|

पाल्पा : तानसेन खानेपानी उपभोक्ता समितिमा लफडा भएको छ।

तानसेन नगरपालिकाले हस्तक्षेप गरेपछि विवाद भएको हो। निर्वाचनको तयारीमा जुटिरहेको पुरानो समितिलाई एकाएक नगरपालिकाले विघटन गरेपछि विवाद चरम उत्कर्षमा पुगेको छ। अवैधानिका काम गर्न थालेको भन्दै नगरपालिकाले डाक्टर पुरनामान बज्राचार्य कार्यवाहक अध्यक्ष रहेको समिति विघटन गरेको छ।

बज्राचार्यको नेतृत्वमा रहेको समितिले संस्थाको विधान आफू अनुकूल संशोधन गरेर निर्वाचन गराउन लागेको नगरपालिकाले आरोप लगाएको छ। यता नगरपालिकालाई नै निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्न आफूले अनुरोध गरेको बज्राचार्यले बताए।

नगरपालिकाबाट निर्वाचन कार्यतालिका समेत सार्वजनिक भइसकेको थियो। तालिकाअनुसार उपभोक्ता दरखास्त दिन पुग्दा नगरपालिकाले एक्कासि निर्वाचन स्थगित भएको सूचना टाँसेको पाइयो। नगरपालिकाले निर्वाचन स्थगित गरेपछि समितिले नेपाल बार एसोसिएसन पाल्पालाई निर्वाचन गराउने जिम्मेवारी दियो।

बारले निर्वाचन प्रक्रिया अगाडि बढाएको थियो। यो प्रक्रिया पनि बीचमै रोकियो। नगरपालिकाको स्वामित्वमा तानसेन खानेपानी दिन सबै तयार भएपछि निर्वाचन प्रक्रिया रोकेको कार्यवाहक अध्यक्ष बज्राचार्यले बताए। तर नगरपालिकाले स्वामित्व ग्रहण गरेन। पुनः दलीय भागबण्डामै तदर्थ समिति बनाउने काम गरेको छ।

पुरानो समितिका केही सदस्यले राजीनामा दिए। एक जनाले विधिपूर्वक कार्यालयमै पुगेर राजीनामा दिएका छन्। अन्यले सामाजिक सञ्जालमाफर्त घोषणा गरे। आधिकारिक रुपमा कार्यालयमै पुगेर एक जनाले मात्र राजीनामा दिएको समितिका कोषाध्यक्ष भीमसेन कार्कीले बताए। उनका अनुसार मिना ढुंगानाले राजीनामा दिएकी छन्। कार्यवाहक अध्यक्ष बज्राचार्य र कोषाध्यक्ष कार्कीले भने राजीनामा दिएका छैनन्।

उनीहरूको राजीनामा सहजै नआएपछि नगरपालिकाले दबाबस्वरुप गत असार १३ गते उपभोक्ता भेला गर्‍यो। भेलामा तानसेन नगरपालिकाले स्वामित्व लिनुपर्नेबारे छलफल भयो। तर छलफल अनुसार निर्णय भएन। पुनः दलीय भागबण्डामै तदर्थ समिति बनाइयो। यसले थप विवाद सिर्जना भयो।

तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीका अनुसार २ हजार बढी उपस्थितिमा उपभोक्ता भेला भएको थियो। सोही भेलाले दिएको अख्तियारी भन्दै नगरपालिकाको कार्यपालिका बैठकले गत असार १९ गते मोहनप्रसाद श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय तानसेन खानेपानी उपभोक्ता तदर्थ समिति गठन गरेको छ। सो समितिका पदाधिकारीले गत असार २२ गते देखि नै पदबहाली गरेर काम थालेका छन्।

श्रेष्ठ नेपाली कांग्रेसका नेता हुन्। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट सदस्य बनाइएको छ। नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत केही अन्य दलले बहिष्कार गरेका छन्।

खानेपानीको सम्पूर्ण जिम्मेवारी स्थानीय सरकार तानसेन नगरपालिकाले लिनुपर्ने नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले बताए। भेलाको मापदण्ड बाहिर गएर नगरपालिकाले निर्णय गर्नु गलत भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुँवरले बताए। नगरपालिका आफैले लिनुपर्छ। नभए आम उपभोक्ताबीच निर्वाचन गराउनुपर्ने रास्वपाका सचिव सुमन गैरेले माग गरे।

जतिसक्दो छिटो निर्वाचन गर्नुपर्ने नेपाली कांग्रेसका कार्यवाहक सभापति झपेन्द्र गैरेले बताए। विधान संशोधन गरेर सबै अट्ने गरी निर्वाचन प्रक्रियामा जानुपर्छ। निर्वाचनका लागि सबैले सहज भूमिका निर्वाह गर्नुपर्छ। सहमति मै निर्वाचन सम्पन्न गरी उपभोक्ताको धारामा घरमा दैनिक पानी आउने व्यवस्था मिलाउनुपर्ने उनले बताए।

राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले तानसेनका उपभोक्ताले दैनिक धारामा खानेपानी पाउनुपर्ने बताए। निर्वाचन गरेर खानेपानीलाई व्यवस्थापन गर्न आवश्यक रहेको उनको भनाइ छ।

