|

पर्वत : जिल्लाको जलजला गाउँपालिका–८ फर्सेमा रहेको शिव माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत रेशम पुन मगरलाई विद्यालयमा हुने फरक-फरक गतिविधिले विद्यालयमा जाऊँ जाऊँ लाग्छ।

सामुदायिक विद्यालयको पोसाकमा मात्रै विद्यालयमा जाने बानी परेका उनी हरेक महिनाको १५ गते निकै उत्सुक र फरक देखिन्छन्। कारण हो हरेक महिनाको १५ गते विद्यार्थीहरूलाई आफ्नो समुदायको महत्त्व झल्किने गरी लगाएर आउने मौलिक पोसाक।

मगर समुदायले लगाउने कालो ढाका टोपी, सेतो भाङ्ग्रा र धोती, कालो अस्कोटमा सजिएका उनी कुनै सांस्कृतिक प्रतियोगितामा भाग लिन हिँडे जस्तै देखिन्छन्।

उनी जस्तै सोही विद्यालयमा अध्ययनरत सबै बालबालिकाहरूले हरेक महिनाको १५ गते आफ्नो जातीको विशेषता झल्किने पोसाक लगाउँछन्, अनि विद्यार्थीको चाहना भयो भने आफ्नो समुदायका कला पनि प्रस्तुत गर्छन्।

विद्यालयका प्रधानाध्यापक अमृत सापकोटाका अनुसार ‘म मेरो संस्कृतिको संरक्षण गर्छु’ भन्ने अभियान विद्यालयमा चलाइएको छ। सदैव सम्भव नहुने भए पनि महिनामा एक पटक मात्र गुरुङ, मगर, ब्राह्मण लगायतका समुदायका बालबालिकाहरू अध्ययनरत विद्यालयमा मौलिक पोसाक लगाउँदा संस्कृतिको जगेर्नामा  सहयोग गरिएको छ।

यसो गर्दा विद्यार्थीहरूले आफ्ना जातीय पोसाकमा गर्व गर्नुको साथै बहुजातीय विद्यार्थी भएको विद्यालयमा फरक सम्प्रदायका विद्यार्थीले फरक सम्प्रदायका पोसाक र कलाबारे जान्न पाउने प्रधानाध्यापक सापकोटाले बताए।

विद्यालयमा १५ जना शिक्षकहरू कार्यरत छन्। उक्त दिनमा शिक्षकहरुले पनि आफ्नो जाती र समुदाय अनुसारको पोसाक लगाएर आउनुपर्ने र यसले आफ्नो संस्कृतिको संरक्षणमा सहयोग गर्ने गरेको उनको भनाई छ।

१५ गतेका नियमित औपचारिक पाठ्यक्रममा राखिएका भन्दा पनि विद्यार्थीहरूले प्रतिनिधित्व गर्ने जाति र समुदायका चालचलन, संस्कृति, रीतिरिवाजको बारेमा सुनाउने र देखाउने गरिएको छ।

एक विद्यार्थी एक धार्मिक ‘पोस्ट’

विद्यालयले हालै मात्रै कक्षा ५ देखि १० सम्म ‘म गर्छु मेरो धर्मको रक्षा’ नामक अभियान पनि सुरु गरेको छ। जसमा हरेक विद्यार्थीले धर्म, संस्कृति, मौलिकता, परम्परा लगायतका विषयमा केही न केही ‘स्ट्याटस’ जस्तै छोटो रचना लेखेर विद्यालयमा ल्याउनुपर्ने भनिएको छ।

उनीहरूले ल्याएका ती रचनाहरूलाई विद्यालयमा नै टाँसिन्छन्। विद्यालयमा अध्ययनरत फरक फरक धर्ममा आस्था राख्ने विद्यार्थीहरूले आफ्नो धर्मको रक्षा गर्दै धार्मिक सहिष्णुता कायम गर्नको लागि अपनाउन सक्ने विधिहरूको बारेमा पनि लेखेका हुन्छन्।

प्रत्येक दिन केही न केही रचना गर्नै पर्ने उनीहरूले संस्कृति भाषालाई समेत आधार मानेर त्यसलाई नै प्रयोग गर्न पनि पाउने नियम राखिएको छ।

