|

बागलुङ : गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाकेको छ। दिनप्रतिदिन गाउँ छोड्नेको सङ्ख्या बढ्दै छ। 

बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका बलबहादुर केसी भने गाउँमै व्यावसायिक बाख्रापालन गरेका छन्। उहाँ पनि एक दशक बढी विदेशमा पसिना बगाएर स्वदेश फर्किएका हुन्। ‘जीवनको ऊर्जाशील समय विदेशमा बित्यो।  अहिले आफ्नै गाउँठाउँ र पाखापखेरा प्यारो लाग्न थालेको छ’, उनले भने।

बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म बाख्राको स्याहारसुसारमा देखिने केसीसँग १२ वर्ष साउदी अरबमा दुःख गरेको अनुभव छ। साउदीमा साहुको भेडा चराउने काम गरेका  उनी अहिले आफैँ मालिक बनेका छन्।

अनेक आवश्यकता र पारिवारिक जिम्मेवारीले सानै उमेरमा परदेशिनुपरेको दुःख सुनाउने केसी अहिले धेरै युवाका लागि प्रेरणाको स्रोत बनेका छन्। स्वदेशै कामको खोजी गरेर पनि नपाएपछि विदेशिएका  केसीले अहिले गाउँमा थुप्रै सम्भावना देखेका छन्। 

‘पशुपालन होस् या व्यावसायिक तरकारी खेती युवाका लागि प्रशस्त आयआर्जनको स्रोत यहीँ छ’, उनी भन्छन्। चार वर्षदेखि बाख्रापालनमा लागेका केसीगाउँमा गर्ने कामले आत्मसम्मान मिल्ने बताउँछन्। विभिन्न परिस्थितिका कारण विदेश जानुपरेको जनाउँदै अब विदेश नजाने सोच बनाएको उनको भनाइ छ।

‘पहिले पारिवारिक आर्थिक अवस्थाका कारण विदेश गइयो, विदेशमा गरेको दुःख अहिले सम्झिँदा पनि आँसु झर्छ, आफ्नो गाउँघरमा गाईभैँसी, भेडाबाख्राको गोठालो गर्दा, खेती किसानी गर्दा सानो मान्छे भइने, इज्जत नहुने भन्ने सोच साउदी पुगेपछि फेरियो, अहिले मलाई त्यस्तो लाग्दैन, जहाँ भए पनि काम सानो ठूलो हुँदैन भन्ने लाग्छ’, उनी भन्छन्, ‘विदेश गएर केही सीप भने सिकियो, त्यहाँ सिकेको सीपले अहिले गाउँमा बाख्रापालनमा सजिलो भएको छ। अरु युवाले पनि विदेशमा सीप सिकेर यहाँ आएर केही गरे हुन्थ्यो।’

उनले गाउँमै आधुनिक खोर निर्माण गरी व्यावसायिक बाख्रापालन गरेका छन्। स्थानीय र बोयर जातका गरी हाल केसीको खोरमा ४५ व बाख्रा छन्। खोर निर्माण तथा बाख्रा खरिद गर्दा करिब १५ लाख लगानी गरेका छन्।  अहिले वार्षिक २० वटासम्म बोका बिक्री गर्दै आएको उनले बताए। एउटा बोकाको २० देखि ३० हजारसम्म बिक्री हुने उनले बताए।

उनले  ‘केसी कृषि तथा पशुपालन फार्म’ दर्ता गरेर सञ्चालन गरेका छन्। खसी बोका उत्पादन गर्नसके बजारको कुनै समस्या भएको उनी बताउँछन्। कुनै पनि कामलाई सम्मान गर्नसके त्यसले जीवन जिउने कला सिकाउने केसीको भनाइ छ। उनले बाख्रापालनसँगै मल प्रयोग गर्ने गरी तरकारी, गोलभेडा खेती शुरु गरेका छन्। वडा कार्यालय र गाउँपालिका कार्यालयले रु ५०–५० हजार अनुदानसमेत दिएको जनाउँदै त्यो रकमबाट खोर व्यवस्थापन तथा तारबार गरेको केसी बताउँछन्। अहिले बाख्राको सङ्ख्या बढाउनेतर्फ ध्यान केन्द्रित गरेको केसीको भनाइ छ। करिब २०० बाख्रा पाल्ने लक्ष्य रहेको उनी बताउँछन्।

‘विदेशमा यहाँको भन्दा धेरै दुःख गर्नुपर्छ, मलाई विदेशले परिश्रमको महत्त्व बुझायो, गाउँको माटो चिनायो, त्यहाँ जति कमाए पनि इज्जत हुँदैन,  उनी भन्छन्, ‘युवाले गाउँमै केही गर्नुपर्छ, यहाँ लगानी र परिश्रम गर्ने हो भने विदेशमा भन्दा बढी कमाउन सकिन्छ, राज्यले पनि सोहीअनुसारको वातावरण तयार गरिदिनुपर्छ।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.