|

काठमाडौं : नेपाली कांग्रेस नेपालको पुरानो लोकतान्त्रिक र देशकै ठूलो राजनीतिक दल हो। तर, गुटगत राजनीतिको प्रतिस्पर्धामा अल्झिँदा कांग्रेस गतिहीन जस्तै भएको छ।

कांग्रेसमा अहिले संस्थापन र डा. शेखर कोइरालाले नेतृत्व गरेका पक्ष गरी स्पष्ट दुई समूह देखिन्छ। यतिबेला राष्ट्रियसभा निर्वाचन नजिकिँदो छ भने कांग्रेस महासमिति बैठक (नीति अधिवेशन) को संघारमा छ।

यो अवस्थामा संस्थापनइतर पक्षले पार्टीको आन्तरिक राजनीति तथा समग्र मुलुकको राजनीतिलाई कसरी लिइरहेको छ? आफ्नै पार्टी सहभागी सरकारको चर्को आलोचना किन गरिरहेको छ? सरकारको नेतृत्वमा कस्तो व्यक्ति चाहन्छ? यिनै विषयको सेरोफेरोमा रहेर कांग्रेस संस्थापनइतर पक्षको नेतृत्वकर्ता डा. शेखर कोइरालासँग थाहाकर्मी डाकमान राईले गरेको कुराकानीको सम्पादित अंश :

राष्ट्रियसभामा एमालेलाई पनि सिट भाग लगाउने सत्ता गठबन्धनको तयारीबारे तपाईँको टिप्पणी के छ

कसैलाई टिआरसी चाहिया छ। कसैलाई काम धेरै गरेर बस्नुछ। यो विषयमा मैले त ट्विट पनि गरिसकेँ। यो कुरा नेपाली जनता र कांग्रेसलाई स्वीकार्य छैन भनेर मैले भन्या हो।

अब प्रजातान्त्रिक व्यवस्थामा अपोजिसनको कुनै अर्थ छैन भने सबै ठाउँमा गठबन्धन गरे भइहाल्यो नि। राष्ट्रियसभामा मात्र किन भन्ने प्रश्न मेरो। 

तर हिजो कोशीमा पार्टीभित्रै विद्रोह गरेर तपाईँहरूले नै एमालेसँग सहकार्य गरेको होइन?

विद्रोह नभन्नुस् न त्यसलाई। त्यो विद्रोह होइन। कोशीमा हामीले माओवादीलाई दिएको भए कांग्रेस र माओवादीको बराबरी हुन्थ्यो। त्यो त लजिक पनि भएन नि त। गठबन्धनको कन्टेक्स्टबाट हेर्दा पनि माओवादीले नै कांग्रेसलाई दिएको हो नि त कोशी त।

फेरि हाम्रै पार्टीका साथीहरूले माओवादीलाई दिँदा मैले विरोध गरेको हो विद्रोह होइन। पछि त उहाँहरूले भन्नुभयो नि त शेखरले ठिकै गरेको रहेछ भनेर।
 

फेरि राष्ट्रियसभा निर्वाचनमा पनि एमालेले तपाईँहरूसँग मात्रै भित्री सहमति गर्न सक्छ भन्ने चर्चा सुनिन्छ, यस्तो सम्भावना छ?

होइन, छैन। यसको कुनै सम्भावना छैन। 

तपाईँहरूले बनाएको सरकार, आफ्नै पार्टीका मन्त्री सरकारमा छन् तर सरकारप्रति तपाईँ सधैँ किन आक्रामक?

