बागलुङ : गत जेठमा लेक चढेका भेडीगोठ धमाधम बेसी झर्न थालेका छन्। लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायतका क्षेत्र भेडाबाख्राका बथानले भरिएका छन्।
लेकमा जाडो शुरु हुन थालेको र चाडबाड नजिकिएसँगै भेडीगोड बेसी सारिएको हो। जेठ पहिलो सातादेखिनै लेक उक्लिएका भेडीगोठ असोज पहिलो सातादेखि बेसी झर्न शुरु गरेका हुन्। बर्खामा बेसीमा घाँस अभाव हुने र लेकमा प्रशस्त पाइने हुँदा भेडी गोठाला हरेक वर्ष लेकबेसी गर्छन्।
पश्चिम बागलुङको माथिल्लो क्षेत्रका अधिकांश किसानका लागि लेकबेसी गर्नु परम्परा नै हो। एकै परिवारले २०० देखि एक हजार वटासम्म भेडा पाल्दै आएका छन्। गोठाला हप्तौँको यात्रा गरी बुकी चढ्ने र बेसी झर्ने गर्छन्। बेसीमा भन्दा बुकीमा भेडाबाख्राका लागि चरन क्षेत्र र पोसिलो घाँस पर्याप्त पाइन्छ। यति वेला तिलाचन, रिग, पाती हाल्ने, सोलेडाँडा, भर्कोबाङलगायतका क्षेत्रमा भेडाका बथान भेटिन्छन्। यो समय भेडाबाख्रा बिक्री गर्ने सिजन भएको हुँदा गोठाला बेसी झरेर बजार लाग्ने गर्छन्।
बेसी झरेका गोठाले अब केही दिनमै मुख्य–मुख्य सहरसम्म हप्तौँ दिन हिँडेर भेडाबाख्रा बेच्न जान्छन्। यहाँबाट भेडा बिक्रीका लागि केही बुर्तिबाङ, खर्बाङ, गुल्मीको वामी, रिडी, पाल्पा हुँदै बुटवलसम्म र कोही गलकोट, बागलुङ, पर्वतको कुश्मा हुँदै पोखरासम्म जाने तयारीमा छन्।
गत वैशाखमा परेको बेमौसमी हिमपातले भेडा मर्दा यो वर्ष ठूलो नोक्सानी बेहोर्नु परेको निसीखोलाका प्रेमबहादुर बुढा मगरले बताए। चैतको अन्तिम साता लेकमा भेडा लिएर गएको भन्दै लेकमा पुगेको केही दिनमै लगातार एक सातासम्म परेको पानी र हिमपातले १७ भेडा मरेको बताए।
चिसोले भेडाहरु मर्दा एक सातामै साढे तीन लाखको नोक्सानी भएको र यो वर्ष थोरै मात्र भेडा बिक्री गर्ने योजना रहेको उनको भनाइ छ।
‘चाडपर्व नजिकिएको र लेकमा चिसो बढ्दै गएकाले गोठ बेसी झारेका हौँ, अरुले पनि झार्दै छन्, अबको एक सातासम्म सबै भेडीगोठ तल झरिसक्छन्’, उनले भने, ‘भेडाले धेरै चिसो खटाउन सक्दैनन्, वैशाखमा हिउँले धेरै मरे, फेरि पनि मर्लान् भन्ने डरले अलि छिटो झारेको हुँ।’
भेडापालक बलबहादुर घर्ती मगरले यो वर्ष भेडा बेसी झर्ने समयमा वर्षा हुँदा समस्या भएको बताए। असोज ११ मा बेसी झर्न सुरु गरे पनि लगातार परेको पानीका कारण असोज १७ गते मात्रै यहाँ आइपुगेको उनको भनाइ छ। करिब चार हजार ७०० मिटरको उचाइमा अवस्थित बुकीमा ह्वात्तै चिसो बढेको उनले जानकारी दिए। अहिले आफ्ना रैथाने जातका ७० बोका तथा बाख्रा र करिब १०० भेडा रहेको मगरको भनाइ छ।
स्थानीय कुलबहादुर विकले पछिल्लो समय आफूहरूले धेरै भेडाबाख्रा पाल्न नसक्ने र युवा पुस्ताले चासो नदिएकाले भेडागोठालोको सङ्ख्या घट्दै गएको बताए। ६७ वर्षीय विकले पहिले आफूले ८०० भेडा पालेको अनुभव सुनाउँदै अहिले १५० को हाराहारीमा मात्रै भेडा पालेको जानकारी दिए। दुई छोरा र एउटी छोरी भए पनि उनीहरूले भेडापालनमा चासो नदिएको उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।