|

महोत्तरी : मिथिलाका महिलाले शुक्रबार जितिया पर्वको निराहार व्रत शुरु  छन्। आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन गरिने यो एक अहोरात्रको व्रत आज मध्यरात बितेसँगै व्रत शुरु भएको हो।

मध्यरातअघि ‘ओगटन’  (दर) खाएर व्रत शुरु गरेका मिथिलानीले अब शनिबार नवमी तिथि लागेपछि सो एक घडी कटाएर व्रत समापन गर्नेछन्।

आश्विन कृष्ण अर्थात् पितृपक्षको अष्टमी तिथिमा सन्तानको कल्याण कामनाका साथ आमाहरूले गर्ने यो पर्वको व्रत विधि कठोर मानिन्छ। एक अहोरात्रको यो पर्व सामान्यतया सप्तमी एक घडी बाँकी छँदै सुरु भएर नवमी एक घडी बिताएर समापन गरिन्छ । तर यसपालि अष्टमी आज बिहान साढे नौ बजेअघि (९।२७) सुरु हुने भए पनि पारम्परिक चलनअनुसार बितेको मध्यरातसँगै व्रत शुरु गरेका हुन्।

महिलाले अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने हिन्दू मैथिल परम्परा छ। पितृपक्ष शरु हुनासाथै व्रतका लागि आत्मिक, दैहिक, भावनात्मक र भौतिक तयारीमा जुटेका मिथिलानीले यसपालिको यो पर्वको व्रत शनिबार बिहान साढे ९ बजेतिर नवमी लागेपछि एक घडी कटाएर समापन गर्नेछन्। व्रत सुरु गर्नुअघि व्रतालुले दही, चिउरा र अमोट (जमाएर राखिएको पाकेको आँपको रस) खाएर ‘ओगटन’ विधि गरेका थिए।

मधेसको प्राचीन मिथिला क्षेत्रमा सन्तानको सौर्यवृृद्धि र कल्याणको कामनाका लागि गरिने यो व्रत विधि कठिन भएकाले यसको चर्चा र तयारी पितृपक्ष प्रारम्भसँगै शुरु हुन्छ। यो पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरियुन्जेल थुक निल्नु, अञ्जानमै पनि कीरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुँडिनु नहुने धार्मिक मान्यताले गर्दा यो पर्व निकै कठिन विधिको मानिन्छ।

व्रत अवधिभरि एउटा सानो त्यान्द्रो झार पनि नटेकियोस् र क्षति नपुगोस् भन्ने सचेतता यो पर्वमा अपनाइन्छ । त्यसैले यो पर्वलाई ‘खरजितिया’ पनि भनिन्छ। आफूहरूले गर्ने जितिया व्रतको प्रभावले नै सन्तानको सौर्यवृद्धि, कल्याण, सामाजिक इज्जत, प्रतिष्ठा र साहस प्राप्त हुने व्रतालु बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.