|

काठमाडौं : सरकारले यस पटक विद्यार्थीको दिवा खाजा कटौती गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता वशन्तप्रसाद कोइरालाले यसअघि कक्षा-६ सम्म दिइँदै आएको खाजा यस वर्ष कक्षा ५ सम्मलाई मात्रै पुग्ने गरी स्थानीय तहमा रकम पठाइसकेको जानकारी दिए।

सरकारले चालु आव ०८०/८१ मा सरकारी (सामुदायिक) विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिन ८ अर्ब ४५ करोड विनियोजन गरेको छ। अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट सार्वजनिक गर्दै यसबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने बताएका थिए।

तर यति रकमले कक्षा-५ सम्मलाई मात्रै पुग्ने शिक्षा मन्त्रालयले जनाएको छ। शिक्षा मन्त्रालयका अनुसार करिब १ अर्ब बजेट अपुग छ। कक्षा-६ सम्म नै खाजाको व्यवस्था माग गर्दै शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयलाई अनुरोध गरे पनि हालसम्म अर्थ मन्त्रालयले केही जवाफ दिएको छैन।

सरकारले दिवा खाजा कटौती गरे पनि काठमाडौं उपत्यकाका केही स्थानीय तहहरूले भने आफैँ रकम निकासा गरेर थप दिवा खाजा कार्यक्रम विस्तार गरेका छन्। काठमाडौं महानगरपालिकाले यस वर्षदेखि कक्षा-१० सम्मलाई दिवा खाजा दिने भएको छ।

महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकारी तारापति खरेलका अनुसार यसअघि कक्षा ८ सम्म महानगरपालिकाले खाजा दिएको थियो। ‘यस वर्ष महानगरपालिकाले कक्षा १० सम्मलाई नै दिवा खाजा दिने भएको छ,’ उनले भने। 

दैनिक प्रति विद्यार्थी ३० रूपैयाँ

दिवा खाजा व्यवस्थापनका लागि संघीय सरकारबाट सशर्त अनुदानको व्यवस्था भएपछि कर्णालीका मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालिकोट जिल्लाका स्थानीय तहले प्रति विद्यार्थी दैनिक २० रूपैयाँका दरले तथा अन्य स्थानीय तहले प्रति विद्यार्थी दैनिक १५ रूपैयाँ दरले दिँदै आएका छन्।

तर काठमाडौं महानगरपालिकाले भने प्रति विद्यार्थी दैनिक ३० रूपैयाँका दरले रकम छुट्याएको महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकारी खरेलले जानकारी दिए। उनका अनुसार यसअघि संघीय सरकारबाट दिएको १५ रूपैयाँ र महानगरले १० रूपैयाँ थपेर प्रति विद्यार्थी दैनिक २५ रूपैयाँ दिइँदै आएको थियो।

‘यसवर्ष ३० रूपैयाँका दरले खाजाको व्यवस्था गरिएको छ,’ उनले भने। महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कक्षा १० सम्म खाजा विस्तार गर्न २२ देखि २५ करोडसम्म बजेट लाग्ने उनले बताए। 

ललितपुरमा कक्षा ६ सम्मै दिइने

ललितपुर महानगरपालिकाले बजेट घटेर आए पनि पहिलाजस्तै कक्षा-६ सम्म नै दिवा खाजा दिने गरी बजेट व्यवस्थापन गरेको छ। महानगरपालिकाका सूचना अधिकारी देवप्रसाद गुरागाईका अनुसार यसका लागि महानगरपालिकाले २ करोड १० लाख बजेट छुट्याएको छ।

‘सरकारले कक्षा-५ सम्मलाई मात्रै रकम विनियोजन गरेको छ तर हाम्रो योजना चाहीँ कक्षा-६ सम्म नै दिने छ,’ उनले भने। उनका अनुसार प्रति दैनिक १० रूपैयाँ थपेर २५ रूपैयाँ उपलब्ध गराउनेछ। 

