|

गण्डकी : स्वदेशी एवं विदेशी पर्यटकले भरिएको पोखरा आज संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको स्वागतको पर्खाइमा छ। 

नेपालको औपचारिक भ्रमण रहेका महासचिव गुटेरेसको भ्रमण तालिकामा पोखरा पर्दा पोखरेली गौरवान्वित बनेका छन्। महासचिव गुटेरेस दिउँसो आउने कार्यक्रम रहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए।

महासचिवको भ्रमण पोखरेलीका लागि ठूलो गौरवको विषय भएको भन्दै महानगर प्रमुख आचार्यले आफूहरू उहाँको भव्य स्वागतको प्रतीक्षामा रहेको बताए।

कार्यक्रमअनुसार महासचिव गुटेरेस नेपाली सेनाको विमानबाट पोखरा आउनेछन्। उनी सवार विमान पोखराको पुरानो विमानस्थलमा अवतरण हुनेछ।

विमानस्थलको १ नम्बर ‘वे’मा विमान अवतरण भएसँगै उनलाई सोही स्थानमा पुगेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले स्वागत गर्नेछन्।

यसपछि महासचिव गुटेरेसलाई विमानस्थलभित्रै गण्डकी प्रदेशका पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश प्रमुख सचिवलगायत १६ उच्चपदस्थ अधिकारीले स्वागत गर्ने कार्यक्रम छ।

विमानस्थल परिसरमा पोखराको संस्कृति झल्कने झाँकीसहित पोखरेलीवासीका तर्फबाट उहाँको भव्य स्वागत गर्ने कार्यक्रम तय भएको महानगरप्रमुख आचार्यले जानकारी दिए।

महासचिव गुटेरेसको पोखरा आगमन पोखराको विश्वव्यापी पर्यटन प्रवद्र्धनका लागि विशेष महत्व राख्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए। 

महासचिवको आगमनलाई लक्षित गरी सम्पूर्ण सुरक्षा व्यवस्था चुस्त पारेको कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए।

महासचिव गुटेरेस मङ्गलबार बिहान ६ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर जानेछन्।अन्नपूर्ण आधार शिविरमा छोम्रोङ पर्यटन समितिले उनको स्वागतका लागि तयारी गरेको सचिव दिलीप गुरुङले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.