|

जुम्ला : स्वायत्त कर्णाली राज्यको माग गर्दै कर्णाली आन्दोलनमा  सहिद भएका हरिबहादुर कुँवरको  शालिक राख्ने  जग्गा भेटिएको छैन। कुँवरको  कर्णाली आन्दोलनमा गोली लागी निधन  भएको थियो।

उनको निधन भएपछि जुम्लाका राजनीतिक दल, स्थानीय प्रशासन, नागरिक समाजको बैठकले उनलाई गोली लागेको स्थान मुख्य बजारनजिक शालिक राख्ने निर्णय भएको थियो। तर, जग्गा प्राप्ति नभएपछि कुँवरको शालिक निर्माण भए पनि स्थान नहुँदा काठमाडौंमै थन्किएको हो।

हरिबहादुर कुँवरलाई २०७३ साल भदौ १ गते बसेको मन्त्रिपरिषद बैठकले सहिद घोषणा गरेको थियो।

त्यसबेलाको निणर्यअनुसार जिल्ला प्रशासन कार्यालयको अगाडिदेखि नवनिर्मित उद्योग उपभोक्ता तथा हित संरक्षण कार्यालय भएको ठाउमा राख्ने भनिएको थियो।

त्यहाँ अहिले ठूलो सरकारी भवन बनेको छ। त्यस्तै, सहिद कुँवरका दाजु राजबहादुर कुँवरका अनुसार १३ लाख लगानीमा काठमाडौंमा सालिक तयार भइसकेको छ। तर, राख्‍नको लागि स्थान टुंगो नलाग्दा सालिक उतै थन्किएको छ। 

त्यस्तै प्रदेश संरचना निर्धारणको समयमा २०७२ साल साउन २२ गते शीर्ष दलले शुरुवाती चरणमा ६ प्रदेशको संरचना निर्धारण गर्दा कर्णालीमा उर्लिएको आन्दोलनले जन्माएको कान्छो प्रदेश कर्णाली हो।

जुम्लासहित माथिल्लो कर्णाली र सुर्खेत सहित भेरी क्षेत्रमा चर्किएको आन्दोलनपछिको ४ जनाको वलिदानीले सरकारले सातौँ प्रदेश कर्णाली प्रदेशको घोषणा गर्‍यो।

सोही आन्दोलनको क्रममा जुम्लाका हरिबहादुर कुँवरलाई साउन ३१ गते गोली लागेर गम्भिर घाईते भई भदौ ६ गते आजकै दिन उपचारको क्रममा काठमाडौंको शिक्षण अस्पताल महाराजगंजमा निधन भएको थियो।

सुर्खेतमा पनि चर्किएको आन्दोलनमा ३ जनाको निधन भएको थियो। सरकारले उनीहरुलाई सहिद त घोषणा गरेको छ तर सहिदको बलिदानीको उद्देश्य के हो भन्ने विषयमा ध्यान नदिएको उनका दाजु राजबहादुर कुँवरले बताए।

त्यस्तै प्रदेश सांसद देवेन्द्रबहादुर शाहीले सहिदको सम्झनाका विषयमा के गर्नुपर्ने हो, त्यो बिषयमा सवै मिलेर अगाडि बढ्नुपर्ने बताउँछन्।

कुवरको नामको निर्माणन पुस्तकालय पनि अलपत्र

कुँवरको सम्झनामा निर्माणाधिन पुस्तकालयको भवन रकम अभावमा अलपत्र अवस्थामा रहेको छ।

सहिद हरिबहादुर कुँवर कर्णाली प्रतिष्ठानका सचिव धनबहादुर रोकायाका अनुसार कर्णाली प्रदेश सरकारको सहयोगमा  ४० लाखमा दुई किस्तामा पुस्तकालयको काम भएको छ। तर पछिल्लो समयमा रकम व्यवस्थापन नहुँदा भवन निर्माण हुन नसकेको उनी बताउँछन्। उनका अनुसार क्रमागत बजेट पनि के भयो थाहा भएन।

तातोपानी गाउँपालिका ७ (साविक) ताम्ति गाविस १ निवासी कुँवरको जन्मघर सर्मिमा निर्माणाधीन अवस्थामा रहेको पुस्तकालय अलपत्र अवस्थामा रहेको हो।

सहिद हरिबहादुरको बहुउद्देश्यीय स्मृति पुस्तकालयको लक्ष्य लिइएको उक्त अलपत्र भवन तल्लो तला वाचनालय, दोस्रो तला पुस्तकालय र तेस्रो तला कार्यालय गरी रु एक करोड ३६ लाखको डिपिआर समेत रहेको र अनुसारको बजेट अभाव भएको स्मृति प्रतिष्ठानका सचिव रोकायाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.