|

धनकुटा : कुनै वेला धनकुटा, तेह्रथुम र पाँचथरको सीमा फलामेटार, भैँसेटार, डिहीटार लगायत तमोर नदीमा प्रशस्त माछा पाइन्थ्यो।

माछा स्वादिला भएकाले खानका लागि छिमेकी जिल्लादेखि काठमाडौंसम्मका पारखी पुग्थे। तर बर्सेनी नदीमा आउने बाढीले बगाउँदा नदीमा माछा पाउन छाडेको छ। अझ नदी किनारमा पानीमै विषादी र करेन्ट लगाएर मार्न थालिए पछि खोलामा माछाको संख्या पातलिएको स्थानीय राजन माझीले बताए।

नदीमा पानीको सतह घट्दै जाँदा पनि माछा पाउन छाडेको उनको भनाइ छ। करेन्ट लागेपछि माछा जिउँदो रहेपछि अण्डा नपार्ने हुँदा बच्चा उत्पादन नहुने समस्या रहेको माझीले बताए। माझीले बाबुबाजेको पालादेखि केही वर्षअघिसम्म खाना बनाएर तरकारी लिन जाउँ भनेर दुईचार जाल हानेपछि प्रशस्त माछा पर्ने गरेको भए पनिअहिले महिनौँसम्म जाल थाप्दा पनि पर्न छाडेको गुनासो गरे।

माझीले स्थानीय सरकारलाई निती नियम बनाएर करेन्ट र विषादी हालेर माछा मार्न रोक्न भनेर अनुरोध गरेको जानकारी दिए। नदीमा माछा पाउन छाडेपछि तमोर किनारका वस्तीका मानिसको नुन तेल खाने मेलो मासिन लागेको गुनासो गरे।

तमोर नदीमा असला, कत्ले, बुदुना, काभ्रे, बाम, तिते लगायत जातका माछा पाइने गरेको छ। ताप्लेजुङको उत्तरी क्षेत्रमा ०७२ जेठमा खसेको पहिरोपछि नदी थुनिएर तमोर नदीमा आएको बाढीले माछा बगाएपछि पनि तमोर नदीमा माछाको संख्या घट्दै गएको स्थानीय बताउँछन्। त्यसपछिका वर्षामा पनि नदीमा आइरहेको बाढीले माछाका धेरै प्रजातिका भुरा समेत बगाएको स्थानीय बताउँछन्। बाढीले भुरा बगाएपछि खोला र नदीमा माछा पाउन छाडेको माझीले बताए।

बाढी आएयता नदीमा माछाको संख्या घटेको र भएका माछासमेत बाहिरबाट आउनेहरूले करेन्ट लगाएर मार्ने गरेको उनको भनाइ छ। तमोर नदीमा पाइने माछा निकै स्वादिलो मानिन्छ। नदीमा अचेल पर्याप्त माछा पाइन छाडेपछि नदी किनारमा बसोबास गर्ने माझी समुदायको पेशा पनि संकटमा परेको छ। माछा मारेर जीविकोपार्जन गर्दै आएका धनकुटा, तेह्रथुम र पाँचथरका माझी समुदाय परम्परागत पेशाबाट नै विस्थापित हुन थालेका छन्।

दुईचार वर्षअघिसम्म धेरै माछा पाउने गरेको भए पनि करेन्ट लगाउन थालेपछि माछा पाउन छोडेको फलामेटारका रामकुमार तामाङले बताए। उनले पहिला दिनमा ५० किलोग्रामसम्म माछा मारेकोमा अहिले दैनिक एक केजी पुर्‍याउन मुस्किल पर्ने गरेको बताए।

विभिन्न ठाउँबाट ब्याट्री बोकेर ल्याएर करेन्ट लगाएर समेत माछा मार्ने गरिएको भए पनि स्थानीय प्रशासनले यसलाई नियन्त्रण गर्न नसकेको तेह्रथमको छथरका डम्बर लिम्बूले बताए। उनले वडा र गाउँपालिकामा पटकपटक गुनासो गरे पनि सुनुवाइ नभएको उनको गुनासो छ। माछा मार्नकै लागि हिले, धनकुटा, धरान हुँदै पोखरादेखि ब्याट्री बोकेर मानिस आउने गरेको जानकारी पाएको लिम्बूले बताए।

तमोर किनारका बस्तीमा करिब १५० भन्दा बढी माझी परिवारको बसोबास छ। नदीमा माछा नभेटिएपछि माछा मारेर जीविकोपार्जन गर्दै आएका धेरै माझी परिवारको बिचल्ली भएको चौबिसे गाउँपालिका ४ का महेन्द्र न्यौपानेले बताए। हाइ भोल्टेजको करेन्ट लगाएपछि माछा मर्ने र बाँचेका माछा अर्ध चेत हुने गरेको न्यौपानेले बताए। उनले करेन्ट लागेको माछा बाचिँहाले पनि प्रजनन नहुने गरेको जानकारी पाएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.