|
सांकेतिक तस्विर

रोल्पा : रोल्पाका तीन हजारभन्दा बढी घरमा खरको छाना हटाएर जस्तापाता लगाइएको छ। जिल्लाका तीन हजार १६९ घरधुरीमा जस्तापाता राखिएको हो। 

यसका लागि संघीय र स्थानीय सरकारले १५ करोड ६७ लाख १३ हजार खर्च गरिसकेका छन्। खरको छानो हटाएसँगै वर्षाको समयमा  पानी चुहिने र सु्क्खा मौसममा आगलागी हुने समस्याबाट मुक्त भएका छन्।

रोल्पा नगरपालिकामा एक हजार २३८ वटा घरमा फुसको छाना भएकामा हालसम्म ६७८ घरको छाना फेरिएको छ। नागरिक सुरक्षित आवास कार्यक्रमबाट २३२ र फुसको छाना विस्थापित कार्यक्रमबाट ४४६ घरको छाना फेरिएको हो। 

५६० घरमा फुसको छाना फेर्न बाँकी रहेको रोल्पा नगरपालिकाका योजना अधिकृत सुशील थापाले बताए। यो कार्यक्रमका लागि संघीय सरकार र नगरपालिकाको तीन करोड १२ लाख खर्च भइसकेको छ। संघीय सरकारको नागरिक सुरक्षित आवास कार्यक्रम र स्थानीय सरकारको फुसको छानो विस्थापन कार्यक्रम सुरु भएपछि जिल्लाका विपन्न समुदायका धेरैलाई राहत पुगेको छ।

रुन्टीगढी गाउँपालिकाले फुसको छाना हटाइएको छ। यहाँका फुसको छाना भएका एक हजार ६३१ घरमध्ये हालसम्म एक हजार १२ घरधुरीको छाना फेरिएको गाउँपालिका अध्यक्ष जनक पुनले जानकारी दिए। सो गाउँपालिकामा यस शीर्षकमा संघीय सरकार र स्थानीय तहको पाँच करोड छ लाखभन्दा बढी बजेट खर्च भएको छ। 

त्रिवेणी गाउँपालिकामा टिनको छाना लगाउन छनोट भएका ५१४ मध्ये ३८८ घरको छाना फेरिएको गाउँपालिकाले जानकारी दिएको छ। यसका लागि उसले संघीय सरकार र स्थानीय सरकारको एक करोड ९४ लाख रुपैयाँ खर्च गरेको छ। परिवर्तन गाउँपालिकाले नागरिक सुरक्षित आवास कार्यक्रमअन्तर्गत दुई सय घर छनोट भएका थिए। उसले छनोट भएकामध्ये १६४ घरको छाना फेर्न ५१ लाख ९३ हजार रुपैयाँ दिइसकेको छ। 

गंगादेव गाउँपालिकामा ४४८ घरको छाना फेर्ने कार्यक्रम छ। गाउँपालिकाले यो काममा  एक करोड ६८ लाख खर्च गरिसकेको छ भने चालु आर्थिक वर्षका लागि समेत ५६ लाख बजेट विनियोजन गरेको छ। सुनिल स्मृति गाउँपालिकाले हालसम्म ४०१ घरमा फुसको छानाका साटो टिनको छाना लगाएको छ। संघीय सरकारको सहयोगमा २३६ घर र गाउँपालिकाको कार्यक्रमअन्तर्गत १६५ घरमा टिनको छाना हालिएको हो।

लुङ्ग्री गाउँपालिकाले नागरिक सुरक्षित आवास कार्यक्रमअन्तर्गत ७० घरमा टिनको छाना लगाएको छ। छनोट भएका ११० घरमध्ये ७० घरमा टिनको छाना लगाइसकिएको छ। बाँकी घरमा पनि टिनको छाना लगाउन सहयोग गर्ने गाउँपालिकाले बताएको छ। थवाङ गाउँपालिकाले नागरिक सुरक्षित आवासअन्तर्गत काठको छानाका सट्टामा टिनको छाना लगाउन छनोट भएका १२१ घरमध्ये ५७ घरको छाना फेरिएको छ। 

फुसको छानाको घरमा पटक–पटक आगलागीको समस्या भोग्ने गरेका थिए। दुई–तीन वर्षको अन्तरालमा छाना फेरिरहनुपर्ने समस्याका साथै पानी चुहिने समस्यासमेत भोग्दै आएका रोल्पालीको अहिले एकैपटक सबै समस्या हल भएको छ। 

रोल्पामा खर तथा काठले घर छाउने चलन पुरानो हो। थवाङ, सुनछहरी र परिवर्तन गाउँपालिकाका केही वडामा काठले छाना छाउने गर्छन् भने अन्य पालिकामा खरले छाउने गर्छन्। सम्पन्न व्यक्तिले स्लेट र टिनले छाउँछन्। खर र काठले छाएका घरमा पानी चुहिने, आगलागी हुने डर हुने गरेको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.