|

ताप्लेजुङ : ताप्लेजुङ गोल्डकप प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ।  २०२९ सालदेखि लाखेजात्राका समयमा यो प्रतियोगिता आयोजना हुने गरेको छ। 

फुटबल प्रतियोगिता कोभिड–१९ महामारीलगायत कारण तीनवर्षदेखि रोकिएको थियो। यो वर्षको प्रतियोगितामा घरेलु मानाभारा क्लबसहित आठ टोली सहभागी हुँदैछन् । घरेलु टोलीले उद्घाटन खेलमा जुट विकास फुटबल क्लब इटहरीसँग प्रतिस्पर्धा गर्नेछ। 

यस्तै पाँचथरबाट फिदिम स्पोर्टस् क्लब, इलामबाट रेडहर्स क्लब, झापाबाट गोर्खा स्पोर्टस् क्लब र रेडस्टार क्लबले सहभागिता जनाउँदैछन् । मोरङबाट पथरी फुटबल क्लब, सुनसरीबाट जुट विकास फुटबल क्लब र भारतको दार्जिलिङबाट युनाइटेड खर्साङ क्लबको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए। 

प्रतियोगिताको विजेताले तीन लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले एक लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने छ । प्रतियोगिता सञ्चालन गर्न खेलमैदान र प्यारापिट तयार गरिएको अध्यक्ष गुरुङले बताए। 

लाखेजात्रासँगैको खेलकुदका माध्यमबाट जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने, बजारलाई चलायमान बनाउने, नयाँ प्रतिभाको खोजी गर्ने, अग्रजको सम्मान र इतिहासलाई बचाइराख्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.