|

लहान : सिरहाको सुखीपुर नगरपालिका ८ स्थित घरबाट हराइरहेका बालक आइतबार मृत अवस्थामा भेटिएका छन् । स्थानीय श्याम साहका ९ वर्षीय छोरा विकास साहको शव गाउँ नजिकै रहेको पोखरीमा तैरिरहेको अवस्थामा भेटिएको हो।

गएको बिहीबार बिहान ९ बजेतिर घरबाट हराएका विकासको खोजतलासका लागि हजुरबा शिवजी साहले इलाका प्रहरी कार्यालय सुखीपुरमा उजुरी गरेपछि खोजी गरिरहेकै अवस्थामा पोखरीमा मृत अवस्थामा भेटिएको प्रहरी नायव निरीक्षक सुदर्शन दासले जानकारी दिए।

२०७२ को भूकम्पको बेला बाबुसँग काठमाडौंमै रहेका उनको त्यति बेलादेखि नै मानसिक सन्तुलन बिग्रिएको पारिवारिक स्रोतले जनाएको छ। भूकम्पपछि घर आएका उनी बेला बेलामा घरबाट हराइरहने गरेको जनाइएको छ। मृतक साहको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको छ।

हत्याको आशङ्का

मानसिक सन्तुलन गुमाएका भएपनि अघिपछि ज्यानै जोखिममा पार्ने गरी कुनै गतिविधि नगरेकाले उनको हत्या गरेर पोखरीमा फालेको हुन सक्ने स्थानीय बासिन्दाको आशङ्का रहेको छ। पत्रकार समेत रहेका स्थानीय कृष्णमोहन चौधरीले बालकको मानसिक सन्तुलन बिग्रिएकाले आशङ्का नगर्ने विश्वाससहित कसैले हत्या गरेर पोखरीमा फालेको हुन सक्ने बताए। इलाका प्रहरी कार्यालय सुखीपुरले भने मृतकको पोष्टमार्टम प्रतिवेदन नआएसम्म केही भन्न नसकिने जनाएको छ।

चार दिनमा तीन शव भेटिए

पछिल्लो चार दिनको अवधिमा विकाससहित सिरहामा दुई र सप्तरीमा एक जनाको शव भेटिएको छ। सप्तरीको सुरुङ्गा नगरपालिका ३ दौलतपुर विषनरियामा विदेश जाने तयारीमा रहेका स्थानीय १९ वर्षीय फूलचनकुमार मण्डलको शव बिहीबार बिहान घर नजिकै भेटिएको थियो भने शुक्रबार बिहान लहान नगरपालिका १ सिङ्ग्राही गाउँ नजिकै करिब ३० वर्षीया महिलाको विभत्स ढङ्गले हत्या गरिएको अवस्थामा शव भेटिएको थियो।

उनको शरीरमा लुगा समेत नरहेकाले बलात्कारपछि टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरेको हुन सक्ने अनुमान गरिएको भएपनि प्रहरीले त्यसको पुष्टि भने गरेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.