|

चितवन : होटल व्यवसायी संघ चितवनको आयोजनामा नारायणगढको क्याम्पाचौरमा भएको रैथाने फुड फेस्टिबल तथा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

बुधबार एक कार्यक्रमबीच होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले समापन गरेका हुन्। पुस १४ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको फुड फेस्टिबल ३० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको संघले जनाएको छ।

फुड फेस्टिबलको समापन कार्यक्रममा बोल्दै होटल व्यवसायी महासंघको केन्द्रीय अध्यक्ष चुकेले नियमित रुपमा फुड फेस्टिबल आयोजना गर्न होटल व्यवसायी संघ चितवनलाई आग्रह गरे।

ग्राहकलाई खाना खुवाउने व्यवसायीले नै बेला बखत फुड फेस्टिबल गर्नु राम्रो भएको भन्दै उनले संघले गरेको पहिलो प्रयास नै सफल भएको बताए। टिकट किनेरै फुड फेस्टिबलमा पुग्ने दर्शकको संख्या उल्लेख्य देखेको भन्दै उनले यसले व्यवसायीबीच आत्मियता पनि बढाएको बताए।

उनले देशभरका करिब ८० हजार होटल तथा रेष्टुरेन्ट महासंघमा आबद्ध रहेको जानकारी दिए। आठ लाख भन्दा बढीलाई रोजगारी दिएको होटल व्यवसायमा तीन खर्बको लगानी रहेको उनले बताए। ‘नेपालको आन्तरिक तथा बाह्य पर्यटनलाई होटल व्यवसाय क्षेत्रले सघाएको छ। गुणस्तरीय सेवा प्रदान गराउनका लागि होटल व्यवसायीको आचारसंहिता पनि लागू भएको छ’, उनले भने।

होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले पहिलो पटक आयोजना गरिएको फुड फेस्टिबल सफल भएकोमा खुसी लागेको बताए।

फुड फेस्टिबल सञ्चालनका क्रममा भएको कमि कमजोरी आगामी दिनमा हुन नदिने उनले प्रतिबद्धता पनि व्यक्त गरे। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्की, भरतपुर महानगरपालिका वडा नं १ का अध्यक्ष केशव महर्जन, वडा नं २ का अध्यक्ष मनोज रानाभाट लगायत सहभागी थिए।

होटल व्यवसायी संघ चितवनका उपाध्यक्ष जनक पौडेलको संयोजकत्वमा भएको फुड फेस्टिबलमा ३९ वटा स्टल थिए। फुड फेस्टिबलको लागि विभिन्न उपसमिति गठन गरिएको थियो। फुड फेस्टिबलमा पुस १५ र १६ गते टिकटको व्यवस्था गरिएको छ। फुड फेस्टिबलमा भएको आर्थिक कारोबार र खर्चको हिसावकिताब केहि दिनमा सार्वजनिक गरिने संघका सचिव कृष्ण महतोले जानकारी दिए। त्यसका लागि संघको कार्यसमितिको बैठक बस्दै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.