|

काठमाडौं : झन्डै ६४ लाख किशोर–किशोरी परिवार नियोजनका साधनबारे अनविज्ञ रहेकाे विभिन्‍न अध्ययनहरुले देखाएको छ। बिहीबार काठमाडौंमा आयोजित परिवार नियोजनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा परिवार स्वास्थ्य महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत अशिष रेग्मीले ४२ प्रतिशत किशोर–किशोरीलाई परिवार नियोजनका साधनबारे कुनै जानकारी नभएको बताए।  

‘यौन तथा प्रजनन र परिवार नियोजनको साधनको सेवा बारे किशोर–किशोरीहरुले सहज र मैत्रीरुपमा पाउनु पर्ने हो। तर नेपालका ४२ प्रतिशत किशोरकिशोरीहरुलाई अझै यसको बारेमा हामीले जानकारी गराउनै सकेका छैनौ। झन्डै ६४ लाख किशोर–किशोरीलाई पसका विषयमा कुनै जानकारी नभएको पछिल्लो अध्ययनले देखाएको छ,’ उनले भने। 

उनले नेपालमा ५३ प्रतिशत विवाहित महिलाले मात्रै परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको बताए। अध्ययनअनुसार २७ प्रतिशत महिलाहरु अझै पनि परिवार नियोजनका साधनको पहुँच बाहिर रहेको उनले बताए। 

परिवार नियोजनको साधनलाई सेवाग्राही मैत्री बनाउन नसक्दा महिलाहरु यसकोे प्रयोगबाट टाढा रहेको रेग्मीको भनाइ छ। ‘हामीले नियोजनको साधनलाई सेवाग्राही मैत्री बनाउन नसक्दा अझै पनि २७ प्रतिशत विवाहित महिलाहरु अझै पनि परिवार नियोजनको साधनको प्रयोगबाट टाढा छन्। ५३ प्रतिशतले परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका छन्। त्यसमा पनि १० प्रतिशतले परम्परागत साधनको प्रयोग गर्छन्।’

उनले भने,‘सरकारले हरेक नागरिकले आफ्नो इच्छा अनुसार सन्तान जन्माउने अधिकार प्राप्त गर्न सकोस् भन्‍ने उद्देश्यका साथ परिवार नियोजनको साधन सम्बन्धी चेतनामूलक कार्यक्रम संचालन गर्दै आएको छ। तर उक्त कार्यक्रम प्रभावहिन रहेको देखिन्छ त्यसैले नियोजनको साधनलाई सेवाग्राही मैत्री बनाउन चुनौती रहेको छ।’

अहिलेसम्म देशभरका ११ सय ३४ वटा स्वास्थ्य संस्थामात्र किशोर–किशोरी मैत्री स्वास्थ्य संस्था रहेको उनले बताए। डोल्पा, मुस्ताङ र मनाङका स्वास्थ्य संस्थाहरुमा किशोर–किशोरीका लागि आवश्यक कुनै पनि कार्यक्रम नरहेको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.