|

देउखुरी : दाङमा चालू आर्थिक वर्षको हालसम्म १५२ ठाउँको माटो परीक्षण गर्दा अम्लीयपन भएको ३३, क्षारीयपन भएको ४३ र तटस्थ अवस्थामा ७६ वटा भेटिएको छ।

परीक्षण गरिएको माटोमा नाइट्रोजनको मात्रा कम भएका ४२, मध्यम अवस्थामा रहेका ५९ र अधिक भएका ५१ वटा भेटिएको घोराहीस्थित कृषि ज्ञानकेन्द्रले जनाएको छ।

‘सामान्यतया माटोमा पिएचको मात्रा ६.५-७.५ सम्म उपयुक्त मानिन्छ। उल्लिखित मात्राभन्दा तल भए अम्लीयपन देखिन्छ भने बढी भए क्षारीयपन देखिन्छ’, केन्द्रका कृषि अधिकृत देवा महराले भनिन्, ‘युरिया मलको सही उपयोग हुन नसक्दा माटोको उर्वराशक्ति कमजोर हुनाका साथै माटोमा क्षति हुँदै गएको छ।’

उनका अनुसार विभिन्न बालीका लागि चाहिने तत्त्व नाइट्रोजन, फस्फोरस, पोटासलगायतको मात्रा पनि घट्दो छ। जिल्लाका अधिकांश ठाउँको माटो परीक्षण गर्दा जमिनमा अम्लीयपन बढ्दै गएको भेटिएको महराले जानकारी दिइन्। उनका अनुसार प्राङ्गारिक पदार्थको प्रयोग घट्दै जाँदा र रासायनिक मलको प्रयोग बढ्दै जाँदा अम्लीयपन बढ्दै गएको हो।

सोही माटोको नमुना परीक्षण गर्दा फस्फोरसको मात्रा ९८ वटामा कम, ४८ वटामा मध्यम र ६ वटामा अधिक भेटिएको थियो। माटोमा पोटासको मात्रा ९९ वटामा निकै कम, ५१ वटामा मध्यम र दुईवटामा अधिक भेटिएको कृषि अधिकृत महराले जानकारी दिइन्। परीक्षणका क्रममा आएको नतिजाले माटोको उर्वराशक्ति कमजोर बन्दै गएको देखाउने उनले बताइन्।

घोराही उपमहानगरपालिका–१ का श्रीराम चौधरीले खेतको माटो परीक्षण गराए। माटोको नमुना परीक्षण गर्दा पीएच ७.१ देखिँदा नाइट्रोजनको मात्रा मध्यम आयो भने फस्फोरस र पोटासको मात्रा निकै कम भएको पाइएको छ। माटोको परीक्षण गरेर मात्र खेती गर्नुपर्छ भन्ने थाहा नपाएको र आफूखुसी मल प्रयोग गर्दा माटो बिग्रिएको चौधरीले बताए। वरपरका गाउँघरमा पनि माटो परीक्षण गरेर खेती गर्न सल्लाह दिने उनको भनाइ थियो।

घोराही उपमहानगरपालिका–४ सुनपुरका सुधन पोखरेलको खेतबारीको माटोको नमुना लिई परीक्षण गर्दा पीएच ६.२ मात्रै देखियो। घोराहीस्थित कृषि ज्ञानकेन्द्रको मिनी प्रयोगशालामा गरिएको माटो परीक्षणमा नाइट्रोजनको मात्रा अधिक देखियो भने फस्फोरस र पोटासको मात्रा निकै कम देखियो।

‘माटो परीक्षण गरेर खेती गर्नुपर्ने रहेछ भन्ने बल्ल थाहा भयो’, पोखरेलले भने, ‘सामान्यता माटोमा पीएचको मात्रा ६.५ देखि ७.५ सम्मलाई उपयुक्त मान्ने रहेछ। मेरोमा कम आयो।’ दाङमा अरू अन्न बालीभन्दा धान सबैभन्दा बढी उत्पादन हुने गरेको केन्द्रले जनाएको छ। जिल्लाको ६९ हजार ९५० हेक्टर खेतीयोग्य जमिनमध्ये ६५ हजार ९८० हेक्टर जमिनमा खेती हुने गरेको छ। जसमध्ये ३९ हजार चार सय हेक्टर जमिनमा धान खेती हुँदै आएको छ।

अहिलेको माटोको परीक्षणबाट आएको नतिजाअनुरूप नै माटोमा अम्लीयपन बढ्दै जाने हो भने धान उत्पादनमा कमी आउने कृषि विज्ञ बताउँछन्। आफ्नो खेतबारीको माटोको परीक्षण गरेर मात्र रासायनिक मल प्रयोग गर्नुपर्ने कृषि सामग्री वितरक कम्पनीका शाखा प्रमुख टोपाराम गौतमले बताए। माटो परीक्षण गरेर मल प्रयोग गरेमा माटोको उर्वराशक्ति रहने उनको धारणा छ।

‘जिल्लामा कृषकले धान, मकै, तोरी, मसुरो, गहुँलगायत तरकारी बालीको उत्पादन बढाउन भन्दै बिनामापदण्ड युरिया, डीएपी लगायतको मलसँगै कीटनाशक औषधि बढी प्रयोग गर्ने गरेको पाइएको छ’, प्रमुख गौतमले भने, ‘कृषि सामग्री कम्पनीमा मल लिन आउने किसानलाई माटो परीक्षण गरेर मात्र मलको प्रयोग गर्न सल्लाह दिने गरेका छौँ।’

उनका अनुसार परीक्षणपछि मल प्रयोग गर्दा माटोलाई चाहिने आवश्यक तत्त्व परिपूर्ति हुनुका साथै माटोको उर्वराशक्ति कमजोर हुनबाट बचाउन सकिन्न। केन्द्रका कृषि अधिकृत महराले माटो बिग्रिँदै जानुको प्रमुख कारण कृषकबाट अन्धाधुन्ध रासायनिक पदार्थको प्रयोग कारक रहेको बताए। ‘गाईवस्तु पाल्ने चलन हराएसँगै घरेलु मलको प्रयोग कम हुने गरेको छ’, उनले भने, ‘रासायनिक मल तथा विषादीको प्रयोग बढी हुँदा माटो बिग्रिएको छ।’ चक्रीय प्रणालीअनुरूप विभिन्न खाले बाली लगाउनुपर्ने उनको सुझाव छ। दाङमा रासायनिक मलको असन्तुलित प्रयोगले माटोको उर्वराशक्तिमा ह्रास ल्याउनुका साथै नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा माटोमा कम देखिएको महराले बताए। उनका अनुसार तत्कालीन जिल्ला कृषि विकास कार्यालय हुँदा विसं २०५७ सालमा दाङमा माटो परीक्षणका लागि मिनी ल्याब स्थापना भएयता जिल्लामा माटो परीक्षण हुने गरेको छ। ‘ल्याब स्थापनासँगै कार्यालयमा माटो विज्ञको दरबन्दी रहेकामा सङ्घीयता लागू भएसँगै कर्मचारी समायोजनका क्रममा माटो विज्ञको दरबन्दी कटौती गरिएको छ’, महराले भने, ‘अहिले कर्मचारी अभावका कारण आफैंले माटो परीक्षण गरिरहेको छु।’ केन्द्र माटो विज्ञविहीन बनेसँगै वर्षेनि हुने माटो परीक्षणमा समेत कमी आएको अधिकृत महराले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.