|

लहान : दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गए पनि अधिकांश दलले अझै उम्मेदवार चयन गर्न सकेका छैनन्। निर्वाचनका लागि उम्मेदवारी मनोनय दर्ताको दिन आउन ७ दिनमात्र बाँकी रहँदा पनि नेकपा एमाले बाहेकका दलले उम्मेवार छनोट गर्न नसकेका हुन्।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल लगायतका दलले अझै उम्मेदवारी चयन गरिसकेका छैनन्।

सार्वजनिक गर्दैछौं : कांग्रेस

नेपाली कांग्रेसका जिल्ला सभापति तथा सांसद रामचन्द्र यादवले धेरैजसो स्थानीय तहका उम्मेद्वारहरु टुङ्गो लागिसकेकाले एक दुई दिनभित्रै नाम सार्वजनिक गरिने जानकारी दिए। कांग्रेसले जिल्लाको सात नगरपालिकामध्ये गोलबजारमा मेयर, उपमेयरबाहेक अन्य नगरको नाम सार्वजनिक गरेको छैन। वडाध्यक्षसहित वडा तहका उम्मेदवारहरु भने आ–आफ्नो वडामा मत माग्न घरदैलो कार्यक्रममा जुटिसकेका छन्।
 
उम्मेदवारी छनौटमा उछिन्दै एमाले

नेकपा एमालेले भने धनगढीमाई नगरपालिका प्रमुख र केही नगर तथा गाउँपालिकाका उपाध्यक्षबाहेक अन्य तहमा उम्मेदवार तय गरेको छ। एमाले सिरहा अध्यक्ष प्रमोद यादवका अनुसार सिरहाको लहान नगरपालिका प्रमुखमा रामनारायण साह (मुन्नी साह) र उपप्रमुखमा सरियार चौधरी, सुखिपुर नगरपालिका प्रमुखमा रामऔतार यादव, कल्याणपुर नगरपालिका प्रमुखमा रामपुकार साह, मिर्चैया नगरपालिका प्रमुखमा प्रदीप महासेठ, सिरहा नगरपालिका प्रमुखमा डा. नविनकुमार यादवको नाम तय गरिएको छ, भने धनगढीमाईमा दुई जनाको नामको विषयमा प्रदेश कमिटिले टुङ्ग्याउने गरी सिफारिस गरिएको छ। 

एमालेले अर्नमा गाउँपालिका अध्यक्षमा चन्देश्वर मण्डल र उपाध्यक्षमा रामकुमारी महतो, भगवानपुर गाउँपालिका अध्यक्षमा उग्रनारायण यादव, नवराजपुर गाउँपालिका अध्यक्षमा सुरेन्द्र यादव र उपाध्यक्षमा संगीता यादव, लक्ष्मीपुर पत्तारी गाउँपालिका अध्यक्षमा देवनारायण साह र उपाध्यक्षमा गीता चौधरी, कर्जन्हा गाउँपालिका अध्यक्षमा रामदयाल महतो र उपाध्यक्षमा अञ्जु राईको नाम तय गरेको छ।

त्यस्तै, नरहा गाउँपालिका अध्यक्षमा रामशरण यादव र उपाध्यक्षमा गुलावदेवी चौधरी, विष्णुपुर गाउँपालिका अध्यक्षमा सत्यनारायण यादव, उपाध्यक्षमा ममता सिंह, बरियारपट्टी गाउँपालिका अध्यक्षमा रामस्वगारथ यादव, औरही गाउँपालिका अध्यक्षमा सुवरन यादव, सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्षमा केदारनाथ यादव र उपाध्यक्षमा अमलादेवी यादवको नाम तय गरेको जिल्ला अध्यक्ष यादवले बताए ।

माओवादीको पनि बाँकी

माओवादी केन्द्रले जिल्लाका अधिकांश गाउँपालिका तथा नगपालिकाको उम्मेदवार तय गरिसकेको जनाएको छ। यद्यपी सार्वजनिक भने गरिसकेको छैन। ‘लहान नगरपालिका प्रमुख/उपप्रमुख पदको उम्मेदवारबाहेक अरु नगरको बाँकी छ, त्यो पनि चाँडै नै टुङ्ग्याउने तयारीमा छौँ,’ माओवादी केन्द्रको निर्वाचन समितिका संयोजक रामकुमार यादवले जानकारी दिए।

माओवादी केन्द्रले लहानको नगर प्रमुखमा खड्गनारायण चौधरी र उपप्रमुखमा रिकमा विश्वकर्मालाई उम्मेदवार बनाएको छ। ‘पार्टीले धेरैजसो गाउँपालिकाको उम्मेदवार टुङ्गो लगाइसकेको छ, केही गाउँपालिका र नगरपालिका बाँकी छन्, त्यो पनि जेठ २८/२९ गतेसम्म निर्णय भइसक्छ,’ उनले भने।

पर्ख र हेरको नीतिमा फोरम

संघीय समाजवादी फोरमले पनि कतै आफ्नो उम्मेवारहरुको नाम सार्वजनिक गरेको छैन। आकाङ्क्षीहरु धेरै रहेकाले उम्मेदवार टुङ्गो लगाउन केही समय लाग्ने जिल्ला अध्यक्ष बादलप्रसाद यादवले जनाए।

उनले भने ‘अहिले समय पनि छ, हाम्रो गृहकार्य भइरहेको छ, अब चाँडै उम्मेवादर टुङ्गो लाग्छ, त्यसको लागि हामी चाँडै बैठक बस्दैछौं।’

‘मधेसमा पहिचानवादी, संविधान संशोधनका पक्षधरहरु सबैसँग चुनावी तालमेल गर्ने गरी उम्मेदवारहरुको नाम बाहिर नल्याएका मात्र हौं,’ अध्यक्ष यादवले भने, ‘हामी मधेसकेन्द्रित दलहरुलाई पहिलो प्राथमिकतामा राखेर चुनावी मोर्चाबन्दीको पक्षमा छौं, वार्ता पनि चलिरहेको छ।’

मधेसमा बहुमत ल्याउँछौं भन्ने मुख्य दलहरुको उम्मेदवार हेरेर मात्र आफूहरुले उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारीमा रहेको अध्यक्ष यादवले बताए। 

अन्य दलहरु पनि उस्तै

नेपाल मजदूर किसान पार्टीले पनि उम्मेवादर घोषणा गर्न सकेको छैन। पार्टीको शुक्रबार बस्ने बैठकले उम्मेवार टुङ्गो लगाउने जिल्ला अध्यक्ष विजय साहले जानकारी दिए। उनका अनुसार पार्टीको तर्फबाट जिल्लाका पाँच स्थानीय तहमा उम्मेदवारी दिइने छ। मिर्चैया नगरपालिका र अन्य चार गाउँपालिकाबाट उम्मेदवारी दिने तयारी रहेको साहले जानकारी दिए।

सिरहाको सात नगरपालिका १० गाउँपालिकामा तीन लाख ३१ हजार पाँच सय ९६ मतदाता रहेका छन्। नगरपालिकामा १ सय ५ र गाउँपालिकामा ५३ वडा रहेको सिरहामा गाउँपालिका र नगरपालिका गरी कुल १ सय ५८ वटा वडाबाट प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुसहित आठ सय २४ जनप्रतिनिधि चुनिँदैछन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.