|

सुर्खेत : गत आइतबार कच्ची झोलुङगे पुलबाट लडेर  जाजरकोटको नलगाड नगरपालिका–५ का राजु शाहीको मृत्यु भयो। नलगाड नगरपालिका र बारेकोट गाउँपालिका-८ को बीचमा रहेको कच्ची पुलबाट नदी पार गर्न लाग्दा शाहीको मृत्यु भएको हो। 

यो पुलबाट यात्रा गर्ने सबैले हरेक जीवन हत्केलामा राख्नुपर्ने अवस्था रहेको नलगाड नगरपालिका-५ का खम्मान सिंहले जानकारी दिए। यो ठाउँमा पक्की पुल निर्माण गर्न २०७८ फागुन १५ गते तत्कालीन जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले शिलान्यास गरेका थिए। 

नेपाल मेघा सिस्ने जेभी नेपालगञ्ज २ बाँकेले उक्त पुलको ठेक्का ३ करोड ९ लाख ८८ हजार रुपैयाँमा लिएको थियो। २०७८ साउन २९ मा सम्झौता भएको पुलको काम सक्ने मिति २०८० साउन २८ थियो। निर्माण अवधि सकिँदासम्म पुलको काम नै शुरु नभएको विषयमा पूर्वाधार विकास कार्यालय जाजरकोटले धेरैपटक पत्र पठाए पनि निर्माण व्यवसायीले वास्ता नगरेको कार्यालय प्रमुख सोहेन्दर यादवले बताए।

मन्त्री सिंह हुँदा भएको ठेक्का अहिलेका कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले पहलकदमी नलिँदा कामले गति लिन नसकेको स्थानीयवासी बताउँछन्। सरकारले ध्यान नदिँदा आफूहरू सधैँ जोखिममा बस्न बाध्य भएको बारेकोट- ८ का प्रविण केसीले बताए। पुल निर्माणमा अवरोध आएमा स्थानीय जनप्रतिनिधिले सहजीकरण गरेर विकास निर्माणलाई तिव्रता दिनुपर्नेमा कानमा तेल हालेर चुपचाप बसेको उनको आरोप छ। 

नलगाड नगरपालिका–५ का वडाध्यक्ष र बारेकोट गाउँपालिका- ५ का वडाध्यक्षले समेत पुल निर्माणका लागि पहल नगरेको स्थानीयवासी मनसुर सिंह बताउँछन्। ​प्रविण कार्की कार्यालय प्रमुख हुँदा खोलिएको ठेक्का अहिले सोहेन्दर यादव बहाल हुँदा पनि जहाँको त्यहीँ रहेको उनको भनाइ छ।

मन्त्री बेदराज सिंहले पहिले ठेक्का लागेको पुललाई ओझेलमा पार्दै सेपुखोलामा बेलिब्रिज पुल निर्माण गर्न बजेट विनियोजन गर्दा साघुतरा–सिर्केको पुल निर्माण कम प्राथमिकतामा परेको बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले जानकारी दिए। उनले पुल निर्माण गर्नका लागि बाटो आवश्यक भएकाले सो कार्यमा आफूले फिल्डमै खटेर समाधान गरे पनि सम्बनधितत कार्यालयले वास्ता नगरेको बताए। पुराना योजना निर्माण भन्दा पनि नयाँ योजनालाई ध्यान दिँदा समस्या भएको अध्यक्ष गिरीको भनाइ छ।

सेपुखोलामा निर्माण हुने बिलिब्रिज मन्त्री सिंहको घर छेउमा रहेको छ। सेपुखोलामा बेलिब्रिज निर्माण भएमा लैखत, सेघुतराको मोटरेबल पुल ओझेलमा पर्ने देखिन्छ। दूरीको हिसाबले आधा घण्टा पैदल रहेको उक्त ठाउँमा मन्त्रीपिच्छे घर पायक बनाउँदा खोज्दा दिगो विकास हुन नसकेको सरोकारवाला बताउँछन्। 

सेपुखोलाको बेलिब्रिज नलगाड जलविद्युत आयोजना निर्माण हुँदा ड्याम स्थलभित्र पर्छ भने साघुतरा–सिर्केको बीचमा रहेको नलगाडको पुल डुबान क्षेत्रभित्र पर्दैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.