संसदीय व्यवस्थमा प्रधानमन्त्री सर्वेसर्वा हो। कुनै राम्रो वा नराम्रो जे भएको भए पनि यसको  जस–अपजस प्रधानमन्त्रीले नै लिने हो। लार्जेस्ट पार्टी कांग्रेसका साथीहरू पनि जानुभएको छ, तर नेतृत्व त हामीले लिएका छैनौँ।

​अहिले जुन बेथिति छ, विभिन्न काण्ड र घोटलाका कुरा छन्। त्यो चाहे विश्वविद्यालयमा होस्, चिकित्सा शिक्षासम्बन्धीमा वा कुनै पनि ठाउँमा हेर्नुस् बेथिति मात्रै छ। म यसलाई कसरी हेर्छु भने राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृति र धार्मिक अराजकता छ देशमा अहिले। त्यो अराजकतालाई नियन्त्रण गर्ने काम त प्रधानमन्त्रीले गर्नुपर्‍यो नि तर त्यो भएको छैन। त्यसकारण मेरो विरोध हो। 

लाभका पद सबैठाउँमा भाग पनि खोज्ने अनि विरोध पनि गरिरहरने भन्छन् नि संस्थापन पक्षका नेताहरू?

हामीले के खोजेका छौँ? कुन ठाउँमा लाभको पद पाएका छौँ हामीले? कसरी भन्नुहुन्छ उहाँहरूले यसो? जानुभएको छ त नेपाली कांग्रेसकै साथीहरू। अनि म अर्को पार्टीको मानिस हो र? उहाँहरूलाई यही सुनाइदिनुस्। म नेपाली कांग्रेसको एउटा जिम्मेवार मानिस हो। जो जानुभएको छ कांग्रेसबाटै जानुभएको छ। 

राष्ट्रियसभाको लागि संस्थापनइतर समूहले ४ वटा सिट मागेको कुरा भाग खोजेको होइन र

हेर्नुस्, राष्ट्रियसभाको एउटा आफ्नै गरिमा छ। त्यो अहिलेको हाम्रो क्रियाकलापले खस्किराखेको। राष्ट्रियसभालाई आफ्नो मानिसहरूले भर्ने प्रवृत्ति जुन छ, यसलाई सुधार्नुपर्छ भन्ने हो।

म पनि त्यसमा दोषी छु, यसमा म चाहिँ चोखो छु भनेर भन्दिनँ। हामीले सिट माग्ने नमाग्ने कुरा होइन। जेन्युअन मान्छेलाई दिनुपर्छ भन्ने कुरा हो। हारेका, समानुपातिकमा बसेका, श्रीमान्–श्रीमती, सधैँ पाइरहने मान्छेलाई दिनुभएन भनेको पो हो। यो लगत हो र? 

तपाईँले सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ भनिरहेको सुनिन्छ, तपाईंहरूले नै सहमति गरेर सुम्पिएको होइन प्रचण्डलाई दुई वर्ष? उहाँपछि माधव नेपाललाई पनि एक वर्ष अनि मात्र कांग्रेसको पालो भनेको होइन र?

सहमति नै नभएको मैले कहाँ भनिराख्या छु र? गरेको हो गठबन्धनले। तर तपाईँहरूले नै मिडियामा बोलिरहनु, लेखिरहनुभएको छ बेथिति भो, विसंगति बढ्यो, सरकार अराजक भयो भनेर। 

त्यो घटना बालकुमारी घटना हेर्नुस् त। यो कहाँ पुग्यो? म सोध्छु सरकारलाई। सुनकाण्ड कहाँ पुग्यो? एनसेल काण्ड कहाँ पुगे? सबै काण्ड हेरौं। आज देखिराख्नु भएको छ नेता नेताहरू बसेर मिलाउँछन्। पोल्टिकल कार्टेलिङ भइरहेको छ। यसले देशलाई राम्रो गर्दैन। 

गठबन्धन सरकार चलाइरहँदा प्रचण्डको ठाउँमा देउवा आउँदैमा अथवा पात्र फेरिँदैमा सबथोक ठिक हुन्छ भनेर कसरी मान्ने? फेरि सभापति देउवा परीक्षण नभएको मान्छे हो  ?

