|

गण्डकी : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत बुधबार प्रदेशसभा सदस्यले राखेको प्रश्न जवाफ दिए। प्रदेश सभाका ९ सदस्यले राखेका प्रश्नको जवाफ उनले दिए। 

यससँगै गण्डकी प्रदेशमा पनि अब संघीय संसदमा प्रधानमन्त्री र मन्त्रीसँग सांसदले गर्ने गरेको सवाल–जवाफको अभ्यास मुख्यमन्त्री र प्रदेशसभा सदस्यका बीचमा पनि शुरु भएको हो।

प्रदेशसभा नियमावली, २०८० को परिच्छेद ९ मा मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था गरिएको छ। परिच्छेदको ५६ मा मुख्यमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्षरूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले सामान्यतया प्रत्येक महिनाको पहिलो हप्ताको कुनै दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गरिने विषय उल्लेख गरिएको छ। यस नियमअन्तर्गत प्रश्न गर्दा एक दिनको बैठकमा बढीमा १० सदस्यले मात्र प्रश्न सोध्न सक्ने उल्लेख छ।

प्रदेशसभा नियमावली, २०८० मा भएको व्यवस्थाअनुसार नै गण्डकी प्रदेशसभामा प्रश्नोत्तरको अभ्यास सुरु भएको गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्याल बताउँछिन्। नियमावलीको परिच्छेद ८ मा प्रदेश सरकारको कार्यक्षेत्र एवं उत्तरदायित्वभित्रको सार्वजनिक महत्वको कुनै पनि विषयमा बैठकमा प्रश्न सोध्न सकिने उल्लेख गरिएको छ। सभाको अधिवेशन प्रारम्भ भएपछि प्रश्न दर्ता गर्न सकिने र त्यस्तो प्रश्न संविधान तथा प्रचलित कानूनको भावना एवं संसदीय मर्यादा एवं अभ्यासको प्रतिकुल हुन नहुने नियमावलीमा उल्लेख छ।

नियमावलीको नियम ४८ मा प्रश्न गर्न नपाइने विषय उल्लेख गरिएको छ। जसअनुसार संविधान वा प्रचलित कानुनबाट प्रकाशन निषेध गरिएको विषय, स्वभावतः गोप्य रहने कुरा वा प्रकाशन गर्दा राष्ट्रिय हितविपरीत हुन जाने मन्त्रिपरिषद्को कुनै निर्णय वा कारबाही, सभा वा कुनै समितिको निर्णयको आलोचना गरिएको विषयमा प्रश्न गर्न नपाइने उल्लेख छ। त्यस्तै चालु अधिवेशनमा छलफलद्वारा स्पष्ट भइसकेको विषय, प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रचारका लागि कुनै व्यक्ति वा संस्थाको नाम आदि भएको विषयमा पनि प्रश्न गर्न नपाइने भनिएको छ।

लोकतान्त्रिक व्यवस्थालाई अझै प्रभावकारी बनाउन यो अभ्यास महत्त्वपूर्ण भएको प्रवक्ता अर्याल बताउँछिन्। यो व्यवस्थासँगै प्रदेश सभामा कुनै पनि महत्त्वपूर्ण विषय एवं सम्बोधनमाथि प्रश्न गर्न सकिने र त्यसको सम्बन्धित मुख्यमन्त्री वा मन्त्रीले जवाफ दिनुपर्ने परिपाटी थालनी भएको छ।

सरकार मुख्यमन्त्री एवं मन्त्रीसँग गरिने प्रत्यक्ष प्रश्नोत्तरले प्रदेशसभाको गरिमालाई अझै उँचो बनाउने प्रदेश सभाका सदस्य कृष्णप्रसाद पाठक बताउँछन्। यो दोस्रो कार्यकाल भए पनि मुलुक प्रादेशिक सरकारको अभ्यासमै छ र प्रारम्भिक चरणमा गरिएका यस्ता अभ्यासले आगामी दिनमा देशमा प्रदेश सरकारको महत्व र आवश्यकतालाई पूर्ति गर्नुका साथै संघीय सरकारले जस्तै यसले पनि पूर्णरूपमा आफ्नो संसदीय अभ्यासलाई अघि बढाउन सक्ने धारणा राखे। 

‘यो प्रश्नोत्तरको व्यवस्थाले कार्यपालिकालाई व्यवस्थापिकाप्रति थप जिम्मेवार बनाउन पनि विशिष्ट भूमिका खेल्छ’, उनले भने, ‘यो अभ्यास प्रत्येक प्रदेशसभा सदस्यलाई आफ्ना मतदाता, आम सर्वसाधारण एवं समाज र राष्ट्रका सन्दर्भमा नागरिकका आवश्यकता र चासोका विषय उठाउने र प्रदेश सरकारका प्रमुखबाटै जनताले आफ्ना सरोकारका विषयमा जवाफ प्राप्त गर्न पाउने एक पारदर्शी अवसरका रूपमा पनि स्थापित हुनेछ।’

नियमावलीले व्यवस्था गरेअनुसार आगामी दिनमा प्रश्नोत्तरको कार्यलाई नियमितरूपमा सञ्चालन गरिने गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले बताए। यो व्यवस्थाले प्रदेशसभाको गरिमालाई पनि उचो बनाउन थप सहयोग गर्ने र सम्बन्धित मन्त्रीलाई पनि यसले जिम्मेवार बनाउने बताए। ‘यसले सम्बन्धित मन्त्रीलाई बोल्ने क्रममा तयारी गरेर आउनका लागि पनि जिम्मेवार बनाएको छ’, उनले भने। यसबाट मन्त्री तथा प्रदेशसभा सदस्यहरू आफ्ना चासो र आवश्यकताका विषयमा अद्यावधिक रहने, जानकारी राख्ने र नागरिकलाई जवाफ दिनुपर्छ भन्ने जिम्मेवारीको बोध गराउने सभामुखको भनाइ छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.