|

जुम्ला : कुनै वेला खोलानाला, ताल, पोखरीलगायत पानीका स्रोतलाई पूजा गरी संरक्षण गर्ने प्रचलन पनि थियो तर अहिले यस्ता प्रचलन लोप हुँदै गएका छन्। दिनप्रतिदिन बढ्दै गएको जलवायु परिवर्तनका कारण पानीका मूल सुक्न थालेका छन्।

जुम्लाको गुठीचौर गाउँपालिका-२ को भेडाबाख्रा अनुसन्धान केन्द्रनजिकै रहेको पानीको ढुंगेधारा सडक निर्माणको क्रममा खनिएको माटोमा पुरिएको थियो। त्यो देवल धारा भन्ने पानीको मुहान सडकभन्दा मुनितिर रहेकाले सडक खन्दा आएको पहिरोले पुरेको  त्यहाँका स्थानीयको भनाई छ।

त्यहाँका स्थानीयका अनुसार सडक निर्माण गर्ने क्रममा माथिबाट आएको बाढी पहिरोले त्यो धाराको नामनिसाना मेटाइ दिएको थियो। घर घरमा धारा आउनुभन्दा पहिले त्यहाँको एकमात्र खानेपानीको श्रोत नै देवल धारा थियो। अहिले पनि १३५ घरका लागि सरसफाई गर्ने पानीको श्रोत त्यही धारा हो।

देवल धाराको निर्माणबारे एउटा किंवदन्ती छ। पाँच भाइ पाण्डव एक हप्ता यहाँ बसेर त्यो धारा निर्माण गरी पानी खाएको किंवदन्ती रहेको स्थानीय तुला बोहोराले बताए।

उनका अनुसार त्यो धारा भएको ठाउँमा धान नपाक्ने भएकाले पाँच भाइ पाण्डव एक हप्ता त्यहाँ बसेपछि सिंजाको पाण्डवगुफा गएको भन्ने जनश्रुति छ। यो धारा भएको ठाउँमा एउटा देवल पनि छ र केही ढुङगामा कुँदिएका चित्र पनि देखिन्छन्।

भू तथा जलाधार ब्यवस्थापन कार्यालय जुम्लाले त्यो पानीको मुहान संरक्षणका लागि लगानी गरेको कार्यालयका प्रमुख हिमालय साउदले बताए। उनका अनुसार जउलेधारा पानी मुहान संरक्षण गुठीचौर दुई जुम्ला नमक आयोजनामार्फत काम गरिएको हो।

उनले भने, ‘जउलेधारा पानीको मुहान संरक्षणका लागि १८ लाख ७७ हजार ४५० रुपैयाँ लागत रहेको छ। यस कार्यालयले १४ लाख ४० हजार योजना खर्च गर्नेछ।’

उनका अनुसार जलाधार व्यवस्थापन महत्वपूर्ण छ, यसतर्फ सबैको ध्यान जान जरुरी छ। जल, जमिन रहे पो वनजंगल रहन्छ, वन्यजन्तु रहन्छ, कृषियोग्य भूमि रहन्छ र मानिसको अस्तित्व रहन्छ।

उनले भने, ‘खानेपानीका मुहान संरक्षण गर्नु अहिलेको आवश्यकता हो। यहाँ जउलेधारा निर्माण गर्दा सबै स्थानीय स्रोत साधन प्रयोग गरिएको छ। वरिपरि ग्यामिन हालि घेराबार गरिएको छ। पुराना जस्ता ऐतिहासिक ढुंगेधारा निर्माण  गरिएको छ। यहाँ सिमेन्ट प्रयोग गरिएको छैन।’

खानेपानी आपूर्तिका लागि ‘अपरिहार्य विकल्प’ का रूपमा सञ्चालित त्यस्ता आयोजनामा प्रयुक्त प्रविधि मूल सुकाउने मुख्य कारक पनि बन्न थालेको पाइन्छ। तसर्थ, मुहानलाई जोगाउँदै पानीको मात्रा बढाउन र मुहान बचाउन पानीका मुहान तथा मूलाधार संरक्षणसम्बन्धी प्रभावकारी नीतिगत व्यवस्था गर्नुपर्ने आवश्यकता छ।

हाम्रो समुदाय खानेपानी, पशुपक्षी, कृषि, जैविक विविधता, पर्यटन र सांस्कृतिक पर्व मूल र मुहानमा आधारित छन्। यी पानीका स्रोतमात्र होइनन्, जलवायु र वातावरण परिवर्तनका सङ्केत पनि हुन्।

गुठीचौर गाउँपालिका-२ कोल्याका लाजु बोहोराले पछिल्ला दिनमा मुहानमा पानीको मात्रा घट्ने र मुहान सुक्ने क्रम बढ्दो रहेको बताए। उनले यसका लागि स्थानीय स्तरमा भइरहेका मानवीय हस्तक्षेपका साथै जलवायु परिवर्तन जस्ता बाह्य कारण जिम्मेवार रहेको बताए।

उनले भने, ’यो पानी हाम्रो इतिहाससँग जोडिएको भएकाले बाढीपहिरोले ढाकिएको पानीको मुहान पुनःनिर्माण गरेका  हौँ।’

जलवायु परिवर्तनका कारण हुने अतिवृष्टि, अल्पवृष्टि र तिनीहरुबाट सिर्जित बाढीपहिरो, खडेरी र भूकम्प आदि मुहान सुकाउने मुख्य प्राकृतिक कारण भएकाले यसलाई मध्यनजर गर्दै भू तथा जलाधार ब्यवस्थापन कार्यालय जुम्लाले हुम्ला, डोल्पा, मुगु, कालिकोट र जुम्लमा पानीका मूल सुक्ने समस्या गम्भीर रुपमा देखिएकाले पोखरी पुनःस्थापना, आकाशे पानी सङ्कलन, मूल पुनर्भरणका कार्यक्रम बाढी पहिरोको जोखिम रहेका ठाउँमा तटबन्ध गर्दै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.