|

दमौली : क्रिकेट खेलतर्फ युवाको आकर्षण बढेसँगै तनहुँमा खेल मैदानको खोजी गर्न थालिएको छ। यसका लागि तनहुँ जिल्ला क्रिकेट संघले नेतृत्व लिएको छ। 

व्यास नगरपालिका–५ पाटनस्थित खेलमैदानलाई क्रिकेट मैदानको रूपमा विकास गर्न गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको नेतृत्वमा स्थलगत निरीक्षण गरिएको छ। खेलप्रति आकर्षण बढ्ने तर मैदान नहुँदा समस्या भएकाले क्रिकेट खेलमैदानको पूर्वाधार निर्माण गर्न लागिएको तनहुँ क्रिकेट संघका अध्यक्ष मदन तिमिल्सिनाले जानकारी दिए। 

‘जिल्लामा क्रिकेटका गतिविधि विस्तारै बढ्दै छ, यसतर्फ खेलाडी आकर्षित भइरहेका छन्। तर मैदान नहुँदा प्रतियोगिता गर्न समस्या भइरहेको छ’, उनले भने। राम्रो खेलमैदान निर्माण गर्न सकिए क्रिकेटको विकासमा टेवा पुग्ने उनको भनाइ छ । 

नेपाल क्रिकेट संघ केन्द्रीय समिति र गण्डकी प्रादेशिक क्रिकेट संघले जिल्लामा मैदानको पूर्वाधार निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष तिमिल्सिनाले बताए। 

खेलमैदान नहुँदा खेलाडीले खेल प्रस्फुटन गर्ने अवसर नपाएको दमौलीका कविराज श्रेष्ठले बताए। ‘देशले पछिल्लो समय क्रिकेटमा ठूलो प्रगति गरेको छ, त्यसकै कारण पनि यहाँ खेलप्रति आकर्षण बढिरहेको छ’, उनले भने।

खेलाडी चन्द्रकान्त पौडेलले जिल्लामा क्रिकेट खेल्नका लागि एउटा राम्रो मैदान नभएको र सम्बन्धित निकायले पनि यसतर्फ पहल नगरेको गुनासो गरे। 

दमौली पेलिकन्स क्लबले वेला–वेलामा क्लबस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिरहेको छ। खेल मैदानकै अभावमा क्लबले व्यास–५ पाटन फुटबल मैदानमा क्रिकेट गर्दै आइरहेको छ । ‘क्रिकेटमा राम्रो सम्भावना छ तर पर्याप्त लगानी हुन सकिरहेको छैन । यसतर्फ सरोकारवालाको ध्यान जान जरुरी छ’, उनले भने। 

तनहुँ क्रिकेट संघका  पूर्वअध्यक्ष ताराराम श्रेष्ठले क्रिकेटतर्फ आकर्षण बढे पनि पूर्वाधार अभाव रहेको बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.