भक्तपुरमा छलफल हुँदै

भक्तपुर नगरपालिकाले भने दिवा खाजाको विषयमा अझै निर्णय नभएको जनाएको छ।

नगरपालिका शिक्षा शाखाका प्रमुख कृष्णप्रसाद कर्मचार्यले छलफल भने भएको तर निर्णय नभएको बताए। ‘यस विषयमा केही निर्णय भएको छैन, संघीय सरकारले जतिसम्म उपलब्ध गराएको छ, त्यति नै होला, पछि केही निर्णय पनि हुनसक्छ,’ उनले भने। 

मध्यपुर थिमि नगरपालिकाले दिवा खाजा विस्तार नगर्ने

मध्यपुर थिमि नगरपालिकाले थप दिवा खाजा कार्यक्रम विस्तार नगर्ने भएको छ। नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत ज्ञानेन्द्रप्रसाद भट्टले कक्षा-५ सम्मलाई मात्रै दिवा खाजा दिइने बताए।

‘हामीले पहिला जस्तै कक्षा-६ सम्मको लागि सरकारले बजेट दिन्छ होला भन्ने सोच्यौं, पछि पो कक्षा-५ का लागि मात्रै भन्यो, त्यही भएर बजेटको व्यवस्था गरिएन, अब कक्षा-५ सम्मलाई मात्रै दिवा खाजाको व्यवस्था हुन्छ,’ उनले भने।

उनले नगरपालिकाले थप १५ रूपैयाँ थपेर दैनिक प्रति विद्यार्थी ३० रूपैयाँका दरले रकम उपलब्ध गराउँदै आएको बताए।

चन्द्रागिरिमा छैन टुंगो

चन्द्रागिरि नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका वरिष्ठ शाखा अधिकृत बुद्धिप्रसाद भट्टले कक्षा-६ सम्म दिवा खाजा दिनेबारे केही हालसम्म तयारी नभएको जानकारी दिए।

‘अहिलेसम्म नगरपालिकाले केही चासो देखाएको छैन, अब सरकारले जति कक्षाका लागि रकम उपलब्ध गराएको छ, त्यही कक्षासम्मलाई मात्रै दिवा खाजा दिइन्छ,’ उनले भने।

गोकर्णेश्वरले पनि कक्षा ५ सम्मलाई मात्रै खाजा दिने

गोकर्णेश्वर नगरपालिकाले पनि दिवा खाजा थप्ने योजना बनाएको छैन। नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले थप कक्षामा खाजा दिनेबारे केही निर्णय नभएको बताए।

‘दिवा खाजा थप विस्तार गर्ने भन्ने केही योजना छैन, अब सरकारले जति कक्षालाई बजेट छुट्याएको छ, त्यति कक्षालाई मात्रै हुन्छ,’ उनले भने। 

सरकारी (सामुदायिक) विद्यालयमा दिवा खाजा मापदण्ड तथा कार्यक्रम सहजीकरण पुस्तिका, २०७६ अनुसार दिवा खाजा कार्यक्रमको सुरूवात विसं १९६४ देखि सुरू भएको हो। त्यस बेला ३७ जिल्लामा सुरू भएको थियो। हाल ७७ वटा जिल्लामै दिवा खाजा कार्यक्रम सञ्चालन भएको छ।

सरकारले कम्तीमा ३० प्रतिशत पोषण परिपूरक हुने विविधतामूलक आहार उपलब्ध गराएर विद्यालयमा बालबालिकाको स्वास्थ्य र पोषण स्थिति सुधार गर्ने, शिक्षण सिकाइमा बालबालिकाको सहभागिता वृद्धि र सिकाइ सुधार गर्नेलगायत उद्देश्यले यो कार्यक्रम सुरू गरेको हो।

सरकारले दिवा खाजामा जंक फुड दिन नपाइने व्यवस्था गरेसँगै पछिल्लो समय दिवा खाजामा स्थानीय तहमा उत्पादित परिकारसँगै फलफूल खुवाउन थालेका छन्। 

(याे पनि)


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.