|

लहान : दोस्रो चरणको स्थानीय तहको निर्वाचन सुरक्षालाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले तयार पारेको सुरक्षा रणनीतिअनुसार जिल्लाको कुल ४ सय ६१ मध्ये ३ सय २६ मतदान केन्द्र अति संवेदनशील र १ सय ३३ मतदान केन्द्रलाई संवेदनशीलको सूचीमा राखिएका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीले मतदान केन्द्रको सुरक्षा संवेदनशिलताअनुसार सुरक्षा प्रबन्ध मिलाएको जनाएको छ। जिल्लामा सबै मतदानस्थल सुरक्षाका दृष्टिकोणले संवेदनशील रहेकाले सुरक्षा चुनौती रहे पनि सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए।

निर्वाचन सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयले २ हजार ३३ प्रहरी, २ हजार २ सय ७६ म्यादी प्रहरी गरी ४ हजार ३ सय ९ सुरक्षाकर्मीलाई आवश्यक उपकरण र हातहतियारसहित निर्वाचन केन्द्रमा खटाइने तयारी गएिको प्रहरी उपरीक्षक द्विबेदीले बताए।

निर्वाचनमा सुरक्षाका लागि नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी र नेपाली सेना पनि परिचालित हुने उनले बताए। जिल्लाका विकट मानिएका क्षेत्रसहित प्रमुख बजारका चोक-चोक र सीमा-नाका क्षेत्रमा समेत ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी चेक जाँच र निगरानी बढाइएको प्रहरी उपरीक्षक द्विबेदीले उल्लेख गरे।

सप्तरीमा नगरपालिका र ८ गाउँपालिका रहेको सप्तरी जिल्लामा महिलातर्फ १ लाख ६० हजार ६ सय ८६,  पुरुषतर्फ १ लाख ७० हजार ७ सय ५५ र तेस्रो लिंगी २१ गरी कुल ३ लाख ३१ हजार ४ सय ६२ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी महेश कुमार ठाकुरले जानकारी दिए। उनका अनुसार निर्वाचन सञ्‍चालन गर्न जिल्लाका ४ सय ६१ मतदान केन्द्रमा २ हजार ७ सय ५० जना कर्मचारी परिचालन गरिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.