|

झापाः दार्जिलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनका कारण सीमावर्ती झापाको काँकडभिट्टामा भारतीय पर्यटक घट्दै गएका छन्। 

दार्जिलिङमा केही समयअघिदेखि भइरहेको आन्दोलनका कारण सीमावर्ती भारतीय नक्सलवाडी, सिलिगुडी, दार्जिलिङ, खर्साङ, कालिम्पोङ, मिरिक, सिक्किम, कलकत्ता, गुजरात, बम्बईलगायतका ठाउँबाट पर्यटकहरू आउन छाडेपछि काँकडभिट्टामा पर्यटक घट्दै गएका हुन्।

पर्यटक घट्दै गएपछि झापाको काँकडभिट्टा सुनसान बन्दै गएको छ। छुट्टै गोर्खाल्याण्ड राज्यको माग गर्दै एक साता घिदेखि त्यहाँ रहेका नेपालीभाषी भारतीयले गरेको आन्दोलनका कारण सीमानाका काँकडभिट्टाका होटल तथा ट्राभल एजेन्सीमा भारतीय ग्राहक र पर्यटकको आगमन ह्वात्तै घटेको बताइएको छ। 

ट्राभल व्यवसाय नै धरापमा

भारतीय पर्यटक आउन छाडेपछि सीमामा रहेका करिब ६४ वटा ट्राभल व्यवसायीहरूको अवस्था दयनीय बन्दै गएको छ। पछिल्लो एक सातामा पर्यटक ह्वात्तै घटेको योग सहारा ट्राभल्स एण्ड टुर्सका सञ्चालक कृष्ण शर्माले बताए। ‘यहाँ दार्जिलिङ, कालेबुङ, सिक्किमलगायतका पर्यटकहरू धेरै आउने हुन्, असम, कलकत्तालगायत क्षेत्रबाट पर्यटकहरू कमै मात्रमा आउँछन्’, उनले भने, ‘अहिले पर्यटकहरू नआउँदा धेरै समस्या भएको छ।’ 

जिल्ला ट्राभल संघ, झापाका अनुसार अहिले जिल्लाभरिकै ट्राभल व्यवसायीहरूको आर्थिक कारोवार दयनीय बन्दै गएको छ। गोर्खाल्याण्ड आन्दोलनको असर ट्राभल व्यवसायमा प्रत्यक्ष देखिएको व्यवसायीहरू बताउँछन्। 

अहिले भारतीय पर्यटक नेपाल आउने र नेपाली पर्यटक भारत जाने भन्दा पनि अग्रीम टिकट रद्द गर्ने नै बढी हुने गरेको नेपाल एसोसिएसन टुर्स एण्ड ट्राभल, पूर्वाञ्चल क्षेत्रीय समितिका महासचिव उदयकुमारले बताए। ‘दार्जिलिङ जाने र त्यहाँबाट नेपाल आउन टिकट बुकिङ गर्ने त शून्य नै छ’, उनले भने, ‘अझै अगाडि टिकट बुकिङ गरेकाले पनि अब त धमाधम टिकट क्यान्सिल गर्न थाले, हाम्रो व्यवसाय नै धरापमा पर्न लाग्यो।’ जिल्लाका अधिकांश ट्राभल व्यवसाय भारतीय पर्यटकका भरमा चलेको उनले बताए।

दार्जिलिङको आन्दोलन दिनदिनै आक्रामक बन्दै गएपछि पर्यटकको आवतजावत शून्य जस्तै बनेको क्षेत्रीय होटल व्यवसायी संघ मेचीनगरका महासचिव रामबहादुर तामाङले बताए। आन्दोलनले  काँकडभिट्टा र आसपासका होटल व्यवसायीको कारोवारसमेत चौपट बनेको उनले बताए। ‘पहिला होटलहरू सबै प्याक हुने गर्थे, तर अहिले पर्यटक नै आएका छैनन्, होटलहरु खाली जस्तै छन्’, उनले भने, ‘त्यहाँको (दार्जिलिङ) आन्दोलनले हाम्रो व्यवसाय नै चौपट बन्न लाग्यो।’ उनले अहिले नै व्यवसायमा ५० देखि ६५ प्रतिशतले गिरावट आएको बताए। ‘झन आन्दोलन बढ्दै गयो भने त के होला?’, उनले भने। 

मजदुरको दैनिकीमा समेत असर

आन्दोलनका कारण मान्छेहरूको आवतजावत कम हुँदा दैनिक ज्यालादारी गरेर दैनिकी चलाउनेहरूलाई समेत असर परेको छ। विशेष गरेर झापाको काँकभिट्टाबाट भारतको सीमावर्ती पानी ट्यांकीसम्म रिक्सा चलाउनेहरूको दैनिकीमा असर परेको हो।

आन्दोलनका कारण किनमेल गर्न र घुम्न भारततर्फ जाने र भारतबाट नेपाल आउनेको संख्या दैनिक पातलिँदै जाँदा आफूहरूलाई समस्या भएको ६५ वर्षका रिक्सा चालक धीरेन राजवंशीले बताए। उनले भने, ‘के भएको छ भन्ने त मलाई थाहा छैन, तर एक्कासि मान्छे घटे, पहिला ओहोरदोहोर गर्न भ्याई नभ्याई हुन्थ्यो, अहिले काम नै छैन।’ पहिला दैनिक पाँच सय भारतीय रुपैयाँ कमाउने उनी अहिले मुस्किलले एक सय रुपैयाँ कमाउने बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.