दरबन्दी हुँदा पनि मन्त्रालयले पठाउँदैन चिकित्सक

|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहत रहेको एकमात्र ‘विशिष्ट विशेषज्ञ’ अस्पतालको रूपमा सञ्चालित डडेल्धुरा अस्पताल थला परेको छ। दरबन्दी अनुसारका चिकित्सक नहुँदा अस्पताल थला परेको हो।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा रहेको यो सुदूरपश्चिकै ठूलो अस्पताल हो। पछिल्लो समयमा सेवा खस्कँदो छ।

विशेषज्ञ चिकित्सकको दरबन्दी १९, कार्यरत शून्य

पाँचपटक प्रधानमन्त्री भएका देउवाको गृहजिल्लाको अस्पतालमा एकजना पनि विशेषज्ञ चिकित्सक नहुनु विडम्बना हो। यो अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सकको स्थायी दरबन्दी छ।

अहिले अस्पतालमा एकजना पनि विशेषज्ञ चिकित्सक नभएको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले जानकारी दिए। उनका अनुसार अस्पतालमा हाल छात्रवृत्ति करारबाट ३ जना मात्र विशेषज्ञ चिकित्सक छन्।​

त्यसैगरी ‘विशिष्ट विशेषज्ञ’ भनिएको यो अस्पतालमा १८ जना मेडिकल अधिकृतको दरबन्दी छ। जसमा ६ जना स्थायी र १६ जना करारमा कार्यरत छन्। अस्पतालमा ३४ जना स्टाफ नर्सको दरबन्दी छ। जसमा २९ जना स्थायी रूपमा कार्यरत छन्। अस्पताल विकास समितिबाट ६ जना, करारमा २६ जना र १ जना दैनिक ज्यालादारी गरी ६२ जना स्टाफ नर्स कार्यरत रहेको पन्तले बताए।

‘तत्कालीन उपक्षेत्रीय अस्पतालअन्तर्गत यहाँ १०९ जनाको स्वीकृत दरबन्दी हो। त्यसमध्ये हाल अस्पतालमा हाल ५२ जना मात्रै कार्यरत छन्’, उनले भने, ‘अस्पतालमा ४७ पद रिक्त छ। दक्ष जनशक्ति नहुँदा अपेक्षाअनुसार गुणस्तरीय सेवा दिन सकिरहेका छैनौं।’

२०७० मा टिम अस्पताल र जिल्ला अस्पताल मिलाएर उपक्षेत्रीय अस्पताल घोषणा गरिएको यस अस्पताललाई ५ फागुन ०७५ सालमा फेरि नाम परिवर्तन गर्दै संघीय सरकारले डडेल्धुरा अस्पताल राखेको थियो। त्यतिवेला संघीय सरकारले अस्पतालाई विशेषज्ञसहितको सुविधा दिन स्तरोन्नतिसहित संघमै राख्ने निर्णय गरेको थियो।

स्तरोन्नति भएपछि विभिन्न रोगका विशेषज्ञसहितका चिकित्सक र सेवा–सुविधा संघीय सरकारले उपलब्ध गराउने निर्णय गरेको थियो। केन्द्रीय सरकारबाटै सबै अस्पतालमा ५ सय शय्याको सेवासुविधा प्राप्त हुने जनाइएको थियो।​

उपक्षेत्रीयको अस्पतालको नाम परिवर्तन गरी ‘डडेल्धुरा अस्पताल, डडेल्धुरा’ बनाइए पनि निर्णय भएको पाँच वर्ष पुग्न लाग्दासमेत न अस्पतालको स्तरोन्नति नै भयो न त अस्पतालले दरबन्दीअनुसारका चिकित्सक पायो। अहिले सामान्य ज्वरो आएका बिरामीलाई पनि धनगढी रेफर गर्नुपर्ने बाध्यता छ।

करारका स्वास्थ्यकर्मीले धानेको अस्पताल​

डडेल्धुरा अस्पतालमा अहिले करारका चिकित्सक तथा स्वास्थ्यकर्मीले धानेको छ। यो अस्पतालमा हाल कुल २१३ जना कार्यरत छन्।

जसमा स्थायी ५२, अस्पताल विकास समितिबाट ४५, करार ११२ र दैनिक ज्यालादारीका ४ जना छन्। सेवा खस्किनुमा अस्पतालको व्यवस्थापकीय र प्रशासनिक पक्षमा पनि एक कारण रहेको सेवाग्राहीको आरोप छ।

