|

काठमाडौं: पुनर्निर्माण थालिएको चार वर्षमा केशर महल भव्य र आकर्षक बनेको छ। २०७६ माघदेखि पुनर्निर्माण थालिएको केशर महलको ९५ प्रतिशत काम पूरा भएको छ।

मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ,निर्माण कम्पनीले सरकारलाई आगामी फागुनमा भवन हस्तान्तरण गर्ने योजना बनाएको छ। अब ढल व्यवस्थापन, रङ्गरोगन र सरसफाइको काम मात्र बाँकी छ। गाडी पार्किङ स्थलमा ढुङ्गा छाप्ने कार्य धमाधम भइरहेको छ। २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएको केशरमहलको पुनर्निर्माण कार्य गत २०७८ मङ्सिरमा सम्पन्न भइसक्नुपर्ने थियो। त्यहाँ रहेका कार्यालय सार्न ढिला हुँदा र कोभिड–१९ ले गर्दा  ढिला भएको निर्माण कम्पनीले जनाएको छ।

हाल केशर पुस्तकालय केशरमहल परिसरमा निर्माण गरिएको अस्थायी टहरोमा छ। आगामी फागुनदेखि पाठक तथा अनुसन्धानकर्ताले भव्य भवनभित्रै पुस्तक अध्ययन गर्न पाउने छन्। पुनर्निर्माण सम्पन्न भएपछि यो सम्भवतः नेपालकै सबैभन्दा भव्य पुस्तकालय भवन हुनेछ।

केशरमहलका भित्तामा रहेका पुरातात्त्विक महत्त्वका पेन्टिङलाई दुरुस्त गर्ने कार्य बाँकी छ। पुनर्निर्माण सम्पन्न हुँदा दलिन छोप्न राखिएका आकर्षक फलामे बुट्टेदार पाता (फल्स सिलिङ) को काम भने बाँकी रहनेछ। बेलायतबाट ल्याइएका ती पाता खियाका कारण ९० प्रतिशत नै काम नलाग्ने अवस्थामा छन्। हरेक कोठामा फरक फरक बुट्टाका छन् भने पुरातात्त्विक भवनका कारण तिनको सट्टा फल्स सिलिङको प्रयोग गर्न नमिल्ने भएकाले भारतबाट प्रविधि झिकाएर पछि तयार पारिने आयोजना व्यवस्थापक (इन्जिनियर) नरकान्त सापकोटाले बताए।

केशरमहलमा ६१ वटा कोठा छन्। दुई स्थानमा आपत्कालीन फलामे भर्‍ याङ निर्माण गरिएको छ। भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको छ। उनका अनुसार केशरमहलका सबै भित्ता १२ मिलिमिटर मोटाइका फलामे पाताले ‘ज्याकेटिङ’ गरिएको छ। नियमित मर्मत सम्भार गरेमा यसले १०० वर्ष धान्न सक्ने छ । 

केशरमहल निर्माण गर्दा दलिनमा सल्लाका काठ प्रयोग भएका थिए । ती कुहिएकाले तिनका सट्टामा अब सालका काठ प्रयोग गरिएको छ । बिजुलीका तारलाई भित्ताभित्र (अण्डर वाइरिङ) व्यवस्थापन गरिएको छ । बगैँचामा इटालीबाट ल्याइएका आधुनिक बत्ती जडान गरिएको छ।

तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराका छोरा केशरशमशेरको निजी निवास यो महल २०२६ सालमा सरकारलाई हस्तान्तरण गरिएको थियो । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.