|

पाल्पा : रम्भा गाउँपालिकाकी–५ की १२ वर्षीया बालिका आयुषा थापाले आत्महत्या गरिन्। आफूले भनेकै थालमा भात खान नदिएको भन्दै रिसाएकी उनले आत्महत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।​

माथागढी गाउँपालिका–१ की ८४ वर्षीया भीमकुमारी रानाले आत्महत्या गरिन्। परिवारसँग बस्दै आएकी उनले झुण्डिएर आत्महत्या गरेकी हुन्।

जिल्लामा पछिल्ला आत्महत्याका केही घटना हेर्दा निकै कहालीलाग्दा देखिन्छन्। आत्महत्याको दर बढेको छ। त्यसैमाथि कल्पना गर्नै नसकिने आत्महत्याका घटना भएको पाइन्छ।

गत एक वर्षमा जिल्लाभरि ८६ जनाले आत्महत्या गरेका छन्। पुरुष ५९ र महिला २७ जनाले आत्महत्या गरेका छन्। सबैभन्दा बढी युवाले आत्महत्या गरेका छन्। १८ देखि ४० वर्षसम्मका ३७ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए।

उनका अनुसार ५८ जना पुरुष र २७ जना महिला रहेका छन्। तीमध्ये ५ जना बालबालिका रहेका छन्। १८ वर्षभन्दा कम उमेरका ५ जना छन्। ४० वर्षदेखि माथिका ४४ जना छन्।

७७ जनाले झुण्डिएर आत्महत्या गरेका छन्। ७ जनाले विषादी सेवन गरी, एकजना आफैं घाँटी कसेर र एकजनाले हाम फालेर आत्महत्या गरेको प्रहरी उपरीक्षक शर्माले बताए।

गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म ८६ जनाले आत्महत्या गरेका हुन्।

विगत वर्षभन्दा पछिल्ला समयमा आत्महत्या गर्नेको संख्या बढेको छ। आर्थिक वर्ष २०७८।०७९ मा ७२ जनाले आत्महत्या गरेका छन्।  यस्तै २०७६।०७७ मा ७६ जनाले आत्महत्या गरेका छन्।

चरम आर्थिक अभावले आत्महत्या बढ्यो

आर्थिक अभावका कारण कतिपयले आत्महत्या गरेको पाइएको छ। कतिपयको कारोबार बिग्रनु, ऋण बढ्दै जानु, आम्दानीको स्रोत नभएर चरम आर्थिक अभाव भएपछि आत्महत्या गरेको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक शर्माले बताए।

प्रेममा असफल हुँदा आत्महत्या गरेको पनि पाइएको छ। प्रायः गरेर युवाले प्रेममा धोक पाएको भन्दै आत्महत्याको बाटो रोजेको अवस्था रहेको उनले बताए। निराशावादी भावना, अत्यधिक रिस, पारिवारिक कलह, अस्वाभाविक महत्त्वाकांक्षा, काममा असुरक्षा, असन्तुष्टि, निरन्तर दुर्व्यवहारको सामना गर्नुपर्ने अवस्था, सहन नसक्ने घटना, गम्भीर रोग, अपमानबोध, लागूऔषध सेवन, अत्यधिक मादक पदार्थ सेवन, मानसिक रोगका कारणले आत्महत्या गरेका पाइएको प्रहरी उपरीक्षक शर्माले बताए।

रहरले कसैले आत्महत्या गर्दैनन्

युनाइटेड मिशन अस्पताल तानसेन पाल्पाका सामाजिक सेवा विभागका प्रमुख पुननारायण श्रेष्ठले रहरले कसैले पनि आत्महत्या नगर्ने बताए। केही कारणले मर्न खोजिरहेका हुन्छन्। त्यसको न्यूनीकरणमा सबैले ध्यान दिन जरुरी रहेको उनले बताए।

बाँच्ने रहर सबैको हुन्छ। केही कारण लुकेको हुन सक्छ। समयमै पत्ता लगाउने कोसिस गर्नुपर्ने उनले बताए।

दुनियाँदेखि दिक्क लाग्यो, मर्न मन लागेको छ, बाँचेर के हुन्छ? के गर्न सकिन्छ र? परिवार र समाजले हेला गरे’ जस्ता कुरा गर्न थाल्यो भने त्यसलाई तत्काल परामर्श दिन आवश्यक छ। सबैभन्दा पहिला परिवारले नै यस्ता व्यक्तिलाई साथ दिएर कुरा गर्नुपर्छ। साहसी र साथ दिने खालका कुरा गर्नुपर्छ, सम्झाउनु पर्छ। परामर्शदातासँग लैजानुपर्छ।

आत्महत्या किन हुन्छ? भनेर जरामा पुग्नुपर्छ। जुन व्यक्ति निरास भएर मर्ने कुरा गरिरहेको हुन्छ। त्यसको आन्तरिक पीडाबारे बुझ्ने प्रयास गर्नुपर्छ। त्यसले बोल्न खोजेका वास्तविक पीडा सुनेर परिवार, समाज वा परामर्शदाताले परामर्श दिए बाँच्ने साहस बढ्छ।

मर्ने होइन बचाउँछौँ भनेर आड दिने मान्छे चाहिन्छ। जसले गर्दा उसको मनोबल बढेको हुन्छ। आत्महत्या गर्ने बाटो छाडेर बाँच्नका लागि विकल्प खोजेर संघर्ष गरी अगाडि बढ्ने उनले बताए।

परिवारबाट यो सम्भव नभए मनोविमर्शदातासँग लैजानुपर्ने प्रमुख श्रेष्ठले सुझाए। कोही व्यक्ति ऋण कारोबार बिग्रिएकै कारण मर्न खोजिरहेका हुन सक्छन्। परिवार, समाज र सरोकारवाला सबै निकायले उसको समस्या पहिचान गरी समाधान खोज्नतर्फ ध्यान दिन सके आत्महत्या न्यूनीकरण गर्न सकिने श्रेष्ठले बताए।7

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.