|

पाल्पा : पूर्वखोला गाउँपालिका–२ जल्पस्थित ढोलीमाराका किसानले सामूहिक किवी खेती गरेका छन्।

बाँझिएका जमिन भाडामा लिएर उनीहरूले किवी खेती सुरु गरेका हुन्। बसाइँसराइ गरी गाउँ छाडेर गएका परिवारको जमिन भाडामा लिएर किवी खेती गरिएको हो। २५ रोपनी जमिनमा किवी रोपिएको छ। जमिनको वार्षिक ५ हजार भाडा तिर्छन्। यहाँ करिब एक हजार विरुवा रोपिएको छ। दुई वर्षअघि रोपिएका ती विरुवाले फल दिन थालेको ढोलीमारा कबुलियती वन समूहका अध्यक्ष पहलसिंह घर्तीले बताए।

२०७१ सालतिरको कुरा हो। आफू काभ्रेपलाञ्चोक भ्रमण जाँदा किवी खेती गरेको देखेको उनले बताए। त्यहाँबाट फर्किएलगत्तै गाउँमा आएर परीक्षणका लागि १० वटा विरुवा लगाएको र ती विरुवा हुर्केर राम्रै फल फलेको उनले सुनाए। गएको वर्ष मात्रै एक क्विन्टल किवी उत्पादन भएको थियो। एक किलोलाई तीन सय रुपैयाँका दरले बिक्री गरेको घर्तीले सुनाए। खास मूल्य थाहा नभएपछि अनुमानका भरमा कम मुल्यमा बिक्री गरिएको थियो।

किवीका विरुवालाई फलामको झेंक्रे (थाँक्रो) आवश्यक पर्छ। यसको मूल्य निकै महँगो पर्छ। यसको व्यवस्था सरकारले गर्दिए किवी खेती विस्तार गर्न यहाँका किसानलाई ठूलो राहत मिल्ने घर्तीले बताए।

परीक्षणका लागि लगाइएको किवीका विरुवामा फल राम्रै फलेको देखेपछि गाउँभरिका मिलेर व्यावसायिक खेती थालेका हुन्।  ६० भन्दा बढी घरधुरी मिलेर सामूहिक रुपमा अहिले किवी खेती गरिरहेका छन्। साढे दुइ वर्षअघि रोपिएका ती विरुवाले फल दिन थालिसकेका छन्।

‘बाँझिएका बारी खन्यौं। जोत्यौं। झार र झाडी सफा गरेर किवीका विरुवा रोपेका थियौं। अहिले फलिरहेका छन्। यो देख्दा निकै खुसी लागेको छ’,  स्थानीय किसान कमला आलेले भनिन्। यस समूहमा आवद्ध भएका सबै सदस्यले किवी खेतीको स्याहार गर्छन। मलजल गर्ने देखि लिएर बेलाबेलामा गोडमेल गरिरहेको उनले सुनाइन्।

यस क्षेत्रलाई किवी पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना गाउँलेले बनाएका छन्। यहाँका अन्य जमिनमा पनि किवी खेतीको विस्तार गर्ने योजना रहेको कबुलियती वन सञ्जालका सचिव चित्र कुँवरले बताए। व्यक्तिलाई समेत किवी खेती गर्नका लागि प्रोत्साहित गर्ने प्रयास भइरहेको छ। यस क्षेत्रलाई किवी खेतीको पकेट क्षेत्र बनाउने र यहाँका सबै नागरिकलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ अगाडि बढेको कुँवरले बताए। 

एउटै बारीमा किवीसँगै तरकारी र खुर्सानी उत्पादन

किवी हुर्किरहेको बारीमा तरकारी र खुर्सानीका विरुवा पनि रोपिएको छ। यहाँ उत्पादन भएका तरकारी र खुर्सानी बिक्री भइरहेको छ। एउटै बारीमा बहुउत्पादन हुँदा आम्दानी बढेको छ। गत वर्ष ९० हजारको बन्दागोभी र काउली बेचेको अध्यक्ष घर्तीले बताए। उनकाअनुसार ५० हजारको खुर्सानी बिक्री भएको छ।