विस्तारै तल्ला कक्षाहरूमा पनि यो अभियान लैजाने विद्यालयका प्रधानाध्यापक सापकोटा बताउँछन्। यही अभियानअन्तर्गत विद्यालयमा प्रवेश गर्दा साथ हरेक विद्यार्थीले विद्यालयलाई सरस्वतीको मन्दिरको रूपमा मानेर ढोग गरेर मात्रै विद्यालयमा प्रवेश गर्ने गरेका छन्।

यसबाहेक अतिरिक्त क्रियाकलाप अन्तर्गत हरेक महिनाको अन्तिम शुक्रवार विद्यालयको पोसाक बिना नै विद्यार्थीहरू विद्यालय आउन सक्ने नियम राखिएको छ। त्यो दिनमा विद्यार्थीको माग अनुसार नै विभिन्न कार्यक्रमहरूको आयोजना हुने गरेको छ।

विद्यालयमा अभिभावक, समुदायमा शिक्षक

प्रधानाध्यापक सापकोटाका अनुभवअनुसार केही वर्ष अगाडिसम्म विद्यालयले बोलाउँदा पनि अभिभावकरुहरु विद्यालयमा उपस्थित हुँदैनथे। न ती विद्यालयमा विद्यार्थीको सङ्ख्या राम्रो थियो, न त समुदायको त्यति धेरै चासो नै। तर आजभोलि भने नयाँ अभियानका रूपमा ‘विद्यालयमा अभिभावक, समुदायमा शिक्षक’ कार्यक्रम सुरु भएको छ।

यसअन्तर्गत प्रत्येक जोर महिनाको ८ गते कक्षा ५ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीहरूका सबै अभिभावक अनिवार्य रूपमा विद्यालयमा उपस्थित हुने गरेका छन्। प्रत्येक बिजोर महिनाको २२ गते हरेक शिक्षकहरू हरेक अभिभावकको घरमा पुग्ने गरेका छन्।

अभिभावकहरू विद्यालयमा आउँदा विद्यालयमा भइरहेका गतिविधि र शिक्षकहरूको मिहिनेतको बारेमा थाहा पाउन सजिलो हुन्छ। अनि शिक्षकहरू विद्यार्थीको घरमा पुग्दा उनीहरूको रहनसहन, वस्तुस्थिति, आर्थिक अवस्था, अध्ययनप्रतिको ध्यान लगायतका बारेमा बुझ्न सहज हुने प्रधानाध्यापक सापकोटाले जानकारी दिए।

विद्यालय र समुदायबिचको कुशल सम्बन्धको कारण अहिले बिरामी भएका तथा ‘ह्विल चियर’ मा हिँड्नुपर्ने अभिभावकहरू समेत बोलाएको बेलामा विद्यालयमा उपस्थित हुने गरेका छन्।

विद्यालयले गर्छ अभिभावकको परीक्षा

विद्यालयले विद्यार्थीहरूको उपलब्धि मापनको लागि हरेक तीन महिनामा परीक्षा लिने गरेको छ। त्यसको नतिजा त आउँछ नै। परीक्षाफलको दिनमा अभिभावकहरूमाथि गरिएको मूल्याङ्कनको नतिजा पनि विद्यालयले सार्वजनिक गरेर पुरस्कार दिने गरेको छ।

त्यो दिनमा उत्कृष्ट अभिभावक वर्ष घोषणा गर्ने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विप्लव हमाल बताउँछन्। विद्यालयले १० भन्दा बढी बुँदामा अभिभावकहरूको मूल्याङ्कन गरिरहेको हुन्छ। कुल एक सय पूर्णाङ्कमा अङ्क प्रदान गर्दै जाँदा जो अभिभावक विजेता बन्छन् उनलाई नै पुरस्कार दिने गरिएको छ।

९० प्रतिशत अङ्क कटेकाहरूलाई पुरस्कार दिने गरेको भन्दै अध्यक्ष हमालले अभिभावकहरूले विद्यालयमा दिएको चासो, विद्यार्थीको अनुशासन, विद्यालयमा अभिभावकको प्रस्तुति, बाटोमा भेट्दा विद्यार्थीको बारेमा सोधेको लगायतको बारेमा अङ्क दिने गरेको बताए।

२०७६ सालमा विद्यालयमा करिब एक सय जना विद्यार्थीहरू रहेकोमा यस शैक्षिक सत्रमा विद्यालयमा एक सय ६२ जना विद्यार्थीहरू अध्ययनरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.