|

चन्द्रौटा : शिवराज नगरपालिकाले स्थानीय समुदायमा उत्पादित मौवाको मदिरालाई ‘ब्राण्डिङ’ गर्ने घोषणा गरेको छ। आइतबार नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारूले आव २०८०।०८१ को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मौवाको मदिरालाई ‘ब्राण्डिङ’ गर्ने बताएकी हुन्।

‘स्थानीय समुदायमा प्रचलनमा रहेको मौवाको मदिरा पदार्थलाई व्यवसायीको सहकार्यमा ब्राण्डिङका लागि आवश्यक रकम विनियोजन गरेको छु’‚ उनले भनिन्।

नगर प्रमुख अजय थापाले स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्न सके स्थानीयलाई रोजगारी सिर्जना हुने बताए। शिवराजमा मौवाबाट उत्पादन रक्सीलाई विदेशसम्म निर्यात गर्न सके ठूलो उपलब्धि हासिल हुने बताए।

शिवराज नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि १ अर्ब २७ करोड ८ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार नगरपालिकाका मेयर अजय थापाले नीति तथा कार्यक्रम र उपमेयर शिवकुमारी थारूले बजेट सहित कार्यक्रम नगर सभामा पेस गरेका हुन्।

उक्त बजेटमध्ये नगरस्तरीय योजनामा ३ करोड ८५ लाख, नगरस्तरीय विविध कार्यक्रम १ करोड, वडास्तरीय योजना ९ करोड ३५ लाख, सामाजिक विकासतर्फ ५५ लाख, प्रशासनिकतर्फ १२ करोड रकम विनियोजन गरिएको छ। बहुवर्षीय क्रमागत कार्यक्रम २ करोड ५३ लाख, समपूरक म्याचिङ २ करोड ६० लाख, नगरस्तरीय पूर्वाधार विकास १ करोड बजेट विनियोजन भएको छ।

शिक्षा तथा खेलकुद ८ करोड ३२ लाख, स्वास्थ्यतर्फ ३ करोड ५० लाख बजेट विनियोजन गरिएको छ। नगरले कृषि विकासमा १ करोड, पशु विकासतर्फ ५० लाख बजेट विनियोजन गरिएको छ। नगरपालिकाको नीति र कार्यक्रममा निःशुल्क शिक्षासहित स्वास्थ्य कृषि, पशुपालन र सरसफाइ जस्ता विषय समेटिएका छन्।

शैक्षिक सुधार र पर्यटन विकासलाई पनि प्राथमिकतामा राखिएको नगरप्रमुख अजय थापाले बताए। नगरपालिकाले चन्द्रौटा बजारलाई सौन्दर्यीकरण गर्ने भएको छ। नगरपालिकाको मुख्य बजारमा चन्द्रौटालाई व्यवस्थित बनाउनुको साथै बसपार्क निर्माण गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

नगरसभामा शिवराज नगरपालिकाले पाँचजनालाई सम्मान गरेको छ। १३ औं नगरसभाका अवसरमा ३ जना पत्रकार र २ जना कर्मचारीलाई नगद सहित सम्मान गरेको छ। सम्मानित हुनेमा पत्रकार सञ्जीव गहतराज, कृष्ण गैरे र माधव बेल्वासे छन्।

नगरको विकासका लागि अहोरात्र खटेर कलम चलाएको भन्दै सम्मान गरिएको हो। त्यस्तै उत्कृष्ट कर्मचारीको रूपमा प्रेम वली र वसन्त महतरालाई नगद सहित सम्मान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.