अम्रिसोबाट वार्षिक ५ लाख आम्दानी

यहाँका किसानले व्यवसायिक अम्रिसो खेती पनि गर्दै आएका छन्। ढोलीमारा कबुलियती वनमा अम्रिसो खेती गरिएको हो। २७ हेक्टर जमिनमा अमृसो खेती गरिएको छ। अम्रिसो बिक्री गरेर गत वर्ष ५ लाख आम्दानी भएको अध्यक्ष घर्तीले बताए।

उनकाअनुसार प्रतिकेजी १३० रुपैयाँमा अम्रिसो बिक्री भएको थियो। समूहमा आबद्ध सबै सदस्य मिलेर सामूहिक अम्रिसो खेती गरेको उनी बताउँछन्। अम्रिसो लिन ठेकेदारहरू गाउँमै ट्रक लिएर आउने गर्छन्। उत्पादन भएका वस्तुको बिक्री गर्नका लागि बजारको समेत समस्या नभएको घर्तीले बताए।

बनमाराले ढाकिएको वन। घाँसपात पनि राम्रोसँग उम्रिएको थिएन। रुख विरुवा केही नहुने जमिनमा अहिले अम्रिसोले हरियाली भएको छ। यहाँ अवलोकनका लागि नेपाल भित्रका पर्यटक समेत आउने गरेको स्थानीय सीमा बाह्रघरेले बताइन्। उराठ लाग्दो वन। गरिबीले सताएको गाउँ। बसाइँ सरेर जानेको संख्या दिनानुदिन बढिरहेको थियो। अहिले डाँडैभरि अम्रिसो खेती, किवी खेती, विभिन्न तरकारी उत्पादन हुँदा गाउँ निकै रमाइलो र आनन्दमय देखिएको तुलसा बस्यालले बताइन्। स्थानीय एक विद्यालयकी प्रधानाध्यापक समेत रहेकी उनले गाउँमै आर्थिकोपार्जन गर्ने अवसर मिलेपछि बसाइँसराइ रोकिएको बताइन्। 

वन कार्यालयको सहयोग

यहाँका किसानले तेजपात, टिमुर लगायतका खेतीसमेत गर्दै आएका छन्। ढोलीमारा सामुदायिक वनमा विभिन्न प्रजातिकार ४० हजारभन्दा बढी विरुवा रोपिएको छ। विरुवाको संरक्षण समूहममा आबद्ध सदस्यले गर्दै आएका छन्। जिल्ला वन कार्यालय, पूर्वखोला गाउँपालिकाले सहयोग गरेको छ।

यहाँ खेर गइरहेको वन र जमिनलाई सदुपयोग गरेर आर्थिक उपार्जनमा जोड्ने प्रयास भइरहेको जिल्ला वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराइले बताए। आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छौं। कबुलियती वन स्थापना गर्न, अम्रिसो खेती, किवी खेती गर्नका लागि वन कार्यालयले सहयोग गरेको छ। ५०० वटा किवीका विरुवा निःशुल्क उपलब्ध गराएका छौं। यहाँका किसानलाई तालिमदेखि आर्थिक तथा भौतिक सहयोग गर्दै आएको उनले बताए।  

यहाँ आउने पर्यटकलाई राख्नका लागि होमस्टेको पनि व्यवस्था छ। होमस्टे सञ्चालन र पर्यटकीय विकासका लागि आवश्यक सहजीकरण वन कार्यालयले गर्दै आएको रेञ्जर यमलाल पोखरेलले बताए। गाउँभन्दा माथि रहेको चुलिडाँडालाई पर्यटकीय स्थलका रुपमा विकास गर्नका लागि विभिन्न संरचनाहरू निर्माण भइरहेका छन्। वन कार्यालयको समन्वयमा प्रदेश सरकारले समेत बजेटको व्यवस्था गरेको उनले बताए। यहाँको किसानको आवश्यकता र मागलाई वन कार्यालयले सहजीकरण गरिरहेको पोखरेलले बताए।

एक पटक रोपिएको किवीको बोटले ४०÷५० वर्षसम्म फल दिइरहने उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.