|

लहान : वर्षा लागेसँगै सिरहामा झाडापखालाको प्रकोप फैलिएको छ। जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सीतापुर प्रधको देवाडी टोलमा पछिल्लो चार दिनदेखि फैलिएको झाडापखालाको प्रकोपका कारण एक वृद्ध मृत्यु भएको छ। १० जनाभन्दा बढी सिकिस्त बिरामी भएका छन्। 

झाडापखालाको कारणले साबिक सीतापुर प्रध गाविस ८ का ७० वर्षीय वृद्ध मागैन यादवको मृत्यु भएको उनको परिवारले जानकारी दिएको छ। शारीरिक रुपमा अत्यन्त कमजोर र सिकिस्त भएपछि उपचारका लागि लहान ल्याउने तयारी गरिरहेकै बेला उनको मृत्यु भएको परिवारले जनाएको छ।

मृतक मागौनकी बुहारी मलुकादेवी यादव, नातिनी नितु कुमारी यादव र सन्तोषी कुमारी यादव समेत झाडापखालाका कारण बिरामी छन्। त्यस्तै स्थानीय रामानन्द तिवारीकी श्रीमती कुमारीदेवी तिवारी, श्रीलाल सदाकी श्रीमती घुस्कीदेवी सदाय, लखन यादव, किशोरी राय, श्री प्रसाद रायका २ वर्षीया छोरी सिवानी राय लगायत बिरामी छन्। 

झाडापखालाले बिरामी परेकामध्ये सिकिस्त अवस्थामा रहेका मलुकादेवी यादव र लखनलाई लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल भर्ना गरिएको स्थानीय स्वास्थ्यकर्मी बेचु साफीले जानकारी दिए। 

जिल्ला स्वास्थ्य कार्यालय सिरहका जनस्वास्थ्य निरीक्षक मो.इद्रिसले गाउँमा झाडापखालाको प्रकोपको विषयमा सूचना पाए लगत्तै सोमबार सीतापुर प्र.ध.स्वास्थ्य चौकीका प्रमुख चन्द्रप्रसाद पण्डितको नेतृत्वमा स्वास्थ्यकर्मीहरुको टोली गाउँमा परिचालन गरिएको जानकारी दिए।

जनस्वास्थ्य निरीक्षक पण्डितले झाडापखालाको कारणले मृत्यु भएको भन्ने विषयमा थाहा नपाएको बताए। उनले बिरामीहरुको अवस्था अनुसार जनस्वास्थ्यबाट औषधि मगाएर वितरण गरिने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.