|

जाजरकोट : राष्ट्रिय मानव अधिकार आयोगले भूकम्पपीडितलाई चिसोबाट जोगाउने व्यवस्था मिलाउन कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको छ । 

जाजरकोट र रुकुम पश्चिम पुगेर फर्किएका आयोगका सदस्य मिहिर ठाकुरले त्रिपालमुनि बसेका ४३ जनाको मृत्यु भइसकेको जनाउँदै उनीहरूलाई चिसोबाट जोगाउन तत्काल व्यवस्था गर्न सुझाव दिएका हुन्।

सोमबार आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीसँगको भेटमा आयोगका सदस्य ठाकुरले तत्काल चिसोबाट बचाउन नसकिए त्रिपालमुनि अझ धेरै ज्यान जानसक्ने बताए। ‘त्रिपालमा बसिरहेका दीर्घरोगी, सुत्केरी, गर्भवती, महिला र वृद्धवृद्धा धेरै प्रभावित भएको पाइयो, बिरामीको सङ्ख्या पनि अधिक छ’, उनले भने, ‘दाउरा वितरणदेखि न्यानो कपडा भूकम्पपीडितलाई आवश्यक छ। यसतर्फ प्रदेश सरकारले ध्यान दिन आवश्यक छ।’

जाजरकोट जिल्ला अस्पतालमा आवश्यक जनशक्ति र औषधिको पनि अभाव रहेको पाइएको सदस्य ठाकुरले बताए। उनले केही पालिकामा अझै सरकारले घोषणा गरेको अस्थायी घर बनाउनका लागि पहिलो किस्ताको रकम पनि नपुगेको भन्दै यसतर्फ गम्भीर हुन आग्रह गरे। ‘राहत वितरण प्रक्रिया पनि पारदर्शी हुनसकेको देखिएन, टाठाबाठाले नै धेरै राहत लिएको पाइयो’, उनले भने,‘यसतर्फ पनि ध्यान दिन आवश्यक छ।’ 

उनले प्रदेश सरकारलाई पुनःनिर्माण प्राधिकरण गठन गरेर काम गर्न सुझाव दिए। आन्तरिक मामिला तथा कानुनमन्त्री जिसीले सङ्घीय सरकारले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणमा प्रदेशको भूमिकालाई शून्य बनाएको आरोप लगाए। अस्थायी आवास निर्माणका लागि प्रदेश सरकारले एक अर्ब छुट्याएको  र संघीय सरकारले दिने रकमबाट सार्वजनिक संरचना निर्माण गर्ने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.