तानसेन नगरपालिकाले आफ्नो स्वामित्वमा लिएर खानेपानीलाई व्यवस्थित गर्छ भन्ने धेरैको बुझाई थियो। उपभोक्ताको चाहनाभन्दा विपरीत नगरपालिकाले पुरानै अवस्था दोहोर्‍याएको कतिपयको प्रतिक्रिया छ। फेरि पनि दलीय भागबण्डामै समिति बनाउन थियो भने अनावश्यक उपभोक्ता भेला किन गरेको हो? उपभोक्ताले प्रश्न गर्न थालेका छन्।

खानेपानीमा राजनीति हुनु हुँदैन भन्ने धेरैको चाहना छ। तर त्यसबाट नगरपालिका नै मुक्त हुन नसकेको कतिपयको बुझाई छ। राजनीतिक पूर्वाग्रह साँधेर निर्वाचन प्रक्रिया रोकेर तदर्थ समिति गठन गरेको रास्वपाका सचिव गैरेले बताए।

नगरप्रमुख सन्तोषलाल श्रेष्ठ नेपाली कांग्रेसबाट जितेका हुन्। उपप्रमुख नेकपा माओवादी केन्द्रबाट जितेकी हुन्। तानसेन खानेपानी उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष बज्राचार्य नेकपा एमालेका हुन्।

राजनीतिक लडाइँका कारण समितिमा विवाद बढेको छ। पदाधिकारीको अवधि सकिएको कुरा स्वाभाविक हो। नयाँ नेतृत्वलाई विधिपूर्वक हस्तान्तरण गर्न हामीले चाहेका थियौँ। नगरपालिकाले वातावरण बिथोलेको कोषाध्यक्ष भीमसेन कार्कीले गुनासो गरे।​

सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

तानसेन खानेपानी उपभोक्ता समितिको निर्वाचनको विषयलाई लिएर अहिले सर्वोच्च अदालतमा मुद्दा परेको छ। कार्यवाहक अध्यक्ष बज्राचार्यले तदर्थ समिति खारेजीको माग गर्दै सर्वोच्चमा मुद्दा दिएका हुन्। मुद्दाको सुनुवाइ गर्दै सर्वोच्चले केही दिन अघि कारण देखाउ आदेश जारी गरिसकेको छ। आदेशको पूर्ण पाठ आउन बाँकी नै रहेको अधिवक्ता डाक्टर रामबहादुर राउतले बताए।

तदर्थ समितिले कार्यालयको ताला फोड्यो

तानसेन खानेपानी तदर्थ उपभोक्ता समितिले आइतबार कार्यालयको ताला फोडेको छ। संयोजक मोहनप्रसाद श्रेष्ठको नेतृत्वमा गएको टोलीले नगर प्रहरीको सहायतामा अध्यक्षको कार्यकक्षमा लगाइएको ताला फोडेको हो।

यसअघिकै समितिले लगाएको तालामाथि तदर्थ समितिले अर्को ताला लगाएको थियो। कार्यालयमा दुई पक्षको दुई वटा ताला लगाइएको थियो। १० दिनसम्म पनि ताला नखोलेपछि बाध्य भएर फोड्नु परेको संयोजक श्रेष्ठले बताए। खानेपानीलाई सहज बनाउन कार्यालयमै बसेर काम गर्नुपर्ने भएकाले ताला खोल्नु परेको हो।

विधान संशोधनको काम सकेर ६ महिनाभित्र निर्वाचन गराउने र तानसेनमा अहिले देखिएको खानेपानीको समस्यालाई समाधान गर्ने गरी तदर्थ समितिले काम गरिरहेको उनले बताए।

अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेका बेला दादागिरी शैलीबाट ताला फोड्नु गलत भएको समितिका कोषाध्यक्ष भीमसेन कार्कीले बताए। उपभोक्तालाई सहज रुपमा खानेपानी उपलब्ध गराउनु समितिको दायित्व हो।

‘हामीले काम नगरेको होइन। अहिले निर्वाचन गरेर नयाँ समितिलाई सम्मानपूर्वक जिम्मेवारी हस्तान्तरण गर्न खोजिरहेका बेला स्थानीय सरकारको आडमा गुण्डागर्दी शैलीबाट वैधानिकता नपाएको तदर्थ समितिले कार्यालयको ताला फोड्नु गैरकानुनी हो‚’कार्कीले भने। कानुनी उपचारका लागि अगाडि बढ्ने पनि उनले बताए।

तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले ताला फोडेर राम्रो काम गरेको बताए। थाहाखबरसँग कुरा गर्दै उनले भने, ‘कसैले पनि कार्यालयलाई बन्धक बनाउन पाइँदैन।’

नगरपालिकाले जिम्मेवारी दिएको तदर्थ समिति भएकाले १० दिनसम्म कुर्दासमेत चाबी नखोलेको उनले बताए। कार्यालयको दैनिक कामकाज गर्नका लागि ताला फोड्ने कुरा जायज भएको कार्कीले बताए। तोकिएको समयमै निर्वाचन सम्पन्न गरेर खानेपानीलाई थप व्यवस्थित बनाउने योजनामा नगरपालिका रहेको उनले बताए।

तानसेनमा ४ हजार १७४ उपभोक्ता छन्। खानेपानी पर्याप्त पुगिरहेको छैन। वर्षातको समयमा समेत तानसेनमा एक हप्तासम्म पानी आउँदैन। हिउँदको समयमा कम्तीमा १० दिनमा पानी आउने गर्छ। तानसेनमा खानेपानीको हाहाकार जस्तै हुन्छ।

यहाँको खानेपानीलाई सहज सुविधायुक्त बनाउन सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने स्थानीय जेष्ठ नागरिक पूर्णमाया महर्जनले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.