|

काठमाडौँ : पेशागत महासंघ नेपालले भारतलाई नेपाली भूमि समेटिएको नक्सा राखेको सम्बन्धमा कूटनीतिक नोट पठाई ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको छ।

भारत सरकारले आफ्नो नयाँ संसद् भवनमा नेपालको भूमि समेटिएको नक्सा राखेकोप्रति आपत्ति जनाउँदै कूटनीतिक नोट पठाई ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको हो। साथै महासंघले विगतमा भएका असमान सन्धि सम्झौता खारेज गर्न र प्राकृतिक स्रोत साधनसम्बन्धी सन्धि सम्झौता नेपालको हितअनुरूप लागू गर्न सरकारसँग माग गरेको छ।

आइतवार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा बोल्दै पेशागत महासंघ नेपालका महासचिव राजन रेग्मीले महासंघले नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर भ्रष्टाचार गर्ने अपराधीलाई कडा कारबाही गर्न पनि माग गरेको बताए।

उनले विगतमा भएका अनियमितता र भ्रष्टाचारमा संलग्न दोषीलाई कारबाही गर्नका साथै बहुदलीय व्यवस्थाको पुनःस्थापनायता राजनीतिक व्यक्ति र कर्मचारीतन्त्रभित्रका अकुत सम्पत्ति कमाउने व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय अधिकार सम्पन्न छानबिन समिति गठन गर्न माग गरेको बताए।

महासंघको लोगो, नाम, झण्डा, छाप लगायका सामानको दुरुपयोग गर्नेलाई कारबाही गर्न पनि महासंघले माग गरेको छ। उनले आम श्रमिकका माग सम्बोधनका लागि उच्चस्तरीय श्रम आयोग गठन गर्न माग गरे। कर्मचारीले पाइरहेको कुनै पनि सेवा सुविधा कटौती नगर्न सरकारको ध्यानाकर्षण गराएको छ।

उनले संघीय निजामती सेवा ऐन, शिक्षा ऐन, स्वास्थ्य ऐन लगायतका ऐन चाँडोभन्दा चाँडो जारी गर्न सरकारसँग माग गरिएको बताए।

महासंघले उच्चस्तरीय तलब सुविधा आयोगले नेपाल सरकारसमक्ष सिफारिस गरेअनुसारको तलब सुविधा लागू गर्न सरकारसँग माग गरेको छ। सहकारीका समस्या समयमै समाधान गर्न, सार्वजनिक संस्थानको सुधार गरी ७५३ वटै पालिकासम्म सेवा विस्तार गर्न पनि ध्यानाकर्षण गराएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.