|

जलेश्वर : महोत्तरीमा प्रहरीको गोली लागी दुई डाँका आरोपी घाइते भएका छन्।

गएराति पक्राउ परेका दुई डाँका आरोपी प्रहरीको गाडीबाट भागेपछि गोली चलाइएको हो। दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। 

उनीहरू सर्लाहीको लालबन्दी नगरपालिका–२ का ३२ वर्षीय शक्तिकपुर पासवान र ३३ वर्षीय अजय पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए। दुवैजनाले यही कात्तिक २० गते राति जलेश्वर नगरपालिका–८ का जयकिशोर चौधरीको घरबाट एक लाख नगद, सुनका गहना, चाँदी र मोबाइल लुटेका थिए।

जिल्ला प्रहरी कार्यालयबाट सहायक प्रहरी निरीक्षक रामेश्वर यादवको नेतृत्वमा खटिएको टोलीले दुवै जनालाई मंगलबार गरुडा नगरपालिका–४ पानीट्याङ्की नजिकैबाट पक्राउ गरेको थियो। प्रहरीले उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान, गोली चार राउण्ड, मोबाइल एक थान र नगद चार हजार रुपैयाँ बरामद गरेको छ। 

महोत्तरी ल्याउँदै गर्दा राति सर्लाहीको सङ्ग्रामपुरबाट भाग्न खोजेपछि प्रहरीले चलाएको गोलीबाट घाइते भएका प्रहरी नायब उपरीक्षक गिरीले बताए। उनीहरूको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ। 

करिब रु ६० लाख लुटपाट गरेको आरोपमा पक्राउ परेका दुवै जनालाई प्रहरीले मुलकी अपराध संहिता २०७४ को परिच्छेद २० को दफा २४४ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.