|

कञ्चनपुर : फूल बिक्री नहुँदा भीमदत्त नगरपालिका किसान निराश बनेका छन्। पछिल्लो समय प्लाष्टिक फूलमालाको प्रयोग बढेकाले स्थानीय फूलले बजार पाउन नसकेको भीमदत्त–३ भाँसीका पुष्प व्यवसायी जनकबहादुर सिंहले बताए।

‘फूल राम्रै फुलेका छन्, तर बजार नै पाइएको छैन’, उनले भने, ‘अहिलेसम्म फूल बिक्री नै भएको छैन, बिक्रीका लागि तयार भएका फूल कुहिँदैछन्।’ बजारमा प्लाष्टिक फूलमालाको उपलब्धताले स्थानीय फूल बिक्री हुन नसकेको उनको भनाइ छ। ‘प्लाष्टिक फूलमालाको प्रयोग बढ्दो छ, अहिले प्रशासनले प्लाष्टिकजन्य फूलमालामा रोक लगाएको छ’, उनले भने, ‘अब फूलले बजार पाउने आशा छ।’

कृषि ज्ञान केन्द्र कञ्चनपुरमा प्रावधिक पदमा कार्यरत सिंह विगत तीन वर्षयता व्यावसायिक फूलखेती गर्दै आउनुभएको छ। उहाँले भीमदत्त नगरपालिका–३ भाँसीस्थित जानकी कन्या माध्यमिक विद्यालयको जमिन भाडामा लिएर फूलखेती गरेका छन्। ‘फूलको बिउ आफैँले छरेको थिएँ, सात कठ्ठा जमिनमा फूलखेती छ’, उनले भने, ‘फूल फुलेको दुई साताभित्र टिपेर बेचिसक्नुपर्छ, नभए फूलको बाहिरी पत्र कुहिन्छ।’

उनका अनुसार यस वर्ष अहिलेसम्म फूल बिक्री हुनसकेको छैन। भाडामा लिइएको सात कठ्ठा जमिनमा सयपत्री फूलखेती गरिएको छ। उनले यसअघि भीमदत्त नगरपालिका–१० तिलकेनीमा पुष्प व्यवसाय गरेका थिए। फूल बिक्री गर्नै हम्मेहम्मे भयो। जसोतसो फूलमाला बिक्री भए पनि उचित मूल्य नपाउने उनको भनाइ छ।
 
‘फूल र माला बनाएर बेच्ने गर्छौँ, पाँच सय प्रतिकिलो ग्रामका दरले फूल बेच्ने गरेका छौँ’, उनले भने, ‘एक सयको फूलमाला बिक्री गर्ने गरेका छौँ।” 

स्थानीयस्तरमा उत्पादित फूलको बजारीकरणका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले प्लाष्टिक मालामा रोक लगाएको छ। प्लाष्टिकजन्य फूलगुच्छा तथा माला र ४० माइक्रोनभन्दा कम तौलका प्लाष्टिक झोला प्रयोग तथा बिक्री वितरणमा प्रशासनले रोक लगाएको हो।

दीपावली, नेपाल संवत् तथा छठपर्वलगायतका चाडपर्व, मेला, महोत्सव तथा अन्य सभा–समारोहमा प्लाष्टिक फूलगुच्छा तथा मालाको प्रयोग अधिक हुने भएकाले त्यसमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.