|

बाँके : जाजरकोटको नलगाड नगरपालिका–६ भारगाउँकी १९ वर्षीया जमुना बुढामगरले गत शुक्रबारको भूकम्पमा श्रीमान् र पेटमा हुर्किँदै गरेको आठ महिने शिशु गुमाइन्। नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत उनी श्रीमान् र शिशुको वियोगमा उनी एकसुरमा  भित्ता कोट्याइरहन्छिन्। 
 

अरु भूकम्पपीडितको व्यथा एउटै एउटै जस्तो देखिन्छ। तर जमुनालाई भने आफ्नो व्यथा अरुको भन्दा धेरै गहिरो लागेको छ। उनले आफ्नो जीवनसाथी र गर्भमा हुर्किँदै गरेको शिशुलाई गुमाएको चार दिन बितेको छ। बितेका चार दिनमा जमुनाको होश पूर्णरूपले फर्किएको छैन। श्रीमान् र गर्भमा रहेको शिशुलाई गुमाउँदाको पीडाले उनी अस्पतालको शय्यामा छटपटाइरहेकी छिन्।

जमुना कहिले एकसुरमा राम्रैसित बोल्छिन्। कतिबेला बोल्दै बोल्दिनन्। जतिबेला पनि पेट मुसारिरहन्छिन्। जमुनाको रेखदेख गर्न आएकी आमा पवित्रा छोरीले थाहा नपाउनेगरी वेलावेलामा पछ्यौराले मुख छोपेर भक्कानिन्छिन्।
 
‘छोरीलाई पेटको बच्चा नरहेको कुरा हामीले ऊ होशमा आएपछि सुनायौँ। उसलाई थाहा छ। तर पनि उसले आमा मेरो नानीलाई त ठिकै छ नि भन्दै सोधिरहन्छे’, आमा पवित्राले भनिन्, ‘एक्लै–एक्लै आफैँसँग कुरा गर्छे। कहिले राम्रै बोल्छे, कहिले बोल्दै बोल्दिन।’ भूकम्पको पीडाले बेहोश छोरीको होश फर्किए पनि सुरमा कुरा नगरेको देख्दा उनलाई चिन्ताले सताइरहेको छ।

शुक्रबार राति नै भूकम्पमा परी ज्वाइँ नवीन बुढाको घरले च्यापिएर मृत्यु भएको खबर सुनेपछि गर्भवती छोरीलाई उद्धार गर्न सानीभेरी गाउँपालिका–९ रुकुम पश्चिमबाट जमुनाकी आमा पवित्रा खड्का मगर र बुवा भागीराम जाजरकोट पुगे। घरमा पुग्दा जमुना बेहोश अवस्थामा भेटिएको  बुबा भागीरामले बताए। 

‘हामीले त ज्वाइँसँगै छोरी पनि गुमायौँ भन्ने सोचेका थियौँ। उसको पेटको नानीलाई बचाउन नसकिए पनि छोरीलाई भने केही भएको रहेनछ’, उनले भने। जमुनालाई जाजरकोटबाट नेपाली सेनाको हेलिकप्टरबाट चौरजहारीसम्म ल्याएको र त्यहाँबाट नेपालगञ्जसम्म जहाजमा ल्याएर आइतबार भेरी अस्पतालमा भर्ना गरिएको थियो। पेटभित्र मरेको शिशुलाई निकालिएको छ। शिशुको अन्तिम संस्कार नेपालगञ्जस्थित मसानघाटमा नै गरेको बुबा भागीरामले बताए।

जमुनाको उद्धार गर्न जाजरकोट पुगेका भागीराम र उनकी पत्नीलाई आफ्नै घर भूकम्पले चर्किएको खबर भारगाउँ पुगेपछि मात्र थाहा भयो। ‘हामीले त ज्वाइँ रहनुभएन भन्ने सुन्यौँ। गर्भवती छोरीको सास छ भन्ने थाहा पाउनासाथ हामी छोरी बचाउन जाजरकोट लाग्यौँ। त्यहाँ पुग्दै गर्दा बाटैमा थाहा पायौँ, भूकम्पले हाम्रो पनि घर चर्किएछ।’ दुवैजना शुक्रबार राति नै जमुनाको घर गएका थिए।

‘जसको भाग्यमा जे भोग्न लेखिएको हुन्छ उसले त्यही भोग्नैपर्छ। हाम्रो छोरीको भाग्यमा यस्तै दुःख भोग्न लेखिएको थियो होला’ पवित्राले भनिन्, ‘अब छोरी चाँडै निको भइदिए हुन्थ्यो।’ उनका अनुसार जमुनाको अरु सबै स्वास्थ्य अवस्था ठीक भए पनि कहिलेकाहीँ पेट र टाउको दुखिरहन्छ।

भूकम्प जाँदा जमुनासँगै श्रीमान्, सासू, नन्द र दुई आमाजुसँगै एउटै घरमा खाना खाएर सुतेका थिए। भूकम्पका कारण जमुनाका श्रीमान् र गर्भको शिशुको मृत्यु भए पनि परिवारका अरु सदस्यलाई भने सामान्य चोट लागेको छ। जमुनाका देवर र ससुरा भने मजदुरी गर्न भारत गएका छन्।  

भेरी अस्पतालमा जाजरकोट भूकम्पका कारण घाइते ४४ जनाको उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए। उनका अनुसार भेरी अस्पतालमा भूकम्पमा परी घाइते भएका ४७ जनालाई ल्याइएको थियो। 

दुईजना निको भई घर फर्किएका छन्। उपचार गर्न अस्पताल ल्याउँदै गर्दा बाटैमा एकजनाको मृत्यु भएको थियो। प्रजिअ पोखरेलले उपचाररत बिरामीको स्वास्थ्यावस्था खतरामुक्त रहेको जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.