हो। पात्र फेरिँदैमा सबै ठिक हुन्छ भनिरखेको छैन मैले। तर पात्र फेरिनेबितिकै केही न केही चेञ्जेजहरू आउँछ। यसमा फेरि पुरानै पात्रको कुरा मात्र पनि गरिराखेको छैन मैले।  

कम्तीमा आशा भरोसा दिनुपर्यो। मान्छेलाई रोजगारी दिने कुरा के, रोजगारीका अवसरहरू सिर्जना गर्ने प्रक्रिया सुरु गर्दैनौँ। अनि कसरी हुन्छ? जानतालाई हामीले आशा, विश्वास दिलाउन जबसम्म सक्दैनौँ, तबसम्म देश अघि बढ्न सक्दैन।

गठबन्धनमा यसअघि भएको जुन सहमति छ, यसबाट माओवादी टसमस हुनेवाला छैन। यसो हुँदा एमालेसँग मिलेर भए पनि सरकार परिवर्तन गर्नुपर्छ भन्न खोज्नुभएको हो?

मैले कहिल्यै भनेको छैन कि एमालेसँग मिलेर सरकार चलाऔँ।     

सभापति देउवासँगको सम्बन्ध बेलाबेलामा ठिक भो भन्ने सुनिन्छ, कहिले बिग्रियो भन्ने सुनिन्छ कस्तो छ सम्बन्ध अहिले

उहाँ मेरो पार्टी सभापति हो। म सम्मान र इज्जत गर्छु। लोकतन्त्रको लागि धेरै पुरानो नेता, जो पञ्चायत कालदेखि लड्दै आउनुभयो। नराम्रो कसरी हुन्छ र। 
तर, पार्टीमा के हुन्छ भने मैले भनेको व्यक्ति र सभापतिले भनेको व्यक्ति भिन्न हुन सक्छन्। त्यसमा हामीले संवाद गर्नुपर्‍यो। के कारणले को राम्रो भनेर पुष्टि गर्नुपर्‍यो। त्यसलाई तपाईँहरू विवाद भन्नुहुन्छ। म चाहिँ छलफल भन्छु। फरक यत्ति हो। 

तपाईँ र गगन थापाकै बीचमा पनि संवाद संचार हुन नसकेको विषय आइरहन्छ नि?

कसले भन्छ यस्तो? कसले भनिराख्या छ, कसले यस्तो अफवाह फैलाइरहेको छ मलाई अचम्म लाग्छ। तपाईँ गगनजीलाई सोध्नुस् न कुरा भाको छ कि छैन भनेर।  

प्रदेश सम्मेलनहरूबाट वरीयता विवादको चर्चा देखियो। यसमा तपाईंको धारणा के हो?

वरीयताको कुरा पार्टीको विधानमा छैन। तर पार्टीले गिजोलिराखेको छ। एउटा सिस्टममा त हिँड्नुपर्यो नि। सिस्टममा नहिँडेपछि पार्टी भित्रको लडाइँ चलिरहन्छ। 

पहिला सभापतिमा पराजित रामचन्द्र पौडेललाई जसरी आफूलाई पनि पार्टीले वरिष्ठ नेताको रूपमा दोस्रो वरीयता र सम्मान देओस् भन्ने हो तपाईँको आशय

एउटा कुरा के बुझ्नुपर्छ भने नेपाली कांग्रेस डेमोक्रेटिक पार्टी हो। यस्तो पार्टीमा वादविवाद र संवाद भइरहन्छ। तर समाधान खोज्ने काम सभापतिको होला नि त। यसमा सभापतिले विचार गर्नुपर्‍यो। 

तपाईँहरू जति कराए पनि त्यसलाई नजरअन्दाज गर्दै सभापति देउवा आफ्नै ढंगले अघि बढिरहन्छन्। त्यसकारण तपाईँहरू कतिपय अवस्थामा त निरीह हुनुभयो पनि भनिन्छ नि?

राजनीतिमा निरीह भन्ने कुरा हुँदैन। यो भनेको बगिरहने कुरा हो। सभापतिजीसँग इस्युमा डिफ्रेन्सेसहरू हुने हो। जस्तो तपाईँले अघि कोशीको कुरा गर्नुभयो। त्यो इस्यु हो। उहाँहरू तीन-चारजना बसेर निर्णय गर्दैमा डेमोक्रेटिक पार्टीमा त्यो सबै कुरा मानिँदैन नि।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.