचन भइरहेको छ। स्ववियु निर्वाचनको तयारी गरेका कञ्चनपुरका १६ क्याम्पस मध्ये विद्यार्थी सङ्गठनबीच विवाद हुँदा ९ वटा क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ।

महाकाली बहुमुखी क्याम्पस बेलौरी, रामपुर क्याम्पस कलकत्ता बेलौरी, रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडी, जनता बहुमुखी क्याम्पस पुनर्वास, कञ्चन बहुमुखी क्याम्पस गुलरिया कृष्णपुर र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारी मात्रै चुनाव हुँदै छ। दानेश्वरहरी बहुमुखी क्याम्पस जिमुवामा भने यसअघि नै निर्विरोध रूपमा स्ववियु समिति चयन भइसकेको छ। अन्य ९ क्याम्पसहरूमा भने विद्यार्थी संघसंगठनहरुले गरेको तालाबन्दीका कारण चुनाव अनिश्चित बनेको छ। 

स्ववियु निर्वाचनमा विद्यार्थी उत्साहित भएर मतदान प्रक्रियामा सहभागी भएका छन्। बिहानैदेखि विद्यार्थी लाइनबद्ध भएर मतदानमा सहभागी भएका छन्। मतदानका लागि सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ। सभापति, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपसभापति, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्।  आज निर्वाचन भएका अधिकांश क्याम्पसहरूमा आइतबार साँझ नै मत गणना हुने बताइएको छ।

सरकारले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यान्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यान्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन गर्दै आइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.