|

चितवन : चितवनको रत्ननगरस्थित टिकौलीमा निर्माणाधीन शौचालय चारवर्ष बित्द पनि अझै सम्पन्न हुन सकेको छैन। मुख्यगरी सडक छेउछाउमा गाडी रोकेर दिसापिसाब गर्न रोक्ने उद्देश्यले निर्माण सुरु गरिएको शौचालय निर्माण सम्पन्न नहुँदा यात्रुहरु जैविक मार्गको संरक्षित क्षेत्र प्रयोग गर्न बाध्य छन्। 

रोटरी क्लब अफ रत्ननगरले सडकमा जथाभावी दिसापिसाब रोक्न तथा तीर्थयात्रीहरुका लागि दिसापिशाबसहित स्नान गर्न सहज गराउने लक्ष्यसहित यहाँ सुविधायुक्त शौचालय निर्माण सुरु गरेको थियो।

आर्थिक स्रोतको व्वस्थापन गर्न नसक्दा निर्माणमा ढिलाइ भएको रोटरी क्लबअफ रत्ननगरका अध्यक्ष विष्णुशर्माले जानकारी दिए। रु ४८ लाखको लागत अनुमानमा यहाँ ४ वर्षअघि डा विजय न्यौपाने रोटरीको अध्यक्ष हुँदा निर्माण सुरु भएको थियो।

‘विगतमा निर्माणमा केही ढिलाइ भएको थियो, अहिले कामले तीव्रता पाएको छ, शर्माले भने, आगामी दुई महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य छ।’ यहाँ सुविधायुक्त शौचालय नहुँदा जैविकमार्ग रहेको टिकौली जंगलमै गाडी रोकेर यात्रुहरुले दिसापिसाब गर्दै आएका छन्।

आगामी साउन १ गतेबाट गाडी रोक्न कडाइ गर्ने चितवन निकुञ्जले सार्वजनिक गरेका बेला यो आसपास क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा समस्या छ। टिकौलीमा निर्माणाधीन शौचालय छिटो सके यात्रुहरुलाई सहज हुने देखिन्छ। रोटरी क्लब अफ रत्ननगरका सदस्य पूर्ण रिजाल दसैंभित्रमा शौचालय हस्तान्तरण भइसक्ने बताउँछन्।

यहाँ मुख्यगरी महिला र पुरुषका लागि अलगअलग शौचालय निर्माण गरिने योजनासहित काम भइरहेको छ।   दशवटा शौचालय, ४ वटा पिशाब गर्न मिल्ने स्थान र ४ वटा स्नानकक्ष बनाउने योजनासहित ४ वर्षअघि सुविधायुक्त सार्वजनिक शौचालय निर्माण थालिएको थियो।

विभिन्न क्षेत्रबाट मागेर आर्थिक संकलन गर्नुपर्ने बाध्यताका कारण ढिलाइ भएको रिजाल बताउँछन्। शौचालय निर्माणका लागि अमेरिकामा बस्ने गौरी जोशीले रु ३ लाख बढी रकम दिएका थिए।

गएको वर्ष रत्ननगर नगरपालिकाले रु २ लाख, उद्योग व्यवसायी बाटसमेत आर्थिक सहयोग आएको थियो। रोटरीका सदस्यहरुले ५,१०,२० हजार गरी सक्ने जति रकम संकलन गरेर शौचालय निर्माण सुरु गरिएको थियो। कुल रु ४८ लाख बजेट लाग्ने योजनासहित  हाल निर्माणको काम जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.