|

जुम्ला : बालविवाह न्यूनीकरणका लागि सिञ्जा क्षेत्रका स्थानीय सरकार जुटेका भए पनि अझै यो कुरीति अन्त्य हुन सकेको छैन। समाजमा बालविवाहले बहुविवाह र घरेलु हिंसा झन् बढेको छ। 

अहिले जुम्लाको सिञ्जा क्षेत्रमा बालविवाहको विषयमा अध्ययन भइरहेको छ। स्थानीय सरकारको अगुवाईमा बालविवाहको अवस्था अध्ययन तथा प्रतिवेदन सार्वजनिक गरेर बालविवाह अन्त्य गर्ने प्रयास भइरहेको छ।  

सिञ्जा क्षेत्रका ३ वटा स्थानीय तहका सरकार सिञ्जा, हिमा र कनकासुन्दरीको समन्वय तथा प्लान नेपाल र आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपालको सहयोगमा ३ वर्ष यस क्षेत्रमा बालविवाहको व्यापकताबारे सर्वेक्षण गरेर अध्ययन प्रतिवेदन सार्वजनिकसमेत गरिएको छ।

गाउँपालिकाको अगुवाईमा सन् २०२०, २०२१ र २०२२ सम्मको तथ्यांकअनुसार त्यस क्षेत्रको बालविवाह केही मात्रामा घटेको पाइएको छ। 

हिमा गाउँपालिकामा बालविवाहको स्थिति

स्थानीय सरकारको अगुवाईमा सार्वजनिक गरिएको तथ्यांकअनुसार जुम्लाको हिमा गाउँपालिकामा सन् २०२० मा जम्मा ७६९ जनाको विवाह दर्ता भएकोमा ५८३ जनाले बालविवाह गरेका थिए। 

जसमा वडा नम्बर १ मा १२६ जना, वडा नम्बर २ मा ९५ जना, वडा नम्बर ३ मा १०३ जना, वडा नम्बर ४ मा ३२ जना, वडा नम्बर ५ मा ९५ जना, वडा नम्बर ६ मा ६३ जना र वडा नम्बर ७ मा ६९ जनाले वालविवाह गरेका छन्। सर्वेक्षणको तथ्यांकअनुसार कुल विवाहमध्ये ९५ प्रतिशत बालविवाह भएको थियो।

बालविवाहबारे सार्वजनिक भएको प्रतिवेदनमा हिमा गाउँपालिकामा सन् २०२१ मा भएका १९४ विवाहमध्ये १३६ बालविवाह भएको थियो। ती बालविवाहमध्ये वडा नम्बर १ मा ३७ वटा, वडा नम्बर २ मा १० वटा, वडा नम्बर ३ मा ३६ वटा, वडा नम्बर ४ मा २१ वटा, वडा नम्बर ५ मा १६ वटा‚ वडा नम्बर ६ मा ११ वटा र वडा नम्बर ७ मा १५ वटा रहेका थिए।

यसैगरी सन् २०२२ मा हिमा गाउँपालिकामा १४४ वटा बिहे भएकोमा ३६ वटा बालविवाह भएका थिए। तीमध्ये वडा नम्बर २ मा ६ वटा, वडा नम्बर ३ मा ३ वटा, वटा नम्बर ४ मा ३ वटा, वडा नम्बर ५ मा एउटा, वडा नम्बर ६ मा १३ वटा र वडा नम्बर ७ मा १० वटा भएका थिए। क्याड नेपालले सन् २०२३ को प्रतिवेदन तयार भइरहेको जनाएको छ।

सिञ्जा गाउँपालिकाको स्थिति

सिञ्जा गाउँपालिकामा सन् २०२१ मा १६० जनाले वालविवाह गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। जसमध्ये ११७ वटा बालविवाह भएका थिए। सन् २०२१ मा सिञ्जा गाउँपालिकाको वडा नम्बर १ मा २३ वटा, वडा नम्बर २ मा १२ वटा, वडा नम्बर ३ मा १६ वटा, वडा नम्बर ४ मा २० वटा‚ वडा नम्बर ५ मा २२ वटा र वडा नम्बर ६ मा २४ वटा बालविवाह भएका थिए। 

यो तथ्यांकअनुसार सन् २०२१ मा ७३ प्रतिशत बालविवाह भएको छ। यसैगरी सन् २०२२ मा सिञ्जा गाउँपालिकामा १४१ वटा बालविवाह भएकोमा ६७ वटा अर्थात ४८ प्रतिशत बिहे बालविवाह भएका थिए। 

सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बालविवाह रोक्न निरन्तर प्रयास गरिरहेको बताए। उनले भने‚ ‘साझेदार प्लान नेपाल र क्याडको सहयोगमा सन् २०२० देखि सर्वेक्षण‚ जनप्रतिनिधि परिचालनसहित विभिन्न काम गर्दै आएका छौँ।’

कनकासुन्दरी गाउँपालिका

​कनकासुन्दरी गाउँपालिकामा सन् २०२० मा ७७३ वटा विवाह भएकोमा ४४६ वटा अर्थात ५८ प्रतिशत बालविवाह, सन् २०२१ मा १५६ वटा विवाहमध्ये ९४ वटा बालविवाह र सन् २०२२ मा भएका १२४ वटा विवाहमध्ये ३१ वटा अर्थात २५ प्रतिशत बालविवाह भएका थियो।

बालविवाहमुक्त वडा घोषणा गर्ने तयारी  

तथ्यांक हेर्दा समग्रमा सिञ्जा क्षेत्रमा बालविवाह घटेको देखिएको छ। हिमा गाउँपालिकाको वडा नम्बर १ मा सन् २०२० मा अत्यधिक देखिएको बालविवाह सन् २०२२ मा शून्यमा झरेको छ।

हिमा गाउँपालिकाको वडा नम्बर १ का अध्यक्ष रतनबहादुर शाहीका अनुसार वडामा अहिले बालविवाह शून्य भएको छ। उनले भने, ‘हामीले उमेर नपुगेका केटाकेटीको विवाहमा वडाका जनप्रतिनिधि उपस्थित नहुने निर्णयसमेत गरेका छौँ।’ 

स्थानीय सरकारले त्यस वडालाई बालविवाहमुक्त वडा घोषणा गर्ने तयारी गरेको छ। वडाध्यक्ष शाहीका अनुसार वडामा २० वर्ष उमेर पुगेर विवाह गर्ने चेलीलाई कोसेलीसहित सम्मान गर्ने नीतिसमेत बनेको  बताए।

सिञ्जा गाउँपालिकाको वडा नम्बर २ ले पनि बालविवाह मुक्त गर्ने योजना बनाएको छ। सिञ्जा-२ का वडाध्यक्ष तीर्थ वडका अनुसार वडाको सिफारिश गरेर मात्रै विवाह गर्न पाइने गरिएको छ। उनका अनुसार टोलटोलमा बालविवाहविरुद्ध सचेतना कार्यक्रम गरिँदै आएको छ।

क्याड नेपाल जुम्लाका कार्यक्रम व्यवस्थापक अजय महराले परियोजनाले विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गरेको बताए। 
उनले  भने, ‘किशोरीहरुलाई यौन तथा प्रजननको सचेतना दिने काम पनि गरिएको छ।’

उनका अनुसार किशोरीहरुको आय आर्जनमा टेवा पुर्‍याउने र धार्मिक गुरु तथा पुरोहितसँग अन्तरक्रिया गरेर सचेतना दिने गरिएको छ। 

उनले थपे‚ ‘प्लान नेपालले सिञ्जा क्षेत्रमा सन् २०२० देखि काम गर्दै आएको र सन् २०२४ सम्म संचालन हुनेछ। जुम्लाका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा बालविवाह र जबरजस्ती विवाह रोक्न विभिन्न क्रियाकलाप गर्दै आएका छौँ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.