|

भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट एक हजार तीन सय स्थानीयले सेवा लिएका छन्।  तीमध्ये ५४ जनाको आँखाको शल्यक्रिया गरिएको छ।

स्थानीय जनतालाई सहज स्वास्थ्य सेवा दिन गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन भएपछि स्थानीय लाभान्वित बनेका हुन्। सामान्य आधारभूत स्वास्थ्य सेवा लिनको लागिसमेत समस्या भोग्दै आएका स्थानीय गाउँमा नै आँखाको शल्यक्रियासहितको सेवा पाएसँगै हर्षित बनेका छन्। 

दुई लाख बजेट विनियोजन गरेर शिविर सञ्चालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपानेले जानकारी दिए। खास गरेर दुर्गम भेगका गरिब तथा विपन्न परिवारलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्यापानेले जानकारी दिए। 

‘भौगोलिक विकटताका कारण यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिन निकै समस्या छ‚’ प्रशासकीय अधिकृत न्यौपानेले भने,‘सहज स्वास्थ सेवा दिने लक्ष्यले शिविरमार्फत सेवा दिएका हौँ। सेवा पाएसँगै स्थानीयलाई सहज भएको छ। यस्ता शिविरहरु भावी दिनमा पनि सञ्चालन गर्ने लक्ष्य छ।’

उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरेर नागरिकलाई सहज सेवा दिन काम गरिरहेको गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताइन्। नागरिकका समस्यालाई ध्यानमा राख्दै शिविरको आयोजना गरिएको उनको भनाइ छ। 

पहिलो चरणमा नौ वटै वडामा शिविर सञ्चालन गरेर समस्याको पहिचान पश्चात दुईदिने शिविरमार्फत सेवा प्रदान गरेको उनको भनाइ छ। स्थानीय नागरिकलाई विशेषज्ञ चिकित्सकबाट सेवा दिइएको उनले बताइन्। 

नागरिकलाई सहज आधारभूत स्वास्थ्य सेवा विस्तारको लागि विभिन्न ठाउँमा आधारभूत अस्थायी स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रदान भईरहेको उपाध्यक्ष राईले बताइन्। 

शिविरमार्फत मोति विन्दु, आँखाको नानीमा मासु पलाएको र आँखा ढाकिएको लगाएतको शल्यक्रिया गरिएको उपाध्यक्ष राईले जानकारी दिइन्।  

‘गाउँपालिबाट बजेट विनियोजन गरेर शिविर सञ्चालन गरेको छौँ‚’उपाध्यक्ष राईले भनिन्‚ ‘गाउँपालिकका स्थानीयलाई सहज सेवा दिन शिविरको आयोजना गरेको हौँ। हामीले विभिन्न समयमा शिविरको आयोजना गरेर नागरिकलाई सेवा प्रदान गर्दै आएका छौँ। भौगोलिक रुपमा विकट रहेका स्थानमा कार्यपालिकाबाट निर्णय गरी अस्थायी स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रदान गर्दै आएका छौँ।’

शिविरबाट गरिव तथा विपन्न परिवारलाई प्रत्यक्ष लाभ पुगेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए। नागरिक स्तरमा रहेका समस्याहरुलाई ध्यानमा राखेर गाउँपालिकाले विभिन्न खाले कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष बस्नेतको भनाइ छ। 

अन्नपूर्ण बाघधन रणदिपा राई माध्यमिक विद्यालयमा सञ्चालन भएको शिविर नेपाल नेत्र ज्योति संघ भोजपुरको आयोजना, सीवीएम संस्थाको सहयोग, टेम्केमैयुङ गाउँपालिकाको प्रायोजन तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग रहेको नेत्र ज्योति संघ भोजपुरका प्रमुख विजय तामाङले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.