चिकित्सक अभाव, कर्मचारीको अभाव तथा भौतिक संरचनासमेत अभावले गर्दा अस्पतालले दिनुपर्ने सेवा दिन सकिरहेको छैन। कहिले प्रदेश सरकार त कहिले विशेषज्ञसहितको सुविधा प्रदान गर्ने गरी संघीय सरकारको मातहतमा राखिएको अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा बिरामी हैरान छन्।

अस्पतालमा छैनन् ११औँ तहका मेसु

यहाँ एकजना ११औँ तहको मेडिकल सुपरिटेन्डेन्टको दरबन्दी छ तर हालसम्म यो पद रिक्त छ। अहिले आठौँ तहका निमित्त मेसु डा. चेतराज भट्टले अस्पताल सञ्चालन गरिरहेका छन्।

अस्पतालका निमित्त मेसु भट्टले विभिन्न कारणवश डडेल्धुरामा डाक्टरहरू आउन नमान्ने गरेको बताए। उनले जनअपेक्षाअनुसार गुणस्तरीय सेवा प्रवाहसहित निरन्तरता कायम राख्न, जनशक्तिलाई टिकाइ राख्न, सेवाग्राही र सरोकारवालाहरूसँग सन्तुलित व्यवहार र सन्तुष्टि प्रदान गर्नु चुनौती रहेको औंल्याए।

अस्पताल काठमाडौंदेखि टाढा हुनु, चिकित्सकलाई सेवासुविधा कम हुनुले चिकित्सक ल्याउन नसकिएको उनको भनाइ छ। विशेषज्ञ चिकित्सक ल्याउन गाह्रो र त्यसमा पनि उनीहरूलाई यहाँ टिकाइराख्न झनै गाह्रो रहेको उनले बताए।

‘एकजना डाक्टरले सबै विभाग हेर्नुपर्ने बाध्यता छ। सीमित जनशक्ति छ, कुनै डाक्टर एक दिन पनि बाहिर गए सेवा अवरुद्ध हुन्छ’, निमित्त मेसु भट्टले भने, ‘त्यसैले एउटा विभागमा कम्तीमा तीनजना डाक्टर हुनुपर्छ। समयमै भवन नबन्दा डायलासिस सेवा अवरुद्ध छ।’ उनले स्थानीय र प्रदेश सरकारले पनि अस्पताललाई आर्थिक रूपमा सहयोग गर्नुपर्ने बताए।

सेवाप्रति गुनासो

अस्पतालको सेवाप्रति यहाँका सरोकारवालाका गुनासै गुनासा छन्। शनिबार अस्पतालले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा सरोकारवालाहरूले अस्पतालको सेवाप्रति गुनासो पोखेका हुन्। उनीहरूले अस्पतालमा कार्यरत कर्मचारीले सेवाग्राहीप्रति गर्ने व्यवहार नराम्रो नभएको गुनासो गरेका छन्।

नेपाल पत्रकार महासंघका अध्यक्ष हिक्मतबहादुर सिंहले अस्पतालमा चिकित्सक नहुँदा सामान्य हात भाँचिएका बिरामीसमेत धनगढी रेफर हुनु दुःखद भएको बताए।

‘यो अस्पतालको अध्यक्ष बन्न तँछाडमछाड गरिन्छ तर चिकित्सक ल्याउन चाहिँ कसैको पहल देखिनँ’, उनले भने, ‘व्यवस्थापकीय पक्ष कमजोर छ। यसलाई राम्रो बनाउन पहल गरौँ। हामी मिडियाको क्षेत्रबाट गर्नुपर्ने सहयोग गर्छौं।’​

डडेल्धुराका नागरिक अगुवा टंक अवस्थीले अस्पतालमा बिरामीको सहजताका लागि हेल्प डेस्क स्थापन गर्नुपर्ने माग गरे। उनले चिकित्सकहरूको व्यवहार सुधार हुनुपर्ने र अस्पताललाई आफ्ना आसेपासेको भर्ती केन्द्र बनाउन नहुने बताए। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले बाहिर आफ्नो मेडिकलमा औषधि किन्न पठाउने गरेको उनको आरोप थियो।

सूचना माग्दा थुनामा

नेकपा माओवादी केन्द्र अमरगढी नगरपालिकाका नगर अध्यक्ष यादव ओझाले अस्पतालमा आफूले सूचना माग्दा थुनिएको दुखेसो पोखे।

‘सूचना अधिकारीलाई निवेदन दर्ता गराएँ। १५ औं दिन अस्पतालमा आएँ। डेढ घण्टा बसेँ तर सूचना पाइनँ’, उनले भने, ‘उल्टै सूचना माग्दा प्रहरी बोलाएर म थुनिएँ। सूचना माग गर्दा थुनिनुपर्ने अवस्था छ तर अस्पताल तोडफोड गर्नेलाई पक्राउ गरिएन।’

पारदर्शी बन्नुपर्नेमा जोड

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तरसिंह विष्टले अस्पताललाई हरेक कुरामा पारदर्शी बन्न आग्रह गरे। ‘संख्या देखाउने र राम्रो मात्रै देखाउन वार्षिक समीक्षा गर्नु हुँदैन’, उनले भने, ‘अस्पताल पारदर्शी बन्नुपर्छ। यसलाई सुधार गर्न आवश्यक छ। राजनीति थलोभन्दा पनि जनसेवाको थलो बनाउनु होला।’

नागरिक समाज डडेल्धुराका अध्यक्ष रमेश जोशीले अस्पतालको व्यवस्थापकीय पक्ष निकै कमजोर रहेको औंल्याए। ‘व्यवस्थापनसँगै प्रशासन पनि कमजोर छ। अस्पतालको बारेमा जनप्रतिनिधिहरू गम्भीर हुनुपर्छ’, उनले भने, ‘अर्को वर्षको समीक्षामा सुधार भएका कुरा आओस्, दक्ष जनशक्ति ल्याउन पहल गर्नुपर्छ, आर्थिक पारदर्शिता कायम हुनुपर्छ।’

उद्योग वाणिज्य डडेल्धुराका वाणिज्य उपाध्यक्ष खेमराज अवस्थीले पनि सेवाग्राहीले उपचार नपाएको गुनासो गरे। करारका कर्मचारी भर्ना मात्रै गरिने अस्पतालका कारण सदरमुकामको व्यवसाय समेत खस्किएको उनले स्पष्ट पारे। ‘सातै पहाडी जिल्लाका बिरामी आउने गरेकोमा अहिले सबै तराई झर्छन्। अब सेवा गुणस्तरीय बनाउनुहोस्’‚ उनले भने।​

डडेल्धुराका निमित्त प्रमुख जिल्ला अधिकारी जितेन्द्रप्रसाद ओझाले सेवाग्राहीका गुनासालाई सम्बोधन गर्दै अस्पताललाई नमुना बनाउनुपर्नेमा जोड दिए।

सेवा प्रभावकारी बनाउन सांसदको सुझाव

सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले अस्पतालले प्रभावकारी सेवा दिनुपर्ने बताइन्। ‘सेवा प्रभावकारी बनाउनुपर्छ। आगामी दिनमा बिरामीले सास्ती भोगेको खबर सुन्न नपरोस्’, उनले भनिन्, ‘डाक्टर ल्याउन पहल गरिरहेको छौँ। अस्पताल फोहर छ। अस्पतालको सरसफाइमा पनि ध्यान दिन जरुरी छ।’

उनले सूचना माग्दा नागरिक थुनिने र तोडफोड गर्नेलाई उन्मुक्ति दिने काम अस्पतालबाट हुनु नहुने बताइन्। खड्काले अस्पताललाई कम्तीमा तीन–तीन महिनामा आफूले गरेका कामको पारदर्शी रूपमा सार्वजनिक गर्न आग्रह गरिन्।​

सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीले अस्पतालको सेवा जिल्लाको पहिचानसँग जोडिएको बताए। ‘अस्पतालको गुणस्तर र विश्वसनीयता कायम गर्नुपर्ने हुन्छ। पारदर्शिता हुनुपर्छ’, प्रदेशसभा सदस्य जोशीले भने, ‘आमनागरिकले अस्पतालबाट राम्रो उपचारको अपेक्षा गरेका हुन्छ।

सोही अनुसारको सेवासुविधा हामीले दिन सक्नुपर्छ।’ उनले अस्पतालको समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए।

डाक्टर नपठाउनुमा मन्त्रालय दोषी

अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले आएका महत्त्वपूर्ण सुझावलाई आत्मसात गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए। उनले आफ्नो दोस्रो कार्यकालमा पनि अस्पतालको सेवा सुधारमा अनवरत रूपमा लागिरहेको बताए। डाक्टर नपठाउनुमा मन्त्रालय नै दोषी भएको उनको भनाइ छ।

‘अस्पतालका कमी कमजोरी सुधार गरेर जान्छौं। दोस्रो कार्यकाल चुनौतीपूर्ण छ। सबै पक्षको सुझाव र सहयोगको अपेक्षा गरेको छु’, उनले भने, ‘तीनचार महिनादेखि यहाँ भएका डाक्टर सरुवा भएर गए। डाक्टर नपठाउनुमा मन्त्रालयको दोष हो। हामीले पटकपटक पत्राचार गरेका छौँ तर डाक्टर पठाइँदैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.