|

रुपन्देही : चुनाव प्रचारको अन्तिम दिन आइतबार प्रमुख दलले रुपन्देहीमा शक्ति प्रदर्शनसँगै चुनाव प्रचार सभा गरेका छन्। मौन अवधि सुरु हुनुअघि कांग्रेस–माओवादी गठबन्धन र एमालेले पार्टीका शीर्ष नेताहरुलाई ल्याएर छुट्टाछुट्टै सभा गरे। बुटवल, तिलोत्तमा र सिद्धार्थनगरमा मुख्य दलले शक्ति प्रदर्शनसहितका सभा गरे।

एमाले अध्यक्ष केपी शर्मा ओली रुपन्देहीका २ कार्यक्रममा सहभागी भएका छन् भने  कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि दुई वटा कार्यक्रममा सहभागी भए। ओली र पौडेलले बुटवल उपमहानगर र तिलोत्तमा नगरका आफ्ना पार्टीका कार्यक्रममा सहभागी भए।

यस्तै माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य चन्द्रप्रकाश खनाल बलदेवले पनि दुई वटा कार्यक्रममा सहभागिता जनाए। उनले बुटवलमा गठबन्धनको सभा र सिद्धार्थनगरमा माओवादी केन्द्रको सभालाई सम्बोधन गरे।

बुटवलका उम्मेदवारलाई ओलीले लगाइदिए माला

एमाले अध्यक्ष केपी ओलीले बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा आयोजित सभालाई सम्बोधन गरे। उनले सम्बोधनका क्रममा अधिकांश समय कांग्रेस–माओवादी गठबन्धनको आलोचनामा खर्चिए भने केही आश्वासनहरु पनि दिए।

‘कांग्रेसले माओवादीको वैशाखी टेकेर चुनाबमा आएको छ, यो पार्टी बुढो भइसक्यो, यसले केही  गर्न सक्दैन’ उनले प्रष्ट्याउन खोजे ‘उमेर पुगेका बुढाहरुसँग कुरा गर्दा सुनिन्छ नि त्यो त मैले यसो गर्न सक्थेँ, उसो गर्न सक्थेँ भनेको, तर उनीहरुले अहिले त सक्दैनन् नि, हो, कांग्रेस पनि यस्तो भयो, उहिले सक्थ्यो, अहिले बुढो भयो, बुढो रुखले के गर्ला?’

उनले एमालेले बुटवलमा जिते बुटवललाई महानगरपालिका बनाउने बताए। ओलीले भाषण गर्दैगर्दा सांकेतिक हिसाबले जितेको घोषणा गर्ने भन्दै प्रमुख र उपप्रमुखका उम्मेदवारहरु शिवराज सुवेदी र गोमादेवी आचार्यलाई माला लगाइदिएका थिए। उनले माला लगाइसकेपछि अरुले जित्नै नसक्ने दाबी गरे।

कांर्यक्रममा बोल्दै एमाले उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसालले बुटवलमा एमालेले सहजै चुनाव जित्ने बताए। बुटवल उपमहानगरका प्रमुखका उम्मेदवार शिवराज सुवेदीले बुटवलका जनताले आफुलाई प्रमुख भएको देख्न चाहेको बताए। उपप्रमुखकी उम्मेदवार गोमादेवी आचार्यले महिलाहरुको साथका कारण चुनाव जित्ने बताइन्।

कांग्रेस र माओवादीको संयुक्त सभा

बुटवलमा तालमेल गरेर चुनाव लडेका कांग्रेस र माओवादीले पनि शक्ति प्रदर्शनसहित चुनाबी सभा गरे। सभालाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेको उखान टुक्काले चुनाव नजित्ने बताए।

‘उखान टुक्का हालेर चुनाव जितिदैन, अब कांग्रेस पहिलो पार्टी हुन्छ, बुटवलमा पनि कांग्रेस र माओवादी गठबन्धनले चुनाव जित्छ, यो १४ गतेपछिको नतिजाले नै देखाउनेछ',उनले भने। उनले एमालेले प्रचारमुखी राजनीति गरेको बताउँदै व्यवहारिक राजनीति गर्न सुझाव दिए। ‘उहाँहरुले अहिलेसम्म कामभन्दा पनि बढी प्रचार गर्नुभएको छ',पौडेलले भने ‘अब जनता नझुक्याउनुस्, कुराभन्दा बढी काम गर्नुस्, जनता एकैछिन झुक्किएलान्, सधैभर यस्तो चल्दैन।’

केन्द्रीय सदस्य बालकृष्ण खाँणले रुपन्देहीमा कांग्रेसको राम्रो नतिजा आउने बताए। माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य चन्द्रप्रकाश खनाल बलदेवले माओवादी र कांग्रेसको गठबन्धन निरन्तर रहने भएकाले तालमेललाई सहज रुपमा लिन आग्रह गरे। कांग्रेसका नेता धनराज गुरुङले एमालेको भ्रमको राजनीति धेरै नटिक्ने बताए।

कार्यक्रममा बोल्दै कांग्रेस–माओवादी गठबन्धनका बुटवल उपमहानगरका प्रमुख पदका उम्मेदवार खेलराज पाण्डेले आफुले आश्वासनको राजनीति नगर्ने बताउँदै बुटवललाई सून्दर र साझा नगर बनाउने बताए। उपप्रमुखका उम्मेदवार जगतबहादुर पोखरेलले गठबन्धनलाई विजयी बनाउन आह्वान गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.