जुम्ला : मुगु, हुम्ला, कालिकोट र डोल्पामा न्यायिक सेवा लिन खर्चिलो र असहज भएको भन्दै उच्च अदालत सुर्खेत जुम्ला इजलासले भर्चुअल सेवा शुरु गरेको छ।
ती जिल्लाका लागि कुनै व्यक्तिले सम्बन्धित जिल्ला अदालत पुगेर त्यहाँको प्रविधि प्रयोग गरी भर्चुअल रूपमा बहस, वकपत्र र तारेख लिन पाउनेछन्।
हुम्लाबाट जुम्ला आउँदा एक हप्ता लाग्ने गुनासो आएपछि प्रविधिमैत्री न्यायसम्पादन शुरु गरिएको उच्च अदालत सुर्खेत जुम्ला इजलासका रजिष्टार यामप्रसाद बास्कोटाले बताए। उनले भने, ‘नियमित वकपत्र गर्न, बहस गर्न, तारिख लिन भौतिक रूपमा अदालत आइराख्नुपर्ने झन्झट अन्त्य हुने भएको छ।’
त्यसैगरी अदालतले प्रविधिको उच्चतम प्रयोग गरी न्यायसम्पादनलाई छिटो छरितो र कम खर्चिलो बनाउने अभ्यास थालनी गरेको उच्च अदालत सुर्खेत जुम्ला इजलासका वरिष्ठतम न्यायाधीश श्रीमणकुमार गौतमले बताए। उनले भने, ‘अदालतका सबै सेवालाई सकेसम्म प्रविधियुक्त बनाउँछौँ।’
अनलाइन प्रविधिबाटै तारिख लिनेदेखि, वकपत्र, मुद्दामा बहस लगायतका काम भर्चुअल रूपमा हुँदा खर्च कम हुने र मुद्दासँग सम्बन्धित व्यक्ति जहाँ भए पनि अनुसन्धान गर्न सहज हुने हुन्छ।
नेपालका धेरै जिल्लामा प्रविधिमैत्री सेवाको अभ्यास कोभिड १९ पछि हुँदै आएको शाखा अधिकृत तोयानाथ उपाध्यायले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।