|
प्रतीकात्मक तस्विर

महोत्तरी : मिथिलाक्षेत्रमा आज श्रीकृष्ण जन्माष्टमी पर्वको उल्लास छ। 

महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका प्रत्येकजसो गाउँ/नगर बस्तीमा श्रीकृष्णका प्रतिमा स्थापित गरिएका छन्। 
श्रीकृष्ण जन्मोत्सवमा भदौ कृष्ण अष्टमी तिथि शुरु भएपछि व्रत बस्ने र मध्यरातमा श्रीकृष्ण जन्मेको मान्यताअनुसार मंगलगान गर्दै व्रत समापन गर्ने परम्परा छ। पर्वमा बस्तीपिच्छेजस्तो स्थापित गरिएका श्रीकृष्ण प्रतिमामा अष्टमीको मध्यरात भएपछि आँखा खोलेर (माटाका मूर्तिमा आँखा कोट्याएर खोल्ने) जन्मोत्सव मनाइने चलन रहेको जलेश्वर–४ सुगाभवानीपट्टीका धीरेन्द्र रायले बताए।

जन्मोत्सवमा श्रीकृष्ण जन्मलीला नाटक प्रस्तुत गर्ने चलन छ। मथुरा (हाल भारतको उत्तरप्रदेशमा पर्ने प्रसिद्ध नगर) कारागारमा रहेका वासुदेव–देवकीका आठौँ सन्तान मानिने श्रीकृष्ण जन्मनासाथ सबै सुरक्षाकर्मी लट्टिएर सुतेका र सो बेला सबै द्वार आफैँ खुलेका श्रीमद्भागवतमा वर्णन छ। मथुराका तत्कालीन राजा कंशको प्रहारबाट बचाउन राति नै वासुदेवले श्रीकृष्णलाई बोकेर गोकुल बस्तीका ग्वालराज नन्दकी रानी यशोदाको काखमा राखी दिएर त्यहाँ जन्मिएकी कन्या लिएर कारागार फर्केका शास्त्रीय कथा भन्ने, सुन्ने गरिन्छ।

श्रीकृष्ण हिन्दू परम्परामा सोह्रै कलायुक्त श्रीविष्णुका अवतार मानिन्छन्। दुष्टको संहार गर्ने र सत्यको पक्षमा उभिन सबैलाई प्रेरित गर्ने श्रीकृष्णलाई सम्झिँदै पर्वको अवसरमा कंशवध, गोकुलका बाललीला, गोवर्धन पर्वत पूजा परम्परासहितका नाटक कतिपय ठाउँमा आयोजित छन्। मिथिलामा श्रीकृष्ण जन्माष्टमी मेला (जात्रा) परम्परा छ। पर्व माटाका मूर्ति बनाउने पेसाका कुम्हाल र त्यो सिपका सर्वसाधारणका लागि आर्जनको अवसर पनि रहँदै आएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.