|

चितवन : नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित कालीखोलामा गएराति गएको पहिरोमा परी मृत्यु भएका दुई प्रहरीको शव भेटिएको छ। अन्य दुईजना अझै सम्पर्कविहीन छन्।

भेटिएको शव प्रहरी सहायक निरीक्षक निश्चल तामाङ र जवान दीपक मास्केको रहेको पुष्टि भएको छ। चितवन प्रहरीका अनुसार प्रहरी जवानद्वय सन्दीप कार्की र लिलबहादुर चेपाङ अझै बेपत्ता छन्।

राति करिब १ बजे कालीखोलामा खसेको पहिरोले प्रहरीको भ्यान र ट्रक त्रिशुलीमा खसालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए। प्रहरी भ्यान पानीमै डुबेको छ भने ट्रक छेउमा रहेको देखिएको छ।

नेपाली सेना, जनपद प्रहरी र कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद उद्धार टोलीसमेत घटनास्थलमा पुगेर पहिरो पन्छाउन तथा सम्पर्कविहीन प्रहरी जवानको खोजी गर्न लागिपरेको छ। यद्यपी पहिरो खस्नेक्रम जारी रहेकाले पहिरो पन्छाउन कठिनाइ भएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए।

ट्रक चालकलाई भने सकुशल उद्धार गरिएको छ। सहचालकको समेत उद्धार गरिए पनि उनी गम्भीर अवस्थामा छन्।

मुग्लिन प्रहरीका अनुसार राति ९ बजे पनि उक्त सडकमा पहिरो खसेको थियो। सो पहिरो पन्छाएर प्रहरी टोली सडक गस्तीमै रहेका बेला अर्को पहिरो खसेको हो। घटनास्थल मुग्लिनबाट तीन किलोमिटर नारायणगढतर्फ पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.