|

लहान : भरुवा बन्दुकको गोली लागेर सप्तरीमा मंगलबार साँझ एक युवती गम्भीर घाइते भएकी छन्। 

सप्तरीको कञ्चनरुप नगरपालिका ८ का कञ्चनपुरका इन्द्रबहादुर राईले आफ्नो मकैबारीमा पाठापाठी र कुखुरा खान आएको स्याल मार्न चलाएको भरुवा बन्दुकको गोली लागेर सोही नगरपालिका ६ सीतापुर बलुवाकी अन्दाजी २२ वर्षीया कविता कुमारी विश्वकर्मा घाइते भएकी हुन्।

टाउकोमा गोली लागेको उनको चिन्ताजनक अवस्थामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। मकैबारीमा घाँस काट्न गएकी उनलाई राईले चलाएको भरुवा बन्दुकको गोली लागेर घाइते भएपछि खेतबारीबाट काम गरेर घर फर्किरहेका छिमेकीहरुले उद्दार गरी प्रहरीलाई खबर गरेका थिए। 

इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी निरीक्षक डिल्लीबहादुर चौहानले भरुवा बन्दुक चलाउने राईलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.