|

नवलपुर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा स्थापना गरिएको जटायु रेष्टुराँका कारण गिद्धको सङ्ख्या बढेको छ।

एसियामै पहिलोपटक समुदायस्तरबाट सन् २००६ मा शुरु गरिएको रेष्टुराँका कारण यो क्षेत्रमा गिद्धको सङ्ख्या ४०० प्रतिशतले वृद्धि भएको अध्ययनले देखाएको छ। 

रेष्टुराँ व्यवस्थापन समितिका अध्यक्ष एवं संरक्षणकर्मी डीबी चौधरीले अहिले यहाँ ५१७  गिद्ध रहेको जानकारी दिए। ‘रेष्टुराँ शरु गर्ने बेलामा यहाँ सात प्रजातिका ७७ वटा गिद्ध थिए’, उनले भने, ‘हामीले गरेको पछिल्लो अध्ययनअनुसार यहाँ आठ प्रजातिका ५१७ गिद्ध तथा यो क्षेत्रबाट गिद्धका १०० वटा गुँड रेकर्ड गरिएको छ।’

समुदाय, सरकार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगका कारण गिद्ध संरक्षणको अभियान सफल भएको उनको भनाइ छ। 

कावासोती–१३ मा रहेको नमूना मध्यवर्ती सामुदायिक वनको करिब ५० हेक्टर क्षेत्रफलमा फैलिएको जटायु रेष्टुराँमा नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये आठ प्रजाति (हाडफोर बाहेक)का गिद्ध पाइने अध्यक्ष चौधरीले बताए। उनका अनुसार यहाँ रैथाने प्रजातिका डङ्गर गिद्ध, सेतो गिद्ध, सुन गिद्ध र सानो खैरो गिद्ध तथा आगन्तुक प्रजातिका राज गिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध र लामो ठोडे गिद्ध छन्। समुदायले व्यवस्थापन गरेको यस जटायु रेष्टुराँमा गिद्धलाई नियमितरूपमा आहारा (मासु) खुवाउने गरिएको छ। 

नेपालमा पछिल्लो समय अन्य छ ठाउँमा जटायु रेष्टुराँ विस्तार गरिएको जनाउँदै अध्यक्ष चौधरीले अन्य ठाउँमा भारत र पाकिस्तानले समेत संरक्षणमा सहयोग पुर्‍याएका बताए। 

समुदायस्तरबाटै सञ्चालन र व्यवस्थापन गरिएका गिद्ध रेष्टुराँलाई गिद्धका बासस्थान र उच्च घनत्व भएका रूपन्देहीको गैँडहवा ताल, दाङको लालमटिया र बिजौरी, कैलालीको खुटीया, कास्कीको घाँचोक र सुनसरीको कोशीटप्पुमा पनि विस्तार गरिएको उनको भनाइ छ। 

‘नेपाल सरकारले गिद्धको संरक्षण गर्न चितवन राष्ट्रिय निकुञ्जमा गिद्ध प्रजनन केन्द्र स्थापना गरेको थियो’, उनले भने, ‘त्यहाँ प्रजनन भएका गिद्ध नवलपुरमा ल्याएर हुर्काएपछि रेडियो कलर जडान गरेर प्रकृतिमा छोड्ने गरिएको थियो।’ 

हालसम्म केन्द्रमा प्रजनन भएका ६९ गिद्ध रेष्टुराँमा ल्याएर छोडिएको उनले जानकारी दिए। त्यस्तै ७७ जंगली प्राकृतिक गिद्धमा पनि रेडियो कलर लगाएर अध्ययन गरिएको उले बताए। जटायु रेष्टुराँमा छोडिएको गिद्ध आहारका लागि प्रतिदिन २०० किलोमिटरसम्म उड्ने गरेको अध्ययनले देखाएको छ। 

केन्द्रमा प्रजनन भएर रेष्टुराँमा ल्याइएको र यहाँको प्रकृतिमा हुर्किएका गिद्धले मिलेर प्रजनन गर्न शुरु गरेको अध्यक्ष चौधरीले बताए। ‘प्रजननयोग्य गिद्धको एक वर्षमा एउटा प्रजनन अवधि हुन्छ’, उनले भने, ‘एउटा मात्रै फूल पार्छ तर भाले र पोथी दुवै मिलेर बच्चा कोरल्ने गर्छन्।’

गिद्धको संरक्षणलाई दिगो बनाउन र छाडा गाईबस्तुमुक्त क्षेत्र बनाएर समुदायलाई सहयोग गर्नका लागि रेष्टुराँले गौशालासमेत निर्माण गरेको छ। ‘छाडा छोडिएको गाईबस्तुलाई ल्याएर राख्ने उनीहरुको मलमूत्रबाट बायो ग्यास, जैविक विषादी, जैविक मल बनाउने गरिन्छ। उनीहरु मरेपछि गिद्धको आहार बनाउँछौँ’, उनले भने, ‘यति गरेपछि गिद्धको संरक्षण हुन्छ।

उनले गिद्धको संरक्षणपछि गिद्ध पर्यटन अथवा जैविक विविधता पर्यटन शुरु गर्ने तयारी गरेको बताए। संरक्षणलाई पर्यटनसँग जोड्दा पर्यापर्यटनमा रोजगारी र व्यवसायको वातावरण सिर्जना हुने भन्दै उनले यसबाट जनचेतना फैलिई संरक्षणमा दिगोपना ल्याउने दाबी गरे। 

विषादीयुक्त आहारा र बासस्थानमा आएको ह्रासको कारण गिद्ध मासिँदै गएपछि नेपालमा पहिलोपटक समुदायस्तरबाट विसं २०६३ भदौ ९सन् २००६०मा जटायु रेष्टुराँको स्थापना गरिएको थियो।। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.