|

बैतडी : दोस्रो चरणमा निर्वाचन भएको प्रदेश नम्बर ७ का ८८ वटा स्थानीय तहमध्ये मंगलबार विहानसम्म ८० वटाको मत परिणाम सार्वजनिक भएको छ। जसमा नेपाली कांग्रेसले ३७ स्थान जितेर पहिलो स्थानमा छ, नेकपा एमालेले ३४ स्थानमा जितेको छ भने तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले जम्मा ८ स्थानमा मात्र जित हासिल गरेको छ।

माओवादी केन्द्रले जितेका ८ वटा स्थानीय तह

१. पुर्चौडी नगरपालिका, बैतडी

२. मार्मा गाउँपालिका, दार्चुला

३. अजयमेरु गाउँपालिका, डडेल्धुरा

4. बोगटान गाउँपालिका, डोटी

५. मेल्लेख गाउँपालिका, अछाम

६. रामारोशन गाउँपालिका, अछाम

७. कैलारी गाउँपालिका, कैलाली

८. लालझाडी गाउँपालिका, कञ्चनपुर

माओवादीको आधारक्षेत्रको रुपमा चिनिएको बैतडीको पुर्चौडी नगरपालिकामा माओवादीका रणबहादुर बम नगरप्रमुख र  जानकी बम उपप्रमुखमा निर्वाचित भएका छन्। पार्टीसँग जिल्लामा अत्याधिक मत भए पनि स्थानीय स्तरमा देखिएका कमजोरीका कारण एक तहमा मात्र जित भएको बैतडीका जिल्ला संयोजक प्रेमप्रकाश भट्ट आदित्यले बताए।

यस्तै माओवादी जनयुद्धका बेला माओवादीको आधार क्षेत्र अछामको रामारोशन गाउँपालिकामा पनि माओवादी विजयी भयो। एमाले उम्मेदवारलाई ५६८ मतले पछि पार्दै माओवादी केन्द्रका झंकर साउदले ३४०२ मत ल्याएर विजयी भए। उपाध्यक्षमा पनि माओवादी केन्द्रकी सरस्वती रावलले ३२९० मत ल्याएर विजयी भइन्। अछामकै मेल्लेख गाउँपालिकामा नेपाली कांग्रेससँग गठबन्धन गरेको माओवादीले अध्यक्ष जितेको छ भने उपाध्यक्ष नेपाली कांग्रेसले जितेको छ। बान्नीगढी गाउँपालिकामा कांग्रेससँग गठबन्धन गरेको माओवादीले उपप्रमुख पदमा जित हासिल गरेको छ।

डडेल्धुराको अजयमेरु गाउँपालिकामा पनि माओवादी केन्द्रका उमेशप्रसाद भट्ट ‘विकास’ २ हजार ६ सय ९० मत ल्याएर विजयी भए। उपाध्यक्षमा माओवादी केन्द्रकै कलावती भाँण २ हजार १ सय ७१ मत ल्याएर विजयी भइन् । ६ वटा वडा रहेको सो गाउँपालिकाका ५ वटा वडा माओवादीले नै जितेको छ।

डोटीको बोगटान, दार्चुलाको मार्मा गाउँपालिकामा माओवादीले मुश्किलले जित हात पारेको छ। सात नम्बरका पहाडी जिल्लामा बलियो मानिएको माओवादीले आफ्ना आधार किल्ला बाहेक अन्यमा स्थानीय तहमा जित हासिल गर्न सकेन। कञ्चनपुरको लालझाडी गाउँपालिका पनि माओवादीले जित हासिल गर्‍यो। त्यस्तै कैलालीको कैलारी गाउँपालिकामा पनि माओवादी केन्द्र विजयी भयो। माओवादीले जित आकलन गरेको टीकापुरमा भने नेकपा एमाले विजयी भयो।

‘अझै पार्टी एकढिक्का बन्न सकेन’

माओवादी केन्द्र पार्टी टुटफुट हुदा मतपरिणाम आफ्नो पक्षमा पार्न असफल भएको छ। यस्तै हारको प्रमुख कारण जनतामा छरिएको भ्रम चिर्न नसकिएको पनि माओवादी नेताहरुले बताएका छन्। ‘जनतामाझ हाम्रो पार्टीविरुद्ध प्रतिस्पर्धी दलले छरेको भ्रम चिर्न अझै बाँकी छ भन्ने सन्देश यो निर्वाचनबाट बुझेका छौ’ सात नम्बर प्रदेश प्रचार विभाग प्रमुख ओमविक्रम भाटले भने ।

२०६४ सालको निर्वाचनमा ठूलो दल बनेको माओवादीले ७० सालको संविधान सभाको निर्वाचनमा भने प्रदेश नम्बर ७ का ९ जिल्लाका २१ निर्वाचन क्षेत्रमध्ये १ स्थानमा मात्र माओवादीले जितेको थियो।

प्रदेश नम्बर ७ का स्थानीय तहमा कुन पार्टीले जिते हेर्नुस्

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.