काठमाडौं : तामाङ जातिको कथा समेटिएको नाटक ‘मासिन्या’ माघको दोस्रो सातादेखि मञ्चन हुने भएको छ। काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि २८ गतेसम्म नाटक मञ्चन हुने भएको हो।
लेखक राजु स्याङ्तानका अनुसार अहिले अहिले बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको हलमा जारी नाटकको रिहर्सल अन्तिम चरणमा पुगेको छ।नाटकको निर्देशन तथा परिकल्पना बुद्धि तामाङ र सोनाम लामाले गरेका छन्। राज्यसत्ताबाट तामाङ जातिले भोगेको पीडा र संघर्षको कथा नाटकमा समेटिएको छ । नाटकको कथालाई कवि राबत, स्याङ्तान र लक्ष्मी रुम्बाले लेखेका हुन्।
नाटकले तामाङ समुदायको मुद्दालाई उठान गरेको निर्देशक बुद्धि तामाङले बताए। उनका अनुसार तामाङको पीडादायी कथासँगै नाटकमा तामाङ जीवनको सौन्दर्य, लय, डम्फू संस्कृति र परिवेशलाई चित्रण गरिएको छ। नाटकको माध्यमबाट तामाङ समुदायलाई नजिकबाट बुझ्न सघाउ मिल्ने नाटक समुहको विश्वास छ।
नाटकमा सुनिल तामाङ, रविन दोङ, रमिला मोक्तान लगायतका कलाकारको अभिनय रहनेछ। यही माघ ११ गतेदेखि माघ २८ गतेसम्म मण्डला नाटक घर नयाँ बानेश्वर, थापा गाउँमा नाटक ‘मासिन्या’ सोमबार बाहेक शनिबार दिउँसो १ः०० बजे पनि प्रदर्शन हुने लेखक स्याङतानले बताए। नाटकको टिकटको ५०० र एक हजार रुपैयाँ तोकिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।