|

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखाका ११ मध्ये ९ वटा स्थानीय तहमा पराजय ब्यहोर्नुमा पार्टीकै कमजोरी रहेको बताएका छन्। संगठन र जनाधार हुँदाहुँदै पराजय हुनु दुखद भन्दै उनले बेलैमा सचेत नभए आगामी दिनमा झन् ठूलो क्षति हुने बताए।

भीमसेन गाउँपालिका ७ नम्बर वडाका जनप्रतिनिधिको स्वागतमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले २०६४ र २०७० सालको निर्वाचनमा तीनवटै निर्वाचन क्षेत्र जितेको लालकिल्लामा पार्टी किन पराजित भयो भनी प्रश्न गरे। 'यत्रो ठूलो नेतृत्व र जनाधार छ भने गोरखा जिल्लालाई लालकिल्लाबाट जोगाउन नसक्ने कुनै कारण छैन' उनले भने 'गोरखा जिल्लाको परिणामले सिंगो राष्ट्रलाई प्रभावित पार्छ, गोरखामा त हार्‍यो भन्ने जस्ता प्रश्न उठेको छ।'

माओवादीबाट अलग भएका डा. बाबुराम भट्टराईको पार्टी नयाँ शक्ति नेपालका कारण चुनाव हार्ने स्थिति बेलैमा बुझ्न नसक्नु ठूलो भूल भएको नेता श्रेष्ठले बताए। 'नयाँ शक्तिले हामीलाई हराउने स्थिति किन आयो त्यसलाई हामीले किन बेलैमा बुझ्न सकेनौं?' उनले प्रश्न गरे 'नयाँ शक्तिले (पार्टी संगठन) भत्काएको छ भन्दा दुई चार जना मात्र हो भन्यौं, चुनाव हराउन त्यही दुई चार जना पर्याप्त हुन्छ भन्ने सोचेनौं।'

माओवादी केन्द्रमा गोरखाबाट आफूसहितका धेरै नेताहरु भए पनि पार्टीको अवस्था सुधार हुन नसकेकोमा श्रेष्ठले चिन्ता गरे। उनले पार्टीको अवस्था सुधार्न अब आफूले धेरै समय दिने बताए। 'अब मैले अलि बढी टाइम दिने सल्लाह भएको छ' उनले भने।

नेता श्रेष्ठले नयाँ शक्ति पार्टी कुनै वैकल्पिक पार्टी नभई माओवादी हराउन मात्र जन्मिएको टिप्पणी गरे। 'नयाँ शक्ति भन्ने पार्टी नयाँ शक्ति होइन रहेछ भन्ने जनताले प्रष्ट पारेका छन्, बरु विवेकशील नेपाली र साझा पार्टी नयाँ शक्तिको रुपमा देखिए' उनले भने 'विकास र समृद्धि हाम्रै पालामा भन्ने नयाँ शक्ति माओवादीको भोट च्यात्न बनेको बाहेक केही होइन रहेछ भन्ने प्रष्ट भयो।'

अहिलेको चुनावमा देखिएको कमी कमजोरी बेलैमा सुधार गरे आउँदा चुनाव जित्न सकिने उनले बताए। 'जनाधार लालकिल्ला बन्ने सम्भावनायुक्त नै छ। यसको गम्भीर आत्मसमीक्षा हुनुपर्छ। अर्को चुनावमा व्यवहारबाटै लालकिल्ला बनाउन लाग्नुपर्छ' उनले भने 'कमी कमजोरीमा तैं चुप मै चुप भएर समाधान हुँदैन, निर्मम ढंगले समीक्षा गर्नुपर्छ। त्यसो भए मात्र लाल किल्ला कायम हुन्छ।'

वैशाख ३१ गते भएको निर्वाचनमा गोरखाको ११ वटा स्थानीय तहमध्ये दुईवटा नगरपालिकासहित ९ वटामा नेपाली कांग्रेस विजयी भएको थियो भने दुई वटा गाउँपालिकामा मात्र माओवादीले जित हासिल गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Hahaha don't you know you have done nothing in past 5 years in Gorkha. Do you still think you need any more reason to be defeated....