|
प्रतीकात्मक तस्विर

बाजुरा : जिल्लाका भूकम्पप्रभावित परिवारका लागि आएको पहिलो किस्ताको १४ करोडमध्ये आठ करोड रुपैयाँ फिर्ता भएको छ। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्र पठाएपछि रकम फिर्ता गरेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए।

पौडेलका अनुसार प्राधिकरणले सोमबार जिल्ला प्रशासन कार्यालयलाई रकम फिर्ताका लागि पत्र पठाएको थियो। रकम विपद् व्यवस्थापन कोषमा  पठाएको उनले जानकारी दिए । भूकम्पबाट प्रभावित अन्य जिल्लामा रकम अभाव भएको भन्दै प्राधिकरणले जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्र पठाएको थियो ।  

प्राधिकरणले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट अत्यधिक क्षति भएकाले ती क्षेत्रमा प्रभावितका लागि तत्काल थप रकम निकासा गर्नुपर्ने भएकाले रकम फिर्ता गर्न  पत्र पठाएको प्रजिअ पौडेलले बताए। 

प्राधिकरणले बाजुराका भूकम्पप्रभावितका  लागि  अस्थायी आवास निर्माण गर्न गत मङ्सिर ४ गते पहिलो किस्ताबापत १४ करोड रुपैयाँ पठाएको उनले जानकारी दिए। निकासा भएको सो रकममध्ये हिमाली गाउँपलिका र बूढीगङ्गा नगरपालिकाबाहेक जिल्लाका सात स्थानीय तहका एक हजार ५०९ प्रभावित परिवारका  लागि तीन करोड ७७ लाख रुपैयाँ सम्बन्धित स्थानीय तहमा पठाइसकेको उनले बताए।

खप्तड छेडेदह गाउँपालिकामा ९६६, त्रिवेणी नगरपालिकामा ११३, गौमूल गाउँपालिकामा ५५, बूढीनन्दा नगरपालिकामा ६५, स्वामीकार्तिक खापर गाउँपालिकामा नौ, जगन्नाथ गाउँपालिकामा ७४ र बडीमालिका नगरपालिकामामा २२७ परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँका दरले उपलब्ध गराउन सम्बन्धित स्थानीय तहको खातामा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

प्राधिकरणले गत असोज १६ गते बझाङ  केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावितका लागि पहिलो किस्ताबापत रकम पठाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.