रौतहट : बागमती किनारैकिनार हुँदै एउटा भीड दिनहुँ नदीको पानीमा हेलिन्छ। पिठ्युँमा ब्याग भिरेजसरी ब्याट्री भिरेका छन्, ब्याट्रीमा जोडेर निकालिएका तार बाँसका घोचा दुवै हातमा। पानी छिचोल्दै करेन्ट लगाएर माछा मार्नेको भीड हुने गरेको छ। रौतहट–सर्लाही सीमामा पर्ने बागमती नदीमा हिजोआज सधैँ यस्तै दृश्य देखिन्छ।
यसरी रौतहट र सर्लाही जिल्लाको बीचबाट बग्ने बागमतीमा ब्याट्री बोकेर हेलिने भिड करेन्टबाट माछा मार्ने गिरोहहरु हुन्। रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ बागमती खोलामा करेन्ट लगाएर माछा मार्नेहरुको बिहानैदेखि हुलका हुल जाने गरेको स्थानीयले बताएका छन्।
खोलामा बिहानैदेखि पिठ्युँमा ब्याट्री र तार बोक्ने र अन्य दुई/चार जना सँगै जाल थाप्नेको हुल खोलाभरि नै देखिने गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।
करेन्ट लगाई माछा मार्दा अन्य जीवहरुको पनि मृत्यु हुने हुँदा करेन्ट लगाएर माछा मार्नु अवैधानिक आपराधिक कार्यको रुपमा कानुनले तोकेको छ तर रौतहटको बागमतीमा बिहानैदेखि करेन्ट लगाएर माछा मार्नेहरुको भिड हुँदा समेत स्थानीय प्रशासनले बेवास्ता गरेको आरोप स्थानीयले लगाएका छन्।
करेन्टले सबैखाले माछा, अन्डा पार्ने बेलाका माछा र अन्डालाई समेत असर गर्ने विज्ञहरु बताउँछन्। खोलाका अन्य जलचरहरूलाई पनि ठूलो असर परेको छ। यसले समग्र इकोसिस्टममै असर पार्ने गर्छ। यो गैरकानुनी भएको जानकारहरुको भनाइ छ।
यी सब कुरा जान्दाजान्दै पनि खोलामा करेन्ट लगाएर माछा मार्ने क्रम रोकिएको छैन। अनुसन्धानले माछाका लागि करेन्ट लगाउँदा अन्य जलचरमा पनि ठूलो असर परेको देखाएको डिभिजन वन कार्यालय रौतहटका वन अधिकृतहरुको भनाइ छ।
हुलका हुल करेन्टबाट माछा मार्न जानेहरुले त्यो करेन्ट लगाएर मारेको माछा ८ सयदेखि एक हजार किलोसम्ममा बेच्ने गरेको स्थानीय बासिन्दाले बताएका छन्।
खोलामा करेन्ट लगाउँदा खान मिल्ने उमेरका माछामात्र नभई साना माछा पनि करेन्टका कारण मर्छन्। माछाका भूरा र अन्डासमेत नष्ट हुन्छन्। माछाको आहारा कीरा फट्याङ्ग्रासमेत मर्छन्।
बचेका माछालाई पनि आहाराको अभाव हुने भएकाले करेन्ट लगाएर माछा मार्न तत्काल रोक्नुपर्ने विज्ञहरुको भनाइ रहेको छ। करेन्ट लगाएर माछा मार्नु गैरकानुनी हो। करेन्ट प्रयोग गरी कुनै जलचर समात्न तथा मार्न झन्डै अढाइ दशकअघि नै प्रतिबन्ध लगाइएको हो।
२०५५ सालमा संशोधन गरिएको जलचर संरक्षण ऐनमा उल्लेख छ, ‘कुनै व्यक्तिले पनि कुनै जलमा रहेको कुनै जलचरलाई समात्ने तथा मार्ने अभिप्रायले जानीजानी त्यस्तो जलमा वा त्यसको आसपासमा कुनै पनि विद्युतीय धार (करेन्ट), विस्फोटक पदार्थ वा विषालु पदार्थको प्रयोग गर्न हुँदैन।’
सो ऐनको उक्त प्रावधान उल्लंघन गर्ने वा गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई ६ महिनासम्म कैद वा ५ हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
तर बागमतीको रौतहट र सर्लाहीका प्रहरी र वन कर्मचारीकै अगाडि करेन्ट लगाएर माछा मार्नेको संख्या बढदै गएको भए पनि त्यस तर्फ वन र प्रहरीले चासो नदिएको स्थानीय बासिन्दा लक्ष्मण न्यौपानेको भनाइ रहेको छ।
रौतहटको बागमती सब-वन डिभिजन कार्यालयका प्रमुख सहायक वन अधिकृत सुरेशकुमार महतोले बागमतीमा करेन्ट लगाएर माछा मार्नेमाथि अब कडा एक्सन लिने बताए।
रोजगारी नभएपछि बाध्य भएर करेन्टको प्रयोग गरी माछा मार्नुपरेको उनीहरू बताउँछन्। ब्याट्रीबाट निस्केको तार बाँसको लामो लट्ठीमा जडान गर्छन्। त्यही तारमा करेन्ट प्रवाह हुन्छ र नदीमा डुबाउँदै हिँड्छन्।
पानीमा तार परेपछि करेन्ट लाग्छ र वरपरका माछा मर्छन्। करेन्ट लगाउने मानिसको नजिक अरु मानिस जाल थापेर बस्छन्। त्यही जालमा करेन्टको माछा पर्छन्। एक जनाले ५ देखि ८ किलोसम्म माछा मार्ने गरेको सुनाए।
चन्द्रपुर–१ मा यसरी बागमतीमा करेन्ट प्रयोग गरी माछा मार्नेलाई पहिले–पहिले प्रहरीले लखेट्ने गरेको थियो। अहिले खुलेआम करेन्ट लगाएर माछा मार्दा पनि रमिते बनेकोमा स्थानीय चकित छन्।
यसरी करेन्टको प्रयोगले नदीको जीवलाई खतरामा पार्ने स्थानीय समाजसेवी समीर कार्कीले बताए। ‘हामीले नदीमा करेन्ट प्रयोग सधैँका लागि बन्द हुनुपर्छ भनेका हौँ,’ उनले भने, ‘केही समय रोकिन्छ। चासो देखाउन छाडेपछि फेरि शुरु